Comments Add Comment

‘प्रधानमन्त्री मरिचमानलाई कविता लेखेर उडाइदिन्छु भनेर जङ्गिन्थे’

krishna-hari-baral

भूपी शेरचन बढ्ता पियक्कड भएर बिग्रिए भनिन्छ । मुस्ताङको धनाढ्य परिवारका उनी कवि र कम्युनिष्ट भएर पनि बिग्रिए भन्ने गरिन्छ ।

कवि र कम्युनिस्ट भएर बिग्रिने सूचीमा अर्को ‘क’ पनि थपिने गरेको छ । भूपी तीन ‘क’ को सेरोफेरोमा रहनाले बिग्रिए- कवि, कम्युनिष्ट र कन्या ।

जीवनको अन्त्यतिर उनी राजावादी भएकै हुन्, तर पञ्चहरूलाई फिटिक्कै मान्दैनथे । उतिबेलाका प्रधानमन्त्री मरिचमानलाई त कविता लेखेर उडाइदिन्छु भनेर जङ्गिन्थे भूपी

भूपीलाई मैले आफू विद्यार्थी छँदा भेटेको हुँ । जसरी उनका कविता चटक्क कोरीबाटी गरेको गुच्छादार कपाल जस्तै मिलेको हुन्थ्यो, उनी पनि लवाइ र बोलीचालीमा त्यस्तै सफा र सरल थिए ।

भूपी बोलीचालीमा पनि कवितामा जस्तै तुकबन्दी प्रयोग गर्दै मीठो शैलीमा बोल्थे । तर, पञ्चायत कालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य भएपछि उनी धेरै नजरमा तीतो बने । यथार्थमा भने उनी पञ्च र पञ्चायत व्यवस्था दुवै मान्दैनथे । राजाप्रति भने बडो आदरभाव राख्थे ।

आफूले त्यति धेरै मान्ने राजाकै आग्रह टार्न नसकेर उनी एकेडेमी छिरेको हुनुपर्छ । त्यस क्रममा आफ्नो स्वतन्त्र कविको छविमाथि प्रश्न उठ्ला भन्ने मतलब समेत राखेनन् ।

त्यसो त उतिबेला पञ्चायतमा र प्रजातन्त्र पुनःस्थापनापछि पनि राजा वीरेन्द्रको निकट रहेर धेरै मानिसले काम गरे । तर, अपजस एक्लो भूपीमाथि खनियो । जीवनको अन्त्यतिर उनी राजावादी भएकै हुन्, तर पञ्चहरूलाई फिटिक्कै मान्दैनथे । उतिबेलाका प्रधानमन्त्री मरिचमानलाई त कविता लेखेर उडाइदिन्छु भनेर जङ्गिन्थे भूपी ।

भूपी अक्सर भन्ने गर्थे, ‘संसार जेट युगमा छ, हामी पेट युगमा छौं ।’ सामान्य कुरामा विवाद गरेर हामीले पेट युग अर्थात् विचारमा भोकमरीभन्दा माथि उठ्न नसकेको प्रतीत हुन्छ ।

मान्छेहरूले कुनै बेला भूपीलाई कम्युनिष्ट भने । तर, भूपी आफूलाई न त कम्युनिष्ट न त कांग्रेस नै भन्न रुचाउँथे । त्यसो त सुरुवाती चरणमा उनमा मार्क्सवादी प्रभाव थियो, सर्वहाराको लागि लेख्नुपर्छ भन्ने सोचले आफ्नो नाम समेत भूपेन्द्रमान शेरचन ‘सर्वहारा’ राखेर कविता लेखेका थिए ।

त्यसो त वादको रूपमा कुनै एकलाई अँगालेर लेख्नु व्यक्तिको स्वेच्छाको कुरा हुन्छ । तर, पार्टीगत रुपमा भूपीको कसैप्रति झुकाव थिएन । नेपालमा कांग्रेस होइन ‘काम गरेस्’ र कम्युनिष्ट होइन ‘कर्त्तव्यनिष्ठ’ भावनाको मान्छे चाहिन्छ भन्थे उनी । त्यसो भए मात्रै देश बन्छ भन्ने उनको सोच थियो ।

भूपीको अनुहारको हिसिमा पनि बेग्लै आकर्षण थियो । उनको धेरै महिलासँग हिमचिम थियो । यसैले कवि र कम्युनिष्टसँगै उनी कन्याका कारण बिग्रिए भनेर कसैकसैले भन्छन् । अशेष मल्लले अन्तर्वार्ताको क्रममा प्रेमप्रसङ्गको बारेमा सोध्दा भूपीले ‘धेरै जनाको बसिसकेको घर उजाडिन्छ, भो कुरा नगरौं’ भनेका थिए ।

जीवनशैली हेर्दा भूपी बुर्जुवा नै हुन्, यसमा शङ्का छैन । मार्क्सवादले ‘व्यक्तिको विचार मात्रै कम्युनिस्ट भएर हुँदैन, व्यक्तिको जीवनशैली पनि कम्युनिष्ट हुनुपर्छ’ भन्छ । तर, मूल्याङ्कनको पल्लामा हेर्ने हो भने व्यक्तिलाई होइन व्यक्तित्वलाई हेर्नुपर्छ । सोही अनुसार भूपीको कृतिलाई हेरेर उनको धरातल के हो भनेर पारख हुनुपर्छ ।

सुरुमा मार्क्सवादी विचारधारामा रहेर सर्वहारा वर्गको कवि बनेका भूपी समयक्रममा आलोचनात्मक यथार्थवादी कवि भएर देखा परे । उनको कविताको विशिष्टता भनेकै व्यङ्ग्यचेतना, सङ्गीतचेत र समसामयिक बोध हो । पञ्चायत व्यवस्थाभित्रै प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ भएर पनि पञ्चायत विरुद्ध बोल्ने भूपी जस्तो अर्को मान्छे देखेको छैन ।

(भूपीबारे लेखिएको ‘कवि भूपीः मूल्याङ्कन र विश्लेषण’ किताब समेत लेखेका समालोचक बरालसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment