Comments Add Comment

धुर्मुस सुन्तलीको तेस्रो योजनाः गिरानचौरमा बचेको १ करोडले बर्दिबासमा मुसहर वस्ती

सीताराम भन्छन्- जुनसुकै समुदायलाई पनि माथि उठाउन सकिन्छ

dhurmus-suntali-giranchaur-2

६ पुस, काठमाडौं । सामाजिक काममा सक्रिय रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील गरेका छन् ।

भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस-सुन्तली फाउण्डेशनले बर्दिबास-२, महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।

गत वर्ष सरसफाइका क्रममा धुर्मुस-सुन्तली उक्त मुसहर बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहरहरु दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराईको पिछडिएको जातिमा पर्छन् ।

शीतलहरबाट पिल्सिएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष त्यहाँ न्यानो वितरणसमेत गरेका थिए । भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।

गास, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखापरिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

उनले भने- ‘स्वास्थ्य, शिक्षा, सरसफाइमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाइयुक्त बनाउन सक्नु ठूलो परिर्वतन हो, त्यो उपलब्धि हासिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ।’

‘नजिकै विद्यालय भए पनि विद्यालय नजाने बालबालिका हामीले आग्रह गरेपछि विद्यालय जान थालेका छन्,’ उनले भने, ‘सरसफाइमा ध्यान पुर्‍याउन थालेका छन्, त्यसैले पनि त्यो बस्तीलाई सुन्दर बनाउने सपना देखेका हौं ।’

कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

मानवता र सदभावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मनसमक्ष उनले आग्रह गरेकी छिन् ।

‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाँ परियोजनाको घोषणा गरेका हौँ,’ उनले भनिन् ।

सीताराम भन्छन्- जुनसुकै समुदायलाई पनि माथि उठाउन सकिन्छ

Dhurmus Suntali work at Giranchaur (12)

हामीले मानवता र सद्भावका लागि बर्दिबासमा एकीकृत मुसहर नमूना बस्ती बनाउन लागेका हौं । हिमाल र तराई जोड्ने अभियान पनि हो । मलाई लाग्छ, यस्ता गतिविधिले तराई र पहाडी समुदायवीच देखिएको मनमुटाव पनि कम भएर जान्छ ।

गएको वर्ष पुस ९ देखि १७ गतेसम्म हामीले पूर्व-पश्चिमा राजमार्ग सरसफाई अभियान सुरु गरेका थियौं । एक हप्ताको अवधिमा हामीले ५१७ किलोमिटर सडक सफा गर्‍यौं ।

त्यही क्रममा बर्दिबासमा एउटा अन्तरसंवाद गर्‍यौं । त्यसपछि थाहा भयो यो मुसहर बस्तीका बारेमा । बस्तीमा पुगेपछि अनुभव भयो कि तराईमै भएर पनि यो भन्दा दुर्गम ठाउँ अन्त कतै छैन ।

घरका नाममा सानो झुप्रो । ओढ्ने ओछ्याउने केही छैनन् । खाने कुराको अभाव उस्तै । यो दृश्य देख्दा आँखाबाट आँशु आयो ।

घर नजिकै स्कुल छ । तर, ५० घर परिवारवाट जम्मा एकजना भाइ मन्जे सदामात्रै स्कुल जाँदा रहेछन् ।

दाउरा बेचेर जिबीकोपार्जन गर्ने मुसहर बस्तीको कहर शब्दमा वयान गरीसाध्यै छैन । मैले सोचें, सम्झायो भने केही हुन सक्छ । हामीले सरसफाइका बारेका केही सिकायौं र फर्कियौं ।

हामी पहिलोपटक पुग्दा हामी कलाकार हौं भन्ने पनि जानकारी थिएन उनीहरुलाई । हामी फर्किएपछि कसैले कलाकार हुन् भन्दिएछन् । त्यसपछि त हामीले जे-जे सिकाएका थियौं, त्यही त्यही गरेछन् । एक हप्तापछि जाँदा त सुँगुरको खोर पनि चिटिक्क पारेका रहेछन्, लिपपोत गरेर ।

त्यसपछि लाग्यो, उचित परामर्श दियो भने जुनसुकै समुदायलाई पनि माथि उठाउन सकिन्छ ।

हिजोदेखि यहाँ घरको डिजाइन समेत पास भयो । अब १५ पुसदेखि घर निर्माण प्रकृया सुरु हुन्छ । हामी यो मुसहर वस्तीलाई गिराञ्चौर भन्दा राम्रो बनाउने प्रयास गर्ने छौं ।
हेर्नुहोस् सहयोग अपिलसहितको धुर्मुस-सुन्तलीको भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment