Comments Add Comment

प्रचण्डले भने- मलाई अरु बाहुन क्षेत्री जस्तै सोच्नु अन्याय हुन्छ

'गुरुङ जातिकै मान्छे प्रधानमन्त्री हुने दिन पक्कै आउनेछ'

prachand-at-tamu-lhosar
तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्वीर: प्रचण्डको सचिवालय

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरुङ जातिको व्यक्ति प्रधानमन्त्री बन्ने दिन टाढा नरहेको बताएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबैको पहिचान र अधिकार स्थापित गरेर मात्रै राष्ट्रिय एकता बलियो हुने पनि उनले बताए ।

तमु ल्होसारको अवसरमा शुक्रबार टुँडीखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पहिचान र अधिकारका पक्षमा मेरै नेतृत्वमा ठूलो राजनीतिक संघर्ष भयो । जनयुद्धकै बलमा अघिल्लो कार्यकालमा मधेसी समुदायबाट राष्ट्रपति निर्वाचित हुनुभयो । अहिले जनयुद्धको योगदान र मेरै प्रयत्नमा राष्ट्रपति महिला हुनुहुन्छ । म प्रधानमन्त्री हुँदा न्यायाधीशमा नियुक्त महिला नै अहिले प्रधानन्यायाधीश हुनुहुन्छ । सभामुख पनि महिला र जनजाति हुनुहुन्छ । मधेसी समुदायबाट उपसभामुख हुनुहुन्छ । यो सबै जनयुद्ध र माओवादी आन्दोलनकै देन हो । गुरुङ जातिकै मान्छे प्रधानमन्त्री हुने दिन पक्कै आउनेछ ।’

आफू सधैं सबै जाति, भाषा, धर्म र लिङ्गको एकता र अधिकारको पक्षमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अरु बाहुन, क्षेत्री नेता र प्रचण्ड पनि उस्तै हुन् भन्दा आफूप्रति अन्याय हुने उनले बताए ।

आफू निरन्तर राष्ट्रिय एकता र पहिचानको पक्षमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘म कहिल्यै शोषण र जातीय अहंकारको पक्षमा छैन ।’

प्रधानमन्त्री प्रचण्डलाई आयोजकले गुरुङ समुदायको जातीय पहिरन लगाइदिएका थिए । सभामा नेताहरु गोपालमान श्रेष्ठ, देवप्रसाद गुरुङ, राजेन्द्र श्रेष्ठ लगायतको सहभागीता थियो ।

कार्यक्रममा मौलिक झाँकीसहितका साँस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment