Comments Add Comment

सडकमा कन्सर्ट गर्न नदिने प्रहरीको घोषणा फ्लप

बिहान २ बजेसम्म ठमेल अस्तव्यस्त

music-concert

१७ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा सडक अवरुद्ध गरेर कार्यक्रम गर्न नदिने प्रहरीको घोषणा ‘फ्लप’ भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले शनिबार र आइतबार उपत्यकामा सडक अवरुद्ध पारेर कार्यक्रम गर्न नदिने घोषणा गरेका थिए ।

तर ठमेलमा रात्री व्यवसाय सञ्चालन गर्नेहरुले त्यसलाई टेरेनन् । ठमेल पर्यटन विकास परिषदले प्रशासनलाई समेत चुनौती दिँदै सडक अवरुद्ध गरेर शनिबार कन्सर्ट गरेरै छाड्यो । र, त्यही कन्सर्ट नै प्रहरीका लागि सुरक्षाको मुख्य चुनौती बन्यो ।

शनिबार साँझ ८ बजेदेखि सञ्चयकोष भवन अगाडि बीच सडकमै केही कलाकारलाई बोलाएर कन्सर्ट गरिएको थियो ।

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार त्यही कन्सर्टका कारण ठमेल रातभर अस्तव्यस्त भयो । दरबारमार्ग क्षेत्रबाट ठमेल जान खोज्नेहरुबीचको झगडा रोक्नेदेखि ट्राफिक व्यवस्था मिलाउनसम्म प्रहरीलाई निकै सकस भएको थियो ।

कन्सर्ट हेर्न जाने बहानामा ठेलिएको भन्दै झगडा पर्दा तीन जना घाइतेसमेत भए । डीएसपी राठौरले भने, ‘सबैलाई जानैपर्ने, कसैलाई स्टेजमै पुग्नुपर्ने, कसैलाई छोयो कि हानाहान गर्न खोज्छन् । दुई नबज्दासम्म सडक हेर्न सकिने अवस्थामा थिएन ।’

ठमेलमा रात्री व्यवसाय सञ्चालन गर्दै आएका समिर गुरुङले ‘शक्तिको आड’मा सडकमै कन्सर्ट गराएका थिए ।

एक प्रहरी अधिकारीका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सडकमा कार्यक्रम गर्न रोक्ने भनेको थियो । तर, गुरुङले कहाँबाट अनुमति पाएर सडकमा कन्सर्ट गरे भन्ने कुरा प्रहरीसमेत जानकार छैन ।

पिल्स बोकर हिँड्नेदेखि केटी जिस्क्याउनेसम्म समातिए

काठमाडौं प्रहरी परिसरले नयाँ वर्षको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा गरेर २ हजार बढी प्रहरी परिचालन गरेको थियो ।

एसपी प्रद्युम्न कार्कीका अनुसार ठमेल र दरवारमार्ग क्षेत्रमा मात्रै ६ सय बढी प्रहरी परिचालित थिए । काठमाडौंमा मध्यरातमा मादक पदार्थ सेवन गरेर झगडा गरेको आरोपमा १ सय ११ जना समातिएका छन् । ठमेल र दरवारमार्गमा मात्रै ७० जना समातिएका छन् भने अरु गोगंबु, बानेश्वर लगायतका क्षेत्रबाट पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमा कोही आपराधिक समूहका छन् कि भनेर अनुसन्धान भइरहेको एसपी कार्कीले बताए । पक्राउ पर्नेमा ठमेल क्षेत्रमा ट्याब्लेट लागुऔषध तथा गर्भनिरोधक औषधि पिल्स बिक्री गर्दै हिँडने समेत छन् ।

ठमेलमा सडकमा मापसे गरिरहेकाहरुको साथबाट बियर तथा अन्य मादक पदार्थका ५ सय बोतल बरामद भएको छ ।

ललितपुरमा पनि मापसे र झगडा गर्ने ४७ जना पक्राउ परेका छन् । ललितपुर परिसरका डीएसपी ईश्वर कार्कीका अनुसार ललितपुरमा भने सडकमा कुनै पनि कार्यक्रमहरु भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment