Comments Add Comment

सर्वोच्चले के-के भन्यो छोडिदिनुस्, अब संसद खुल्योः प्रधानमन्त्री

Prachanda

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै संविधान संशोधन विधेयक अघि बढाउने संकेत दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध हट्ने भएको बताए ।

सरकारले ल्याएको संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन । र, एमालेसहितका विपक्षी दलहरुले २४ गते संसद खोल्न सकारात्मक देखिएका छन् ।

तर, आदेशमा संविधानको धारा २७४ (सीमांकन हेरफेरका लागि प्रदेश सभाबाट सहमति दिनुपर्ने)लाई स्मरण गराउनुका साथै संविधान विपरित कुनै काम भए भोलि त्यसलाई उल्टाउन सक्ने भनेको छ ।

यसलाई टेकेर एमालेसहितका विपक्षी दलहरुले प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव अघि बढाउन नमिल्ने तर्क गरेका छन् ।

बिहान बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वोच्चले सबैलाई मिलाउन के-के भन्यो, त्यो छोडिदिनुस् । संसद खुल्यो अब, छलफल हुन्छ ।’

सर्वोच्चको आदेशले राजनीतिक दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको उनले बताए । उनले भने, ‘मैले सहमतिका लागि कोशिस गरिरहेको छु । प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिटै राजनीतिक सहमति जुट्छ ।’

संशोधनको पक्षमा कसरी दुई तिहाई पुग्छ त भन्ने प्रश्नमा प्रचण्डले भने, ‘प्रस्तावमाथि छलफल भएर भोटिङ्मा गएपछि थाहा हुन्छ, हामीले त दुई तिहाई पुग्छ भनेर नै प्रस्ताव दर्ता गरेको हौं ।’

एमाले लगायतका विपक्षीसँग संसदमा त २०१ संख्या छ भनेका छन् नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यही भएर त उहाँहरुले गल्ती गर्नुभएको छ, भए त भोटिंगमा गएर हराए भै’गयो नि त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment