Comments Add Comment

गायक डिजराजः बाटोमा फूल रोपे, त्यही बाटोले चम्कायो

'अरुले नपत्याउँदा आफैंले गीत-संगीत रचेँ'

d-j

तिमी आउने बाटोमा फूल रोपिदिएँ तिमी आइनौ
देउरालीमा कसम खाई माया लाउँछु भन्थ्यौ, किन लाइनौ

०६२ सालमा यो गीत ल्याउँदा गायक डिजराज पौड्यालले सोचेका थिएनन्, पहिलो सोलो एल्बमकै गीतले यति धेरै चर्चा पाउला भनेर । त्यसयता एक दशकको अवधिमा उनले पाँच वटा एल्बम निकालिसके, अरुका कलेक्सन एल्बमा समेत गरी थुप्रै गीत गाइसके । चर्चित भएको गीतभन्दा आफ्नो अरु नै गीत राम्रा रहेको उनी दाबी पनि गर्छन् । तर, ती कुनै पनि गीतले ‘तिमी आउने बाटोमा’ को उँचाइ छुन सकेनन् ।

त्यो गीतको अगाडि आफ्ना सबै गीत छायामा परेको देख्दा डिजराज विचित्र मान्छन् । हरेक गायकलाई चिनाउने कुनै माइलस्टोन हुने र त्यसमा संयोगले काम गर्ने भन्दै चित्त बुझाउँछन् उनी । भन्छन्, ‘चल्छ कि चल्दैन र श्रोताले मन पराउँछन् कि पराउँदैनन् भनेर डराईडराई गाएको गीत सुपरहिट भइदियो । अरु चाहिँ हिटको लेभलमा सीमित भए ।’

उनलाई महसुस हुन्छ, एक दशकअघिको त्यो गीत आफ्नो नामभन्दा बढ्ता हावी भयो । यसैले आफूलाई चर्चित गीतका अचर्चित गायक भन्छन् ।

सर्वसाधारण श्रोतामा आफ्नो नाम भिज्न गाह्रो हुनुमा उनी आफ्नो अप्ठेरो नामलाई पनि केही दोषी मान्छन् । यो नाम उनको रोजाइ नभई राशि अनुसार बुवा-आमाले जुराइदिएका हुन् । जुन युनिक भए पनि सर्वसाधारणले शुद्ध नाम नजान्दा उनलाई घाटा पनि भइरहेको रहेछ ।

महोत्सव र स्टेज कार्यक्रममा उनी विभिन्न जिल्ला पुगिरहेका हुन्छन् । स्टेजमा डिजराज भनेरै बोलाइए पनि श्रोता-दर्शकले आ-आफ्नै अनुमान गरेर फरक-फरक बुझिदिन्छन् ।

सर्वसाधारणले त बेग्लाबेग्लै सुने नै, कार्यक्रमको खबर स्थानीय पत्रिकामा छापिँदा पनि पत्रिकापिच्छे उनको नाम फरक आइदिन्छ । कतै दिलराज, कतै दीपकराज, कतै डिजे राजु त कतै युवराज ।

रियाज गर्ने ठाउँ भान्छा र इनार

सिन्धुलीको दूधौलीमा जन्मे-हुर्केका हुन् डिजराज । तराईसँग जोडिएको भित्री मधेसको जिल्ला भएकोले हिन्दी गीतहरुको प्रभाव हुनु स्वाभाविकै थियो । उनी गुलाम अली, मेहन्दी हसन, पंकज उदास, अबिदा परबिनका गजलका साथै कबालीहरु पनि सुन्थे । तिनै गीत गुनगुनाउथे ।

नारायणगोपाल, भक्तराजदेखि प्रदीपराज पाण्डे, रामकृष्ण ढकाल, आनन्द कार्कीका गीतहरुमा आफूले खोजेको स्वाद भेट्थे । यसैले सेमी क्लासिकल तथा आधुनिक गीतहरुमा उनको रुचि गहिरिँदै गयो ।

सानै छँदा गाउँका ठूलाठालुको माझमा गीत गाउँदा पाँच/दस रुपैयाँ पाएर उनी फुरुंग हुन्थे । भान्छामा आमा खाना पकाउँदै हुन्थिन्, छेउमा उनी आफ्नै सुरमा टेबल ठटाउँदै गाउँथे ।

उनका पाँच जना दाजुभाइ र एक बहिनीले आमा-बालाई सघाउने कामको बाँडफाड गरेका थिए । डिजराजले रोजेको काम थियो, इनारबाट पानी ल्याउने । त्यो रोज्नुमा पनि आफ्नै स्वार्थ थियो ।

उनी गाग्री बोकेर घर नजिकैको इनारमा पुग्थे । बाल्टीबाट पानी तान्ने क्रममा इनारमा टाउको घोप्टो पारेर गीत गाउँथे । गुम्म परेको इनारमा गाउँदा आउने गुञ्जन नामी गायककै जस्तो सुनेर उनको आत्मविश्वास झनै भरिन्थ्यो ।

कहिले भने गाग्रीलाई मादल जस्तो बजाउँथे । यस्तोमै आधा घण्टा समय बिताइदिन्थे । नजानिँदो किसिमले त्यसले रियाजको काम गर्दै उनको गला माझिँदै गयो ।
स्कूलमा छँदा गाउने कार्यक्रम त हुन्थ्यो । तर, उनले गाउने अवसर कहिल्यै पाएनन् । गाउन पाउँ भन्दै चाकडी गर्न उनको अहमले दिँदैनथ्यो । फेरि उनको मन त अर्थशास्त्र विषयतिर गढेको थियो, भोलि प्रोफेसर वा केही बनूँला भन्ने सोच थियो ।
तर, सिन्धुलीबाट काठमाडौं आएपछि अर्थशास्त्रभन्दा पनि संगीतको डिग्रीले उनलाई ततायो ।

संगीतमा संघर्षः भोको पेटमा टाई

०५४/५५ सालतिर बीए पढ्न उनी काठमाडौं आए । आरआर क्याम्पसमा भर्ना हुँदै उनी वानेश्वरको ओम संगीतमा शास्त्रीय संगीत सिक्न थाले । संगीत गुरु थिए, धनबहादुर गोपाली र एनबी चाम्लिङ ।

बीए सकेपछि भने गुजाराको समस्याले सतायो । कुनै न कुनै काममा झुन्डिनु जरुरी भयो । उनी त्यसबेला राम्रै मानिने बोर्डिङ स्कूलमा नेपाली पढाउन थाले । बिहानै संगीत सिक्न जान्थे । दिनभर पढाउने काममा व्यस्त हुन्थे ।

हप्ताको ६ दिन त पढाउँदैमा बित्थ्यो, शनिबार पनि फुर्सद हुँदैनथ्यो । कहिले मिटिङ त कहिले प्यारेन्ट्स डे र अनेक नाममा स्कूल धाउनुपथ्र्यो । चिटिक्क पोशाकमा सजिएर विद्यार्थीको गुड मर्निङ र गुड आफ्टरनुन खाए पनि त्यो सब भ्रम मात्रै थियो ।

‘आफ्नो दुःख आफ्नै ठाउँमा थियो, कहिलेकाहीँ बल्ल दुई-तीन महिनामा तलब आउँथ्यो’ डिजराज सम्भिmन्छन्, ‘मेरो हालत भोको पेटमा टाइ लगाएको जस्तो थियो ।’ जुनसुकै क्षेत्रमा संघर्ष अनिवार्य भन्दै आफ्नो विगतलाई पनि सामान्य मान्छन् उनी ।  पछि ट्युसन पनि पढाउने काम थालेपछि कमाइ अलि बढ्न थाल्यो ।
स्कूल र ट्युसनको कमाइबाट एल्बम निकाल्ने पैसा जम्मा पार्न थाले ।

करिब ८० हजार रुपैयाँ खर्चमा पहिलो सोलो एल्बम ‘सम्बोधन’ निकाले, ०६२ सालमा । म्युजिक नेपालबाट निकालिएको एल्बममा प्रोमो लगायतमा कम्पनीले पनि सघाएको थियो । एल्बमको ‘तिमी आउने बाटोमा’ गीत निकै चल्यो ।

त्यस अगाडि पनि केटौले रहरमा सँगै संगीत पढ्ने साथीभाइहरुसँग मिलेर उनले कलेक्सन एल्बममा गाएका थिए । चार जनाको दुई-दुई वटा गीत थिए । तर, रहर र लहडमा गरेको त्यो कामको केही अर्थ भएन । सँगैका साथीहरु लाखापाखा लागे । उनी भने सानैदेखि गायनमा डुब्दै आएकोले आत्मविश्वास जीवित राख्दै निरन्तर लागिरहे ।

त्यस क्रममा खासै संघर्ष झेल्नु नपरेको उनको अनुभव छ । संगीत क्षेत्रका मान्छेहरुले गर्ने व्यवहारका कारण मात्र दुःख लाग्ने गरेको सम्भिmँदै उनी भन्छन्, ‘गीत र संगीत माग्न जाँदा दिँदैनथे, त्यसमा दुःख लाग्थ्यो ।’

त्यही दुःखले आखिरमा डिजराजमा अर्को प्रतिभाको प्रष्फुटन गरायो ।

बाध्यताले गीतकार र संगीतकार बनायो

गीत गाउँछु, केही गर्छु भनेर हिँडेको ठिटोलाई गीतकार र संगीतकारले नपत्याउँदा आँत फतक्क गल्थ्यो । गीत लेख्ने र संगीत गर्ने आफ्नो ढंग पुग्ला भन्ने विश्वासै थिएन ।

‘चट्ट गाडी चढेर आउने मान्छेलाई मात्र यो सँग टन्न पैसा छ भनेर गीत र संगीत दिने मानसिकता थियो,’ सामान्य तरिकाले जाँदा आफू खाली हात फर्किनुपरेको सुनाउँदै उनले भने ।

त्यो अवस्थामा उनले जानीनजानी रहरले आफैं संगीत सिर्जना गरे, आफैं गीत लेख्न थाले । गायक त उनी छँदै थिए, बाध्यताले उनलाई गीतकार र संगीतकार पनि बनायो । पहिलो एल्बमबाट चर्चित बनेको गीतमा शब्द र संगीत उनको आफ्नै थियो । दोस्रो एल्बम ‘सुनैको दरबार’ को शीर्ष गीतमा पनि उनकै संगीत थियो । जसले केही लोकपि्रयता बटुलेको थियो ।

समयसँगै उनी गीत लेखन र संगीत सिर्जनामा अभ्यस्त हुँदै गए ।

अहिले त कस्तो अवस्था छ भने, उनको शब्द र संगीत विभिन्न गायक-गायिकाले गाउन थालेका छन् । राम्रो कला र गला भएका गायकलाई उनले सित्तैमा पनि गीत दिएका छन् । पैसाको तुजुक र रहरले आएका र भविष्यमा केही गर्ने क्षमता नदेखिने मान्छेसँग चाहिँ पैसा लिने गर्छन् । ‘गाउन नसक्ने तर रहर भएका हुनेखाने मान्छेसँग पैसा लिनैपर्छ, आखिर संगीत क्षेत्रमा बाँच्नु पनि त पर्‍यो’, उनले भने ।

पछिल्लो समयमा उनी आफ्नो छैटौं एल्बम ल्याउने तयारीमा छन् । गीतकार सानु तिवारीको एकल शब्दमा डिजराजको एकल स्वर र संगीत हुनेछ । एल्बममा गीतकारको लगानी रहनेछ ।

नामको लागि संघर्ष गर्दा सुरुमा आफैंले लगानी गर्नुपर्ने उनले सबैतिर देखेको कुरा हो । सबैले भोग्ने नियति उनी आफूले पनि भोगे । उनले पाँच वटा एल्बम आफ्नै लगानीमा निकालेका थिए ।

पैसाको कुरा गर्दा उनी अहिले स्थापित गायक बनेपछि देश-विदेशका महोत्सव र स्टेज कार्यक्रममा पैसा लिन्छन् । कलाकारहरुलाई गीत गाउन पूर्वदेखि पश्चिमसम्म हरेक महोत्सवमा बोलाउँछन् । उनी हामीसँग गफिन पनि महोत्सवकै व्यस्तताका बीच फुर्सद निकालेर आएका थिए ।

तर, एक समय थियो, संघर्षका दिनमा आफूलाई स्टेज चाहिएको बेला उनले फोकटमा पनि गाउँदै हिँडे । यो सबै पहिले गरेको लगानीको फल मान्छन् डिजराज ।
‘लगानी गरेर एल्बम निकाल्दा राम्ररी चल्दियो र ऊ चिनियो भने उसका सिर्जना अरुले किन्न थाल्छन्, त्यसबाट सन्तुलन मिल्ने हो,’ उनले भने ।

थरीथरी स्वादमा समयको माग

उनले संगीत यात्रामा हरेक प्रकारका गीत गाएका छन् । ठेट पूर्वेली लोकगीत, गजलदेखि आधुनिक र लोक आधुनिक गीतसम्म गाएका छन् । तर, उनलाई बढी मन पर्ने आधुनिक गीत र त्यसमा पनि सेन्टिमेन्टल धार नै हो । ‘मौका परेपछि’, ‘तिमी करोडमा म त रोडमा’ जस्ता गीतमा त्यही धारलाई समाए ।

पछिल्लो समय भने उनी आफ्नो गायकीको मूल शैलीसँगै झिल्के पाराका गीत गाउनमा पनि जोड दिइरहेका छन् । कारण, गजल र आधुनिक गीत सबैले नबुझ्लान् भन्ने डर पनि छ । यस क्रममा गीतमा भेेराइटी गर्नु बाध्यता भएको उनले मनन गरेका छन् ।

‘चुपचाप सुन्ने खालका शान्त गीत मात्र भयो भने सबैलाई मन पर्दैन’, श्रोताको स्वादलाई अथ्र्याउँदै भन्छन्, ‘सामान्य शब्दहरु भएको र स्टेज तताउने, दर्शकलाई नचाउने खालका गीत पनि गाउनुपर्छ ।’

यो तत्वबोध भएपछि अब नयाँ एल्बममा उनले ‘नक्कली कान्छीको क्या राम्रा राता गाला, झिल्केले म्वाइँ खाला’ जस्ता गीत पनि समेट्दै छन् । यस्ता गीतलाई समयको माग भन्छन् उनी । जुन गीत धेरै टिक्दैनन् भन्नेमा पनि जानकार छन् ।

‘तिमी आउने बाटोमा’ जस्ता सदाबहार गीतबाट श्रोताहरुमा बाँचेका गायक भन्छन्, ‘कतिपय गीत एक वर्षमा लोप हुन्छन् । त्यस्तो गीत पनि गरिदिनुपर्ने बाध्यतात्मक स्थिति छ । यो मेरो मात्र नभई सबै कलाकारको अनुभव हो ।’

तोडिएको र जोडिएको ‘अर्थशास्त्र’

गीत गाउने रुचिसँगै उनको सपना थियो, अर्थशास्त्र पढेर प्रोफेसर बन्ने । तर, त्यो सपनालाई संगीतको सरगमले उछिन्यो ।
प्रोफेसरको सपना संगीतसँग साटिनुमा पनि विवशताको कथा छ ।

स्कूलमा पढाउने बेला उनी अर्थशास्त्रमा एमए गर्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भर्ना भएका थिए । तर, जागिरे ध्याउन्नमा आफ्नो पढाइमा समय दिन भ्याउँदैनथे । ‘प्रोफेसर बन्न पनि पीएचडी गर्न निकै गाह्रो हुन्छ’, उनले आफ्नो बाध्यता सुनाए, ‘बोर्डिङ स्कूलमा पढाउने शिक्षकलाई गधालाई जस्तो पेल्छन् । त्यस्तो अवस्थामा आफ्नो पढाइ अघि बढाउन गाह्रो भयो ।’

त्यही बेला पहिलो एल्बमको गीत चल्दिएपछि उनलाई सांगीतिक कार्यक्रममा जान भ्याइनभ्याई हुन थाल्यो । पढाउने काम गरिरहँदा बीच-बीचमा बिदा लिइरहन झमेला भएपछि उनले जागिर नै हापिदिए । पूरै संगीत कर्ममा केन्दि्रत भए । कहिले पूर्वमा हुन्छन्, कहिले पश्चिम पुग्छन् त कहिले विदेशको स्टेज तताइरहेका हुन्छन् ।

पढाइको अर्थशास्त्र अवरुद्ध भए पनि जीवनको अर्थशास्त्र ठीकठाक हिँडाएका छन् । ‘जे छ, त्यसमा रमाउनुपर्छ । अरुले यति कमायो भनेर तुलना गर्न थाल्यो भने दुःखको कारण नै त्यही हुन्छ,’ उनले खुसीको सूत्र सुनाए । पाँच वर्षअघि प्रेम विवाह गरेका गायक त्यही सूत्रलाई पछ्याउँदै चार वर्षे छोराको साथमा हाँसीखुसी छन् ।
सिन्धुलीबाट घरबास अहिले काठमाडौंको गोठाटारमा समेत फैलिएको छ, जहाँ बा-आमाको आशीर्वाद थाप्दै उनी नयाँ-नयाँ सुर पस्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment