Comments Add Comment

यी हुन् बाबुरामको प्रशंसामा प्रचण्डले खर्चेका नौ सय शब्द ! (भिडियोसहित)

'परिस्थितिको बाध्यताले हामी फेरि मिल्नुपर्ने भयो'

११ पुस, काठमाडौं । डा. बाबुराम भट्टराईले माओवादी पार्टी छाडेको १६ महिनापछि उनीसँग सोमबार एउटै मञ्चमा भाषण गर्न खडा भएका प्रधानमन्त्री प्रचण्डले आफू र बाबुराम विचलनका प्रवक्ता नभएको, बरुएक अर्काका पूरक भएको बताए ।

पार्टी छाडेर हिँडेकोमा बाबुराम विचलित भएको माओवादी केन्द्रले यसअघि औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादी केन्द्रले पार्टीको माथिदेखि तलसम्मै बाबुरामले मार्क्सवाद छाडेको बताउने गरेको थियो । तर, सोमबार प्रचण्डले बाबुराम विचलनको प्रवक्ता नरहेको ठोकुवा गर्दै उनको मुक्तकण्ठले प्रशंसा गरे ।

अब प्रचण्ड र बाबुराम मिल्नुपर्ने परिस्थितिगत बाध्यता आइलागेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले आफ्ना पुराना साथी डा. बाबुराम भट्टराईका विषयमा के के भने ? पढ्नुहोस् बाबुरामको प्रशंसामा प्रचण्डले खर्च गरेका ९ सय शब्दः

०००

मेरो र बाबुरामजीको सम्बन्धका बारेमा म यहाँ व्याख्या गर्नतिर जान्न । हामी धेरै वर्ष, झण्डै तीन दशक भने पनि हुन्छ, एउटै आन्दोलनमा रह्यौं । एउटै पार्टीमा, २५ वर्ष एउटै कमिटीमा बस्यौं । उतार-चढावहरु पनि हामीले पार गर्‍यौं । घुम्ती मोडहरु पार गर्‍यौं ।

हामीलाई एक अर्काको आवश्यकता के हो र महत्व के हो भन्ने कुरा बुझ्नेमा हामी सबैभन्दा नजिक छौं भन्ने कुरा अहिले पनि म विश्वास गर्छु । अहिले उहाँ नयाँ शक्ति भनेर नयाँ ढंगले जानुभएको छ, तर पनि मेरो महत्व के हो भन्ने कुरा, थप उहाँमा भएको गुण के हो भन्ने कुरा मैलेजति राम्रो अरुले बुझेका छन् भन्ने कुरामा मलाई विश्वास छैन । अरुलाई हामीले बढी बुझेका छौं भन्ने लाग्छ होला ।

जटिल र चुनौतीपूर्ण समयमा हामीले काम गर्‍यौं । हामीले एक अर्कालाई सहयोग गरेरै गर्‍यौं । त्यसकारण भक्तिप्रसाद पाण्डेले जे (बाबुराम प्रचण्ड मिल्नुपर्छ) भन्नुभएको छ, विल्कुल सही भन्नुभएको छ ।

हामी जनयुद्धको तयारी गर्दैगर्दा या भर्खरै पार्टी एकता गर्दैगर्दा, एकताकेन्द्र बनाउने बेलामा म नेतृत्वमै थिएँ । त्यसलाई माओवादी बनाउँदा पनि म नेतृत्वमै थिएँ । जनयुद्ध सुरु गर्दा र शान्ति प्रक्रियामा आउँदा पनि म नेतृत्वमै थिएँ । अहिले पनि नेतृत्वमै छु ।

र, बाबुरामजीलाई हामी वैचारिक छलफल बहस गर्दै जाँदा यदि हामी जडमै भएको भए, या हामी साँच्चै विचलनमै भएको भए जनयुद्धको सुरुवात पनि सम्भव थिएन, त्यसको सफलतापूर्वक समापन पनि सम्भव थिएन । जुन ढंगले ल्याण्डिङ भयो, त्यो पनि सम्भव थिएन ।

इतिहास साक्षी छ, न प्रचण्ड, न बाबुराम, विचलनका प्रवक्ता हुन् भनेर पुष्टि हुँदैन । बरु, एकअर्काका पूरक हुन् भन्ने नै पुष्टि भएको छ ।

ठीक यही मान्यताबाट भन्ने हो मैले बाबुरामजीलाई, तपाईले हतार गर्नुभो । तपाईले यसो नगरेको भए राम्रो हुन्थ्यो । छलफल चलाउँदै गरेको भए चाँहि हामी यो सिंगै शक्तिलाई, नेपाललाई नै नयाँ ठाउँमा लान हामी सफल हुन्थ्यौं । हामी ‘नर्मल स्टेप’ चाल्दै पुग्न सकिन्थ्यो । मेरो भनाइ यो थियो र अहिले पनि मेरो बुझाइ यही नै छ ।

हिजो हामीले गरेका कामप्रति र त्यसका उपलब्धिहरुको रक्षाप्रति हामी प्रतिवद्ध छौं भने हामी एकै ठाउँमा उभिनुको कुनै विकल्पै देखेको छैन

एकले अर्कालाई धेरै आरोपित गर्ने भन्दा पनि समीक्षा गर्नु आवश्यक छ । समीक्षाले हामीलाई टुंगोमा पुर्‍याउने विश्वास छ । किनभने हामी कुनै डग्मा (जडसूत्र) मा विश्वास नगर्ने, हामी साइन्समा विश्वास गर्ने नै हौं । साइन्स भनेको साइन्स नै हो । हाम्रो क्याटोगोरी एउटै हुँदैनथ्यो भने २५ वर्ष युद्धका वीचमा हाम्रो सम्बन्ध सम्भवै थिएन । त्यसकारण हामीले आफूलाई फेरि एकचोटि समीक्षा गर्ने र त्यो स्पिरिटको खोजी गर्न आवश्यकता छ । र, सबै साथीहरुलाई त्यो वातावरण बनाउन म विशेष रुपले अपील गर्न चाहन्छु ।

अहिलेकै कुरा गर्ने हो भने मलाई के लाग्छ भने कामरेड भक्तिप्रसाद पाण्डेको संस्मरणको पछिल्लो अध्यायमा बाबुराम र प्रचण्डको सम्बन्धका बारेमा लेख्नुभएको छ र जे भन्नुभएको छ उहाँले, उहाँ जिउँदै हुँदा त हामी एउटै मञ्चमा सायद अलग भएपछि आएनौं । उहाँ मरेर गएपछि पनि हामीलाई एकै ठाउँमा उभ्याउन उहाँ सफल हुनुभयो । यसअर्थमा म भक्तिप्रसाद पाण्डेप्रति म सम्मान व्यक्त गर्न चाहन्छु ।

मैले के भन्न चाहेको छु भने अहिले हामी दुई ठाउँमा त छौं, तर देशको राजनीतिक घटनाक्रम र परिस्थितिले फेरि हामीलाई एकै ठाउँमा आउन बाध्य पार्दैछ । अब हामी इमान्दार छौं, राष्ट्रप्रति, जनताप्रति, हिजो हामीले गरेका कामप्रति र त्यसका उपलब्धिहरुको रक्षाप्रति हामी प्रतिवद्ध छौं भने हामी एकै ठाउँमा उभिनुको कुनै विकल्पै देखेको छैन ।

किनभने अहिले संविधानसभाबाट संविधान घोषणा भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि सायद बाबुरामजीलाई लागेको होला एउटा युग नै सिद्धियो अब । अब म आफ्नो ढंगले चल्दा हुन्छ भन्ने उहाँ त्यो निश्कर्षमा पुग्नुभयो र संविधान घोषणा भएको लगत्तै उहाँ अर्को ढंगले जाने निर्णयमा पुग्नुभयो । तर, परिस्थिति के थियो भने संविधान कार्यान्वयनको बडो चुनौतीपूर्ण चरण पार गर्न बाँकी नै थियो । हिजोको हाम्रो आन्दोलन, क्रान्ति, बलिदान, यी सबैको रक्षाको लागि पनि यो कार्यान्वयनको चुनौती हाम्रा सामु छ । तपाईले अहिले हेर्नुभयो भने कहीँ न कहीँ यी उपलब्धिहरुलाई उल्ट्याउने कोसिसहरु भइरहेका छन् । किनकि माओवादी विभाजित भए, माओवादी कमजोर भए । यसको परिणाम उनीहरुले अब यो परिवर्तन उल्टयाउन खोजेका छन् ।

किनभने, यसको सीधा सम्बन्ध माओवादीसँग छ, जनयुद्धसँग छ । संविधानसभासँग छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेसीजस्ता मान्यताहरु अहिले पुराना संसदीय पार्टीहरुका आविश्कार होइनन् । त्यसैले गर्दा कहीँ न कहीँ माओवादी आन्दोलन र लिडरसिप कमजोर भयो भने उल्ट्याउन सकिन्छ कि भनेर धराप थापेर बस्नेहरु छन् भनेर हामीले बिर्सन सक्दैनौं । बिर्सन हुँदैन पनि ।

देश फर्किएर ०४७ सालमा त यो जान सक्दैन, जाने त ०७४ तिरै हो, ०७५ तिरै हो । तर, देशको स्थिति यस्तै रहिराख्यो भने हामीले जे प्रयोग गर्ने भनिराखेका छौं, त्यो प्रयोगको थलो हामीलाई प्राप्त हुन्छ कि हुँदैन भन्ने असाध्यै गभ्भीर प्रश्न देशको अगाडि खडा छ, चाहे संविधान संशोधनको कुरा गरौं, या निर्वाचन गर्ने कुरा गरौं ।

मानिसहरुले भन्न थालेका छन्, यहाँ प्रदेशको निर्वाचन नभए पनि के फरक पर्‍यो र ? यो संविधानै नभए पनि हाम्रो के जान्छ र ? जाने त माओवादीको मात्रै हो भनेर भन्न थालेको तपाईहरुले सुन्नुभएको छ कि छैन ?

अहिले परिस्थितिले फेरि हामीलाई राष्ट्रका बारेमा, जनताका बारेमा, एजेण्डाका बारेमा छलफल र समीक्षा गर्नुपर्ने ठाउँमा ल्याएको छ

म हिजो माओवादी युद्धको कमाण्डरको हैसियतले, शान्ति प्रक्रियाको एउटा हस्ताक्षरकर्ताको हैसियतले, संविधानसभाबाट संविधान निर्माणको हैसियतले र अहिले प्रधानमन्त्रीको हैसियतले पनि मैले जे देखेको छु, यो उपलब्धि ल्याउनका लागि काम गर्नेहरु फेरि एकचोटि एकै ठाउँमा उभिएर यसको रक्षामा नआउने हो भने खतरा छ ।

यसबेला हामी सबैले जिम्मेवार हुनुपर्छ । यदि नकारात्मक दुर्घटनातिर देश गयो भने, यानि कि जागिसकेका जनता त चुप लागेर बस्दैनन्, फर्केर देश एकात्मकतातिर, निरंकुशतातिर जाने सम्भावना त छैन, तर नेतृत्वचाँहि शक्तिशाली भएन भने अराजकताको खतरा हुन्छ । देशले निकै ठूलो मूल्य चुकाउनुपर्ने खतरा हुन्छ ।

यसकारण मैले खाली बाबुरामजीलाई मात्रै भनेको होइन, परिवर्तनका पक्षधर सबै शक्तिहरु एकै ठाउँमा आउन फेरि गहिरो गरी विचार गर्नुपर्ने र एकै ठाउँमा उभिएर उपलब्धिको रक्षा गर्ने र त्यसलाई संस्थागत गर्ने काममा आउनुपर्ने देख्छु ।

र, म बाबुरामजी र मेरै सन्दर्भमा म के महसुस गर्छु भने आजभोलि फेरि हाम्रो पहिलाको दिनमा जस्तो जान थालेको छ । पक्षधरहरुले धेरै बिगारिदिएनन् भने…. मलाई बढी विश्वास गर्ने भन्नेले वा बाबुरामजीलाई बढी विश्वास गर्ने भन्नेले, यसमा धेरथोर उहाँ पनि र म पनि प्रभावित हुने गरेका छौं, त्यस्तो भएन भने अहिले परिस्थितिले फेरि हामीलाई राष्ट्रका बारेमा, जनताका बारेमा, एजेण्डाका बारेमा छलफल र समीक्षा गर्नुपर्ने ठाउँमा ल्याएको छ ।

तस्वीर/भिडियो-श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment