काठमाडौंबाट १५ किलोमिटरभित्रको गाउँ, रानीपौवाबाट तल । हर्केको परिवार छ- भोको, नाङ्गो, दुब्लो र रोगी । र म २८, ३० वर्षकी तरुण स्वास्नी मानिसलाई करिबकरिब नाङ्गै हिँडडुल गरिरहेको पहिलोपल्ट देखिरहेको छु । नाइटोभन्दा माथि एकधरो लुगा छैन,दूधका लाम्टा झुन्डिरहेका छन्, अझ ऊ हतारले हिँड्दा त झन् अप्ठ्यारो ।
– ‘तिम्रो नाउँ ?’
– ‘हर्के ।’
– ‘हर्के ?हर्कबहादुर होइन ?’
– ‘होइन, सबै हर्के भन्छ ।’
– ‘किन सबै जना नाङ्गै छन् त ?’
– ‘लुगा छैन !’
– ‘त्यो आइमाई को हो ?’
– ‘मेरो जहान ।’
– ‘तिम्रो जहानलाई लाज लाग्दैन ?’
– ‘लुगै नभएपछि के को लाज !’
– ‘तिमीले चैं लगौंटी लगाएका छौ त ?’
– ‘हेँ… हेँ… हेँ… !’
– ‘तिमी काठमाडौं गएका छौ ?’
– ‘गा’छु ।’
– ‘कस्तो छ त शहर ?’
– ‘राम्रै छ… खै बिर्सिसक्यो ।’
– ‘कसरी बिर्स्यौ त त्यति नजिकैको राजधानी पनि ?’
– ‘पोर परारै गा’को धेरै भयो, बिर्स्यो ।’
– ‘किन गा ?’
– ‘जिन्दावात् भन्थ्यो, ट्रकमा चढाएर टुँडिखेल लग्यो, कस्तो स्वाद् सुरुरुरु !’
– ‘हाम्रो प्रधानमन्त्री को छ था’ छ ?’
– ‘को परधान… मुन्तिर… भनेको के ?’
– ‘त्यसो भए तिमीलाई आधारभूत भनेको था’छैन होला !’
– ‘काँ छ हजुर ?’
– ‘टोली आ’को छैन ?’
– ‘छैन, यस्तो भीर ठाउँमा बाटै छैन !हजुर चैं के काममा आयौ ?’
– ‘तिम्री जहान नाङ्गै देखेर फोटो खिच्न !’
– ‘हजुरले यसको एउटा फोटु लगेर पशुपतिनाथमा चढाइदेऊ है, साह्रै बिरामी छे, निको भैहाल्छे कि ?’
०४५ साल
(जीवन आचार्य कुशल कवि, चित्रकार र प्रभावशाली स्तम्भ लेखक थिए । ०१५ साल चैत २० मा जन्मिएका उनको ०४६ साल बैशाख २३ गते निधन भएको थियो । ‘अन्त्यहीन सुरुवात‘(कवितासंग्रह ०४०), ‘जीवनका धुनहरु‘(कवितासंग्रह ०४७) र ‘अर्थात्‘(लेखसंग्रह ०६७)उनका प्रकाशित कृति हुन् । माथिको लेखोट ‘अर्थात्‘ बाट साभार गरिएको हो ।)
प्रतिक्रिया 4