Comments Add Comment

भैरहवा र चीनको बाओजी शहरबीच भगिनी सम्बन्ध

china-nepal
२० पुस, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र चीनको बाओजी शहर बीच भगिनी सम्बन्ध विस्तार भएको छ ।

दुवै देशको शहरलाई एकसाथ विकासको गतीमा लैजाने उद्देश्यका भगिनी सम्बन्ध विस्तार भएको हो ।

सिद्धार्थनगर नगरपालिका प्रमुख गोपाल प्रसाद रेग्मी र बाओजी शहरका मेयर सि चिन छाङले भगिनी सम्बन्ध विस्तार पत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले भूगोल र जनसंख्याको हिसाबमा नेपाल र चीन बीच तुलना गर्न नसिकएपनि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने बताए ।

उनले शान्तिका अग्रदूत गौतम बुद्धका अनुयायीहरु सबैभन्दा बढी चीनमा भएकाले नेपाल र चीनबीचको सम्बन्ध सधैं ऐतिहासिक रहेको धारणा राखे ।

चीनका लागि पनि नेपाल र यो नगरपालिका ठूलो आस्थाको केन्द्र रहेको भन्दै उनले दुई देशका दुई शहरबीच भएको भगिनी सम्बन्धले दुबै देशको विकास र दुबै देशका नागरिकलाई निकट बनाउने आशा व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख एवं कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले सिद्धार्थनगर नगरपालिका भारत र चीन बीचमा रहेको प्रमुख व्यापारिक केन्द्र बन्दै गइरहेको अवस्थामा दुई शहरको सम्वन्ध बिस्तारले व्यापार, औद्योगीकरण लगायत नगरको विकास क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै चीनको बाओजी शहरका मेयर सि चिन छाङ्गले दुवै देशको शहरको भगिनी सम्बन्धले अब दुबै शहर औद्योगिक, सांस्कृतिक, समाजिक विकास लगायत सबै क्षेत्रमा मिलेर अघि बढ्ने बताए ।

दुई देशका बासिन्दाबीच अत्यन्तै घनिष्ट सम्बन्ध रहदै आएको भन्दै उनले बाओजी सहर चिनियाँ सँस्कृती चौ छिङ्गको उद्गम स्थल भएको र सिद्धार्थनगर बुद्धको नगरी भएको भन्दै दुवै शहरको आ- आफ्नै सांस्कृतिक महत्व रहेको बताए ।

उनले नेपाल अत्यन्तै सुन्दर देश रहेको र नेपालीहरु मिहिनेती भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

उनले दुबै देशको शहरबीच भगिनी सम्बन्ध जोड्ने भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै अब दुवै शहरको विकास एकसाथ हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment