Comments Add Comment

कलंकीमा यसरी बन्दैछ नेपालकै पहिलो अन्डरपास रोड

kalanki-3

५ पुस, काठमाडौं । घन्टौंको पट्यार लाग्दो जाम, राजधानीबाट बाहिरिने र भित्रिने गाडीहरु, मानिसहरुको भिडभाड । अहिलेसम्म कलंकीले बनाएको परिचय हो यो । झन् अहिले त धुलैधुलो पनि थपिएको छ ।

तर, अहिले चक्रपथ बिस्तारको काम जुन गतिमा भइरहेको छ, यही रफ्तार कायम रहने हो भने कलंकीले छिट्टै आफ्नो परिचय फेर्नेछ ।

चीन सरकारको सहयोगमा कलंकी चोकमा नेपालकै पहिलो ‘अन्डरपास रोड’ निर्माण कार्य भइरहेको छ । यो आत्याधुनिक संरचना मात्र हुनेछैन, नेपालकै नमूना पनि हुनेछ । यस्तो पूर्वाधार नेपालकै पहिलो हो ।

चक्रपथ विस्तार परियोजना अन्तरगत कलंकीमा नेपालकै पहिलो अण्डर पास रोडको निर्माण कार्य चलिरहेको छ ।

२४ सै घन्टा काम

अन्डरपास निर्माणका लागि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले २४ सै घन्टा काम गरिरहेको छ । दिनको समयमामात्र होइन, सिंगो काठमाडौं निदाएको बेलामा पनि त्यहाँ निर्माण कार्य चलिरहेको हुन्छ ।

kalanki-16

यस अन्डरपास निर्माणमा एक सिफ्टमा ३० जना कामदार छन् । जसमा २० जना नेपाली र १० जना चाइनिज रहन्छन् ।

सांघाईले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ । कुल ८ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतिरको भागको काम द्रुत गतिमा अघि बढाएको छ ।

कलंकी चोकदेखि बल्खुतिर ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर गरी अन्डरपास कुल ८ सय मिटरको हुने काठमाडौं सुधार योजनाका आयोजना प्रमख ज्ञानेन्द्रकुमार झाले जानकारी दिए ।

बल्खुतिरको भाग भने आगामी तीन महिनामा निर्माण सम्पन्न हुनेछ । तर, सितापाइलाको काम भने यो सकिएलगत्तै सुरु हुनेछैन । आगामी वर्षको वर्षात सकिएपछि मात्रै सितापाइलातर्फको निर्माण थालिनेछ ।

kalanki-8

 

भूकम्प र नाकाबन्दीले निर्माणमा १ वर्ष ढिलाइ

वैशाख १२ को भूकम्प र संविधान जारी भएको नाकाबन्दीका कारण यसको निर्माण सम्पन्न हुनुपर्ने मिति १ वर्ष लम्बिएको छ ।

सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अहिले यसको निर्माण सक्नुपर्ने अवधी एक वर्ष लम्बिएको छ । आयोजना प्रमुख झाले भने, ‘भूकम्प र नाकाबन्दीका कारण समयमै निर्माण सुरु गर्न सकेन, कम्पनीले त्यसैले १ वर्ष जति निर्माण गरिसक्नुपर्ने अवधी बढाएको हो ।’

चिनियाँको काम लगाउने तरिका गज्जब

अन्डरपास निर्माणमा नेपालीहरुसँग चिनियाँहरु पनि सँगसँगै खटिएका छन् । चिनियाँहरु नेपालीलाई हाकिम शैलीले काम अह्राउँदैनन्, बरु सहयोग माग्छन् । मेसिन चलाइरहेका चिनियाँ प्राविधिकहरु खाली भएपछि भने सामान ओसार पसारमा नेपाली कामदारहरुलाई सघाउन पनि पनि पर्दैछन् ।

kalanki-9

पाँचथरका आइन्द्र लिम्बु अन्डरपासको निर्माण सुरु भएदेखि काम गर्दै आएका छन् । नेपालका कैयन निर्माण कम्पनीमा कामको अनुभव संगालेका लिम्बुले चिनियाँहरुसँग काम गर्दा अनौठो अनुभव गरिरहेका छन् । ‘यहाँ त को कामदार को हाकिम भन्ने नै थाहा छैन, सबैजना कामदार जसरी काम गर्छन्,’ लिम्बुले भने, ‘चिनियाँले काम अह्राउने भन्दा हामीलाई सघाउन पो बोलाउँछन् ।’

निर्माणपछि के फाइदा ?

यो अन्डरपासको निर्माण पछि कलंकीमा हुने जाम पूर्णरुपमा हट्ने विश्वास लिइएको छ । अझ आयोजना प्रमुख झाको दाबी अनुसार त यो चोकमा अब ट्राफिक प्रहरीको समेत आवश्यकता पर्नेछैन ।

kalanki-15

बल्खुबाट सितापाइलातिर जाने गाडीहरु अन्डरपासको तलतिरबाट सिधै जान्छन्, जसबाट अहिले कलंकीमा लामो समय रोकिन पर्ने बाध्यता हट्ने छ । त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि अब कलंकीको जाममा फस्नु पर्दैन । किनकी यहाँ अब पूर्णरुपमा ट्राफिक जाम हटाउन लागिएको छ ।

यद्यपी यो अन्डरपासको पूर्णउपयोग भने चक्रपथ विस्तार पूर्णभएसँगै हुनेछ । यहाँ चिनियाँ सहयोगमा काम भइरहेको छ ।

kalanki-6

kalanki-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment