+
+

सीके लाल भन्छन्- हाँस उठ्न छाड्यो, रुन पनि मन लाग्दैन !

राप्रपा राजावादीजस्तो छैन, माओवादी माओवादीजस्तै छैनः युग पाठक

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते २०:२०

१४ पुस, काठमाडौं । बरिष्ठ लेखक एवं कुशाग्र राजनीतिक विश्लेषक सीके लाल राजधानीमा आयोजित एक कार्यक्रममा बडो निराशाजनक रुपमा प्रस्तुत भए । उनले गालिबको एक शेर गजल पस्कँदै भने- ‘नेताहरुलाई देख्दा पहिले बडो हाँस उठ्थ्यो, अहिले हाँस उठ्न पनि छोड्यो । रुन पनि मन लाग्दैन ।’

त्यसैगरी ‘उर्गेनको घोडा’ उपन्यासका लेखक, प्रगतिवादी साहित्यकार एवं युवा लेखक युग पाठकले पनि सिके लालको भन्दा कम निराशा प्रकट गरेनन् । उनले सामुन्नेमा रहेका योगेश भट्टराईतिर हेर्दै नेकपा एमाले गल्ती सच्याउन सिपालु पार्टी भएकाले अहिलेको संविधानलाई सच्चाएर वि.सं. २०१९ सालको महेन्द्रकालीन संविधान ल्याउन व्यंग्यात्मक सुझाव दिए ।

पाठकले भने- ‘मलाई कस्तो लाग्छ भने ०७२ सालमा दुईवटा डिजास्टर भएः एउटा भूकम्प, अर्को संविधान ।’

पहिले पढौं सिके लालको टिप्पणीः

Ck-lal

म निराशावादी कुरा गर्छु ।

यो अहिले भइरहेको देशको समस्या आस्थाको द्वन्द्व हो । व्यवस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले निरुपण हुन्छ, आस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले सधैंभरि निरुपण हुँदैन । निर्वाचनबाट, चुनावबाट जाँदैन ।

उदाहरण इतिहासको एउटा-

पद्म समशेरले संविधान बनाए । संविधान बनाएपछि तत्कालीन नेपाली कांग्रेसलाई भनियो, यसलाई मान । नेपाली कांग्रेसले उबेला गान्धीजीलाई सोध्यो- के गरौं ?
गान्धीजीले मात्रिकाप्रसाद कोइरालालाई चिठी लेख्नु भो ‘देखो भाइ, हम तो बनियाँ का बच्चे है । जो मिलता है, ले लो, बाद मे कुछ ढूंडो ।

तर, भएन । कांग्रेसले चुनाव स्वीकार गर्दाखेरि पनि बरु पद्म समशेरलाई मोहन समशेरले हटाइदिए । शासन चल्यो । ललाटमा लेखाएर ल्याउनुपर्छ सिंहदरबारमा उभिनलाई भनेर मोहन समशेरले भने । त्यसपछि कांग्रेसले बन्दुक उठाउनुपर्‍यो । अनिमात्रै त्यो ललाटको कुरा, आस्थाको कुरा सकियो ।

दोस्रो उदाहरण लिऔंः

संसदीय व्यवस्थाबाट जुन समाज र राज्यको अन्तरद्वन्द्वहरुको निरुपण हुँदैन भन्ने आस्थाको द्वन्द्व थियो । बाबुरामजीहरु यो संसदबाट हुँदैन भनेर बन्दुक लिएर निस्किनुभयो । अन्ततः बन्दुकबाटै आस्थाको द्वन्द्वको निरुपण भयो, संसदबाट भएन ।

अहिले पनि यो आस्थाको द्वन्द्व छ । आस्थाको द्वन्द्व केमा छ भने एकथरि भन्दैछन् कि ललाटमा लेखाएर ल्याएको नेपाली राष्ट्रियताको ठेकेदार हामी हौं । हामीले दिएको ठाउँमा बस्ने हो भने ठीक छ, हामीले दिएको लिएर बस्ने हो भने ठीक छ, नभए चाहिँ यहाँ ठाउँ छैन ।

मधेसीहरु, जनजातिहरु भन्दैछन् कि त्यो ललाटमा लेख्ने दिन अब गए । हामीले हाम्रो ललाट आफैं लेख्ने हो । अहिलेको आस्थाको द्वन्द्व यही हो ।

अब यो आस्थाको द्वन्द्व निरुपणका लागि बाबुराम भट्टराईले संवैधानिक बाटो खोजिराख्नुभएको छ, यो बहुत राम्रो कुरा हो । तर, जब यो संविधान लेखिएकै गलत मनसायले हो र यो प्रतिगमन हो भने यसलाई कति सच्चाएर, कहाँ पुर्‍याउने ? गणेशमान सिंहजीको भाषामा गधालाई धोएर पनि कहीँ गाई बन्छ ? आस्थाको द्वन्द्व यसरी समाधान हुन्छ ? आस्थाको द्वन्द्व समाधानका लागि यसलाई हटाएर कि अर्को संविधान ल्याउनुपर्‍यो ।

यसका लागि तीनवटा तरिका हुन सक्छः

एक- तपाईहरुजस्ता नेताहरुले राजनेताको गुण देखाएर, एकै ठाउँमा बसेर जहाँबाट गल्ती भएको हो, १६ बुँदे षडयन्त्र, त्यहाँबाट फर्केर पहिलो संविधानसभाका मुद्दाहरुलाई स्वामित्व त लिनु भो, तर, लागू गर्नुभएन, त्यो स्वामित्वलाई कार्यान्वयनमा लाने । यसका लागि तपाईहरु आफैं राजनेता बन्नुपर्‍यो ।

होइन भने दोस्रो भनेको वैदेशिक हस्तक्षेप निम्त्याएर हामीले समाधान गर्न सकेनौं भन्नुपर्‍यो । हामीले सकेनौं, हामी सबै पुच्छर झरेका बाँदर हौं, तिमीहरुले मिलाइदेऊ भनेर विदेशीलाई गुहार्नुपर्‍यो ।

हैन, तेस्रो विकल्प भनेको चाहिँ अब सत्ता भनेको सरकार र विपक्षी दुबै हो । सरकार र विपक्षी दुईटै सडकमा छन् । र, बहिस्किृत पनि सडकमा छन् । दुबै सडकमा भएका बेला संसदमा के बाटो खोज्ने ? कहाँबाट संसदबाट बाटो निस्किन्छ ? बरु अर्को द्वन्द्वको प्रतिक्षा गर्ने हो । त्यो कसैले रोकेर रोकिँदैन । त्यो प्रतिक्षा गर्ने अवस्थामा हामी पुगेका छौं ।

यो कुरा बडो निराशाजनक जस्तो लाग्छ । गालिबको एउटा शेर छ-

कोई उम्मीद बर नहीं आती
कोई सूरत नज़र नहीं आती
आगे आती थी हाल-ए-दिल पे हँसी
अब किसी बात पर नहीं आती

पहिलेे बडो हाँस उठ्थ्यो नेताहरु के गरिरहेका छन् भनेर । अहिले हाँस उठ्न पनि छोड्यो । रुन पनि मन लाग्दैन । जे हुनु छ, त्यो हुन्छ भन्नेमा, भाग्यवादमा जाने अवस्था आइपुग्यो ।

अब युग पाठकका कुरा

yug-pathakहाम्रो देशमा जुन पार्टीहरुले जे हौं भन्छन्, त्यो जस्तो छैनन् । राप्रपा राजावादीजस्तो छैन । माओवादी माओवादीजस्तै छैन । कांग्रेस समाजवादीजस्तो छैन । एमाले मार्क्सवादी-लेनिनवादीजस्तो छैन ।

गल्ती भयो कि भनेर सच्याउने भन्ने…. नेकपा एमाले सच्याउनमा धेरै तगडा छ । ज्ञानेन्द्रको ‘कु’ का बेलामा प्रतिगमन आधा सच्याएको पार्टी हो । अहिले पनि संघीयता गलत भो भनेर सच्याउनुपर्छ भन्दैछ ।

संविधान संश्ाोधन गर्ने कि नगर्ने भन्ने जुन बहस चलिराखेको छ । यो साझा भावना, साझा भाषा, यो डिस्कोर्स चलिराखेको छ । अहिलेसम्म भइरहेको लामो छलफल र बहसलाई हेर्दाखेरि पछाडि फर्काउन खोजिएको हो कि जस्तो देखिन्छ ।

मलाई कस्तो लाग्छ भने ०७२ सालमा दुईवटा डिजास्टर भए, एउटा भूकम्प, अर्को संविधान । यी दुईवटा डिजास्टर भए । र, अहिले आइपुग्दाखेरि कस्तो देखियो भने यस्तो उल्टो बाटोमा गयो कि ? मानौं पञ्चायत कालमा गरिएका कुराहरु सबै मान्छेले बिर्सिइसकेको जस्तो गरेर रिपिट गर्न थालिएको छ । त्यसकारण मेरो के सुझाव छ भने नि, बरु सबै कुरा सीधा सीधा गरौं न ।

महिला-पुरुष बराबर होइनन् है भन्नोस् बरु । महिलाहरु कमजोरै हुन् भन्नोस् । सीधै भने हुन्छ । बाहुन-क्षेत्रीहरु भनेका त पहिलेदेखि शासन गरेका हुन्, उनीहरुले नै चलाउने हुन्, बाँकीले किन चलाउने ? उनीहरु त रैती हुन्, साझा भाषा भनेर उनीहरुलाई हाम्रो भाषाभित्र हालिएको हो भनेर यसो भन्दिए हुन्छ भन्छु क्या म । बरु यसरी सीधा सीधा भनौं न, किन ढाँट्नुपर्‍यो ? ढाँट्ने कुरा नगरौं, सीधै सीधै कुरा गरौं ।

संविधानको प्रस्तावनामा जति पनि अधिकार दिने भनेर लेखिएका छन्, अब त्यो प्रस्तावना पनि चेञ्ज गरौं । सबै बराबर होइनन्, त्यसकारण सबैलाई बराबर हक दिने कुरा हुन सक्दैन नेपालमा भनेर लेखौं । यसरी जाऔं भन्ने लाग्छ क्या मलाई ! किन बेकारमा घाँटी ङ्याँक्ने ?

राजासँग सबैले संघर्ष गरेर आएको भए पनि समाजको साइन्सले के भन्छ भने राजा गए पनि एउटा शासक र शासित भन्ने चिज चाँहि हुन्छ । राजा गए पनि त्यसको विचारको प्रतिनिधित्व गर्ने कोही निस्किन्छ । एमाले त्यस्तो निस्कन खोजेको हो भने एमालेले धेरै कुरा सच्याउनुपर्छ जस्तो लाग्छ मलाई । यो संविधान पनि सच्याऔं । पहिले ०१९ सालको संविधान एकचोटि ल्याऔं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?