१४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले बिहीबारको संसद बैठक पनि अवरुद्ध पारेका छन् । उनीहरुको अवरोधका कारण संसद बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सदनको कारबाही सुरु हुनेबित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संविधान संशोधन प्रस्ताव जनताको भावनाविपरित भएको भन्दै फिर्ता लिन माग गरे । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गरी संशोधन प्रस्ताव ल्याइनुमा ‘अर्कै उद्देश्य’ रहेको भन्दै उनले सो प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नदिने बताए ।
चौधरीले बोले लगत्तै एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल सम्बद्ध सांसदले उभिएर विरोध जनाएका थिए ।
सभामुख ओनसरी घर्तीले आसन ग्रहण गर्न र संसद बैठकमा अवरोध नगर्न पटक-पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरुले नमानेपछि यही पुस १८ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।
सभामुख घर्तीले संसदको अर्को बैठक यही पुस १८ गते सोमबार दिउँसो एक बजे बस्ने जानकारी दिइन् ।
विपक्षी दलका सांसदहरुले संशोधन प्रस्ताव राष्ट्रहित विपरित भएको भन्दै एक महिना अघिदेखि संसद बैठक अबरुद्ध पार्दै आएका छन् ।
प्रतिक्रिया 4