+
+
Shares

गर्भवती महिलाको पेटबाट बच्चा खोस्ने असफल प्रयास, आमा र बच्चाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १३ गते १५:४२

babyब्राजिलका एक नि:सन्तान दम्पतीले एउटी गर्भवती महिलाको पेटबाट बच्चा चोर्ने असफल प्रयास गरेका छन् । घटनामा गर्भवती महिला र नवजात शिशुको ज्यान गएको छ ।

प्रहरीका अनुसार २१ वर्षीया थाइना दा पिन्टो र उनका श्रीमान फाबियो लुइज लिमाले २२ वर्षीया गर्भवती रायन्नी क्रिस्टिनी कोस्टाको अपहरण गरेका थिए । अपहरणपछि चक्कुले पेट चिरेर बच्चा जिउँदै निकाल्ने प्रयास उनीहरुले गरे पनि सफल भएनन् । पेट चिरिएकी महिला र बच्चा दुवैको तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई साताअघि अपहरणमा परेकी कोस्टा र उनको बच्चाको शव दुई दिनअघि आरोपित दम्पतीको रियो दि जेनेरियोमा रहेको घरको बगैंचामा क्षतविक्षत अवस्थामा प्रहरीले फेला पारेको थियो ।

तीन वर्षअघि लिमासँग बिहे गरेकी पिन्टाको गर्भाशयमा रहेको सिस्टका कारण डाक्टरहरुले उनको गर्भ रहन नसक्ने बताएका थिए । तर, पिन्टाले आफ्नो फुकेको पेटको फोटो फेसबुकमा पोष्ट गर्दै आफू गर्भवती भएको दावी गरेकी थिइन्, जसलाई उनको परिवार र साथीहरुले पत्याएका थिए । उनले फेसबुकमा बच्चाका लुगाहरुको तस्बिर पोष्ट गर्दै लेखेकी थिइन्, ‘कम सुन माइ प्रिन्सेस !’

बच्चाका लुगा र खेलौनाहरु दान गर्न चाहनेहरुका लागि ह्वाट्सएपको ग्रुपमा जोडिएकी पिन्टोले रियो दि जेनेरियोमा केही गरिब र कलिला आमाहरुलाई भेटेको प्रहरीले पत्ता लगाएको छ । उनले सो ग्रुपमा आफूसँग एउटी छोरी रहेको र उनलाई साना भएका कपडा तथा खेलौनाहरु दान गर्न चाहेको उल्लेख गरेकी थिइन् ।

एकल आमा कोस्टाले उनीसँग सम्पर्क गरिन् र ती सामानहरु लिन तयार भइन् । गत १३ डिसेम्बरका दिन उनी आफ्नी छोरीलाई स्कूलमा छाडेर पिन्टोलाई भेट्न रियो ट्रेन स्टेशन पुगिन् । त्यहाँबाट पिन्टोले उनलाई आफ्नो घरमा लिएर गइन्, जहाँ लिमाले उनीहरुलाई पर्खिरहेका थिए ।

घरमा ल्याएपछि पिन्टोले श्रीमानसँग मिलेर कोष्टाको पेट चक्कुले चिरिदिइन् । त्यतिबेला उनीहरुले थाहा पाए, बच्चा सात महिनाको मात्र भएको रहेछ, जबकि कोष्टाले नौ महिना पुग्न लागेको भनेकी थिइन् ।

रियोका प्रहरी प्रमुख एलेन सोउटोले घटनास्थलमा एउटा चक्कु भेटिएको र धेरैवटा कोठामा रगत लागेको पाइएको बताए ।

‘ती दम्पती एकदमै चाम्रा रहेछन्, उनीहरुमा कत्ति पनि ग्लानिभाव छैन,’ सोउटोले भनिन् । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?