Comments Add Comment

गाडी जलाउने युवा संघका कार्यकर्तालाई योगेश भट्टराईको सुझावः तालुबाट धुवाँ ननिकाल्नोस् !

पुस २२ गते फूलको थुँगा पनि नचुँडिने दाबी

 

yogesh-bhattarai

१७ मंसिर, काठमाडौं । युवा संघका कार्यकर्ताहरुले नयाँ बानेश्वरमा सरकारी गाडीमा गरेको आगजनी र तोडफोडप्रति एमाले सचिव योगेश भट्टराईले निन्दा गरेका छन् ।

सरकारी गाडीमा आगजनी र तोडफोड गरेर सगर्व आफूले गराएको घोषणा गर्नेहरु एमाले हुन नसक्ने सचिव भट्टराईले बताए ।

युवा संघले गराएको आगजनीको घटनालाई एमालेले के भन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने- ‘जसले गरेको भए पनि त्यो गलत कार्य हो, सरकारी मात्रै होइन, कसैको निजी सम्पत्तिमाथि पनि आगजनी र तोडफोड गर्न हुँदैन । एमालेले त्यस्तो कार्य गर्न सक्दैन ।’

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले तोडफोडमा संलग्न युवा संघका कार्यकर्तालाई लक्षित गर्दै भने- ‘एमालेमा लागेर तपाईहरुले तालुबाट आवेगको धुवाँ ननिकाल्नोस्, यथार्थको धरातलमा पैतालाले टेकेर हिँड्नोस् ।’

शुक्रबार नयाँ बानेश्वरमा एमालेसमर्थित युवा संघका कार्यकर्ताले एउटा सरकारी गाडीमा आगजनी गर्नुका साथै अन्य केही गाडीहरु तोडफोड गरेका थिए । संघको झण्डासमेत लिएर उनीहरु तोडफोडमा उत्रिएका थिए ।

तोडफोडपछि बुद्धनगरस्थित युवासंघको केन्द्रीय कार्यालयमा बसेको बैठकमा युवा संघका कार्यकर्ताले गाडी जलाइयो, फ्टाइयो, अब नेपाल बन्द गर्नुपर्छ भन्दै सरकारी गाडीमा आगजनी गरेकोप्रति गर्वानुभूति व्यक्त गरेका थिए । उनीहरुले विदाका दिन सरकारी गाडी चलाइएको भन्दै आगजनी र तोडफोड गरेका थिए ।

तर, युवा संघको यस्तो कार्यप्रति एमाले प्रचार विभाग प्रमुख भट्टराईले रोष व्यक्त गरेका छन् ।

‘सरकारी गाडी कसले प्रयोग गरेको छैन ? हाम्रै पार्टीका नेताहरुले सरकारी गाडी प्रयोग गरिरहनुभएको छ,’ भट्टराईले अनलाइनखबरसँग भने- ‘विपक्षी दलका नेता, प्रमुख सचेतक र पूर्वगृहमन्त्री रहेका हाम्रै पार्टीका नेताहरुले सेतो प्लेटको गाडी प्रयोग गरिरहनुभएको छ, के ती गाडी जहाँ भेट्यो, त्यही फुटाउन मिल्छ ?’

‘पुस २२ गते फूलको थुँगा पनि चुँडिदैन’

नयाँ बानेश्वरमा भएको युवा संघको सानो प्रदर्शनमा त सरकारी गाडी ढुटो भए भने अब पुस २२ गते एमालेका लाखौं कार्यकर्ताहरु राजधानीमा उत्रिएका बेला कति गाडी फुट्लान् ?

अनलाइनखबरको यस्तो प्रश्नमा एमाले नेता भट्टराईले भने- ‘पुस २२ गते राजधानीका सडकमा भएको फूलको एउटा थुँगा पनि चुँडिदैन, त्यो दिन एमालेले गर्ने प्रदर्शन अत्यन्तै शान्तिपूर्ण हुन्छ, यसमा राजधानीबासीहरु ढुक्क हुनुभए हुन्छ ।’

त्यस दिन एमालेका नाममा कसैले तोडफोड वा अभद्र व्यवहार गरेको खण्डमा उसलाई मञ्चमा लगेर सबैका सामु नङ्ग्याइने भट्टराईले बताए ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले पुस २२ गते डेढलाख भन्दा बढी कार्यकर्ता र जनता राजधानीमा उतार्ने भट्टराईले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment