हामीले उठाउँदै आएका थियौं कि प्रादेशिक सभाको उपस्थितविना प्रदेशको सीमानामा कुनै फेरबदल गर्नु संविधानसम्वद्ध हुँदैन । यसबारेमा सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले हाम्रो त्यो निष्कर्षलाई पुष्टि गरेको छ । यस अर्थमा हामी फैसलाको स्वागत गर्न चाहान्छौं ।
‘हामी ठीक छौं, प्रचण्डको कदम गलत छ’
सर्वोच्च अदालतको फैसलापछि पार्टीहरु फेरि छलफलमा व्यस्त रहेका छन् । एमालेसहित नौ दलको बैठकमा एमालेको अडान सही छ भन्ने निष्कर्ष आएको छ । हामी अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्छौं ।
सर्वोच्चको फैसलाबाट जुन कुराको औचित्य नै छैन, प्रान्तीय संरचना नै छैन, प्रान्तीय तहको चुनाव नै भएको छैन, त्यस्तो अवस्थामा, प्रदेशको सीमांकन तलमाथि गर्ने प्रयास उचित छैन भन्ने बुझेर यससम्बन्धी सबै संशोधन फिर्ता लिने विश्वास मैले लिएको छु ।
सर्वोच्च अदालतको फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ । नभए हामीले सुनिरहेका थियौं, ५ नम्बर प्रदेश त हाम्रो सुरुवात मात्रै हो, जबसम्म देशको तराई हामी विखण्डन गर्दैनौं, तबसम्म चुप लागेर बस्दैनौं भन्ने कुरा हामीले सुन्दै आइरहेका छौं । भनेपछि यो ५ नम्बर प्रदेशको मात्रै मामिला रहेन । पाँच नम्बर प्रदेश भनेको त सुरुवात मात्रै हुनेछ ।
पाँच नम्बर प्रदेशको त्यो कदम देशलाई अर्को ठूलो द्वन्द्वमा लिएर जाने सुरुवात हो । देशलाई द्वन्द्वको चक्रब्युहमा पार्न खोज्ने यो प्रयत्न मात्रै हो । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीको यो कदम गलत छ । बेठीक छ । जनभावना प्रतिकूल छ ।
त्यसैले, संविधान संशोधनका सन्दर्भमा ल्याइएका कुराहरुलाई सकिन्छ भने फिर्ता लिएर, नसक्ने भए थाती राखेर निर्वाचन केन्दि्रत भई अगाडि बढ्न म उहाँ (प्रचण्ड) लाई आहृवान गर्न चाहान्छु ।
संसद कहिले खुल्छ ? हामीले यसै भन्नुहुँदैन
संसद खोल्ने विषयमा नौ दलको बैठकमा अहिलेकै अडान ठीक छ भन्ने सुझाव भएको छ । प्रादेशिक सभा जबसम्म रहँदैन, तब सीमांकन फेरबदलको कुनै अर्थ रहँदैन भन्ने प्रष्ट भैसकेको छ । यसबारेमा सत्ता पक्षले टुंगो नलगाएसम्म हामीले यसै भन्नुहुँदैन ।
संशोधन प्रस्तावमा मतदान भए एमालेमा कुनै चिन्ता छैन । एमाले ढुक्क छ । २ सय मत लिएर एमाले उभिएको छ, त्यो यताउता हुने छैन ।
हामीलाई एक तिहाइको चिन्तै छैन । विफल पार्ने कुरा स्वतः प्रष्टै छ । विफल पारेर मात्रै भएन नि, यसलाई थाती राखेर गयो भने सबैको इज्जत जोगिन्छ ।
शेरबहादुरजी, प्रचण्डलाई सम्झाउनोस्
म नेपाली कांग्रेसका नेता शेरबहादुरजीलाई पनि भन्न चाहान्छु कि यस्तै-यस्तै झमेलामा देशलाई पुर्याउने काममा तपाईको भूमिका नरहोस् । कमसेकम तपाईले समयमा बुद्धि पुर्याउनुहोस् । तपाई त पाको व्यक्ति पनि हो । धेरैपटक प्रधानमन्त्री भैसकेको मान्छे । देशविदेश घुमेको मान्छे । यी सबै चुनौतिको सामना कसरी गर्नु पर्दछ, तपाईलाई थाहा छ ।
त्यसैले कम अनुभव भएका पुष्पकमलजीले गल्ती गरिहाल्नुभयो भनेर तपाईले तमासा हेर्ने होइन, सच्याउन, सुधार्न अगाडि बढ्नुहोस् । रोक्नुहोस् उहाँलाई ।
उहाँ (प्रचण्ड) के डरले, के त्रासले, के लोभले, के प्रतिवद्धताले, कुन दबावले यस्तो काम गर्दै हुनुहुन्छ ? उहाँलाई ढाडस दिनुहोस्, हामी पनि छौं, आतिनुपर्दैन । जसलाई एमालेको सहयोग चाहिन्छ, हामी तयार छौं । नेपालको आन्तरिक मामिला हामी आफैंले तय गर्नुपर्छ ।
म मधेसको धर्तीपुत्र हुँ
मधेसको कुरा गर्नुहुन्छ भने, मोरङ-सुनसरीदेखि पर्सासम्मको प्रत्येक जिल्लामा म पुगेर आएँ । उनीहरुको एउटै कुरा अब हामीलाई चुनाव चाहिएको छ, सीमानामा फेरबदल होइन भन्ने छ ।
आफैं पनि रौतहटको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुँ । म त्यहाँको धर्तीपुत्र पनि हुँ । माधव नेपालले भनेको मधेसको कुरा नहुने ? जसको नेपालको मधेसमा जन्मै भएको छैन, उसको कुरा मधेसको हुने ? त्यो हुँदैन ।
जसका बाबुबाजे मधेसमा जन्मे, हुर्किए, उसको कुरा नहुने, जसका बाबुबाजेको अत्तोपत्तो छैन, उसले भनेको कुरा मधेसको हुने ?
एमालेको ध्यान चुनावमा मात्रै
एमालेको अहिलेको ध्यान चुनावमा मात्रै छ । १७ वर्षदेखि स्थानीय निकायको चुनाव भएको छैन । सारा विकासका बजेटहरुको सदुपयोग होइन, दुरुपयोग भैरहेको छ । यो अवस्थामा स्थानीय तहको निर्वाचन सुशील कोइराला अथवा केपी ओलीकै पालामा भैसक्नुपर्ने थियो ।
स्थानीय चुनाव नयाँ संरचना अनुसार गर्नुहुन्छ कि पुरानो संरचना अनुसार ? जे गरे पनि संविधानसम्वद्ध हुनुपर्यो । प्रमुख कुरा संरचनाको होइन, चुनावको हो ।
(बागबजारमा बुधबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा एमाले बरिष्ठ नेता नेपालद्वारा व्यक्त विचारको अंश)