१ पुस, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले चाहेर संघीयता उल्टाउन नसक्ने बताएका छन् । साथै उनले संविधान संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने प्रस्ताव अस्वीकार्य भएको बताए ।
शुक्रबार प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘संघीयता उल्टाउने प्रयत्न भएको पनि छ । तर, संघीयताको सम्बन्ध गणतन्त्र, समावेशिताजस्ता परिवर्तनका मुद्दाहरुसँग अन्तरसम्बन्धित छ । यसलाई कसैले चाहेर मात्र उल्टाउन सक्दैन ।’
उनले अघि भने, ‘यसले देशलाई निकास दिँदैन, झन् ठूलो द्वन्द्व र ध्रुवीकरणतिर मुलूक जान्छ ।’
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा कुनै पनि दलले बिमति राख्नुपर्ने कुनै कारण नभएको समेत बताए । उनले भने, ‘अहिलेको प्रस्ताव विगतमा प्रतिपक्षी दलले नै अघि सारेको प्रस्ताव हो । यसमा विगतमा सबै दलहरु सहमत थिए, अहिले त्यहीँ प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन ।’
यसले राष्ट्रिय हित र एकतामा कुनै आँच नआउने भन्दै उनले सरकारले सहमतिमै राष्ट्रिय संकटको समाधान चाहेको बताए । केहीलाई संशोधन प्रस्ताव फिर्ता हुन्छ कि भन्ने आशंका रहेको भन्दै उनले भने, ‘संशोधन प्रस्ताव फिर्ता हुँदैन र रोकिँदैन पनि । तर, सहमतिमा संसदीय प्रक्रियाबाट यसलाई परिमार्जन गर्न सकिन्छ ।’
‘स्थानीय निकायको निर्वाचन हुनै सक्दैन’
सरकार स्थानीय तहको निर्वाचनकै पक्षमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको निर्वाचन हुनै सक्दैन । हुने स्थानीय तहको निर्वाचन नै हो । तर, संक्रमणकालीन व्यवस्थामा अहिलेकै स्थानीय निकायलाई स्थानीय तहमा बदलेर निर्वाचन गर्ने तर्क पनि आएको छ । कुनै निष्कर्षमा पुगिएको छैन ।’
सरकार बैशाखसम्म स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै उनले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे ।
उनले भने, ‘अब मुलुक निर्वाचनमा जान्छ । कतिपय साथीहरुले पहिले संघीय निर्वाचन भन्ने पनि सुन्दैछु । यसले समस्या समाधान गर्दैन । पहिले स्थानीय तहकै चुनाव हुन्छ, यसको विकल्प सोच्न सकिँदैन ।’
प्रतिक्रिया 4