+
+

देउवासँग प्रचण्डको भेट सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १८:५३

४ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट सरेको छ । सभापति देउवाको सचिवालयका अनुसार शुक्रबार हुने भनिएको भेट शनिबारका लागि सरेको छ । शनिबार भेट्ने भनिएता पनि समय भने यकिन भएको छैन ।

शुक्रबार प्रचण्ड र देउवाबीच टेलिफोनमा संवाद भएको थियो । त्यही संवादको आधारमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो। दिउँसो २ बजेका लागि सारिएको बैठक पनि सूचना टाँसेर आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।

राप्रपासहितका विपक्षी दलहरुले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको माग गर्दै आएका छन् । सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । तर, सत्तारुढ दलहरु गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्न तयार भएका छैनन् ।

सहकारीको समग्र समस्याको समाधान गर्ने उपाय सुझाउने गरी समिति गठन गर्ने सत्तारुढ दलहरुको प्रस्ताव छ । यसमा प्रतिपक्षी कांग्रेस भने तयार छैन ।

सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संघीय संसद प्रभावित छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा त एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो । दलहरुका बीचमा सहमति कायम नगरी फेरि बैठक राखिए समस्या हुने भन्दै शुक्रबारको बैठक आइतबारका लागि स्थगित गरिएको नेताहरु बताउँछन् ।

शुक्रबार बिहान सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरु छुट्टछुट्टै छलफलमा जुटेका थिए । कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपालको बैठक संसद भवनस्थित नयाँ बानेश्वरमा बसेको थियो । सत्तापक्षका रहेका दलहरुको बैठक सिंहदरवार बसेको थियो ।

विपक्षी दलहरुको बैठकमा कांग्रेसले नेकपा एकीकृत समाजवादी समेतलाइ बोलाएको थियो । तर, एकीकृत समाजवादी विपक्षी दलहरुको बैठकमा सहभागी भएन । एकीकृत समाजवादी सत्तारुढ दलहरुको बैठकमा पनि उपस्थित थिएन ।

संघीय संसदको गतिरोध अन्त्य गर्ने ठोस प्रस्तावसहित बस्ने गरी कांग्रेस सभापति देउवासँग शुक्रबार तय भएको भेट सरेको नेताहरु बताउँछन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले गृहकार्य गरिरहेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने बताएका छन् । यसका लागि व्यवस्थापन मिलाइदिन संसद सचिवालयमा पत्र पठाएका छन् ।

संसदमा विपक्षी दलहरुले एउटा माग राखेर अवरोध गरिरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको र यो प्रधानमन्त्रीको अपरिपक्क निर्णय भएको कांग्रेस नेताहरुले बताइरहेका बेला सभापति देउवासँगको भेटको समय सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?