Comments Add Comment

टेन्डर नै नगरी महानगरले गोप्यरुपमा छान्यो सडकबत्ती जोड्ने कम्पनी

महानगरको जवाफ- यो सामाजिक काम हो

Kathmandu-Metropolition-Cit

२१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसायिक प्रवर्द्धन हुने गरी टेन्डरबिनै निजी कम्पनीलाई सौर्य सडक बत्ती जडानको अनुमति दिएको छ ।

काठमाडौंको कृष्ण पाउरोटीचोकदेखि जय नेपाल हलसम्मको सडकमा सौर्यबत्ती जडान गर्न निजी कम्पनीलाई गोप्य रुपमा बिनाप्रतिस्पर्धा अनुमति दिइएको हो ।

एक निजी कम्पनीलाई कुनै प्रतिस्पर्धा बिना नै व्यवसायिक प्रवर्द्धन गर्न सहमति दिँदै महानगरपालिकाको भौतिक पूर्वाधार विभागले अनुमति जारी गरेको छ ।

पोलमा जोडिने ब्याट्रीहरुमा कम्पनीको लोगो राखी प्रचार गर्न पाउने गरी गत मंसिर २१ गते स्वीकृति प्रदान गरेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ । तर, यसबाट महानगरलाई कुनै आर्थिक उपार्जन या लाभ नहुने देखिएको छ ।

महानगरलाई कति हानी ?

पछिल्लो समयमा निजी क्षेत्र विज्ञापन राख्ने गरी आफ्नै खर्चमा सोलार बत्ती जडान गर्न अग्रसर छन् । महानगरपालिकाले पहिलो चरणमा यो परियोजनाका लागि बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सम्झौता गरेको थियो ।

Solar

एक वर्षभित्र काठमाडौंका मुख्य सडकहरुमा १ हजार २ सय ८५ वटा पोलमा बत्ती जोड्ने सम्झौताअनुसार कम्पनीले वाषिर्करुपमा महानगरपालिकालाई प्रतिपोल रोयल्टी र विज्ञापन कर पनि बुझाउने गरी सम्झौता गरेको छ ।

महानगरपालिकाले यो कम्पनीसँग प्रतिपोल वाषिर्क ८ हजार ७ सय रुपैयाँ रोयल्टी लिने तय भएको थियो । रोयल्टीबाट महानगरपालिकाले वाषिर्क १ करोड ११ लाख रुपैयाँ आम्दानी हुने तय गरिसकेको छ ।

तर, यसपटक यस्तै योजनामा बिनाटेण्डर नै अर्को निजी कम्पनीलाई महानगरले आफूलाई कुनै लाभ नै नहुने गरी बत्ती जोड्न दिएको छ । यो निर्णय गर्दा महानगरले सार्वजनिक खरिदको मापदण्डलाई पनि मिचेको देखिएको छ ।

यसअघिको सम्झौताअनुसार बिके सप्लार्यर्सले महानगरपालिकालाई वार्षिकरुपमा नगर परिषदले किटान गरेको दरका आधारमा विज्ञापन कर तिर्ने सम्झौता भएको थियो ।

तर, अर्को कम्पनीले पाएको अनुमति विशुद्ध व्यक्तिगत लाभका लागि केही उच्च अधिकारीको मिलेमतोमा भएको दाबी महानगरभित्रैका कर्मचारीको छ ।

महानगर भन्छ-सामाजिक काम

यो अवैधानिक निर्णय महानगरका शहरी पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीले गरेका हुन् । बिना प्रतिस्पर्धा दिइएको अनुमतिपत्रमा जोडिने बत्तीको मर्मत कसले गर्ने भन्ने पनि उल्लेख छैन ।

यसअघि दिइएको अनुमतिमा भने कम्पनीले १० वर्षसम्म प्रत्येक एक-एक महिनामा सोलार प्यानल सफा गर्नुपर्ने र ब्याट्री परिवर्तन गर्दासमेत उसैले खर्च बेहोर्नुपर्ने उल्लेख थियो ।

निर्णयकर्ता रेग्मी भने यो काम निजी कम्पनीले सामाजिक रुपमा गर्न लागेकाले टेण्डर नगरी अनुमति दिइएको स्वीकार्छन् ।

‘यो कुनै टेण्डर गरिराख्नुपर्ने नै थिएन । कसैले सबै खर्च म नै बेहोर्छु भनेर आउँछ भने हामी अरुलाई पनि अनुमति दिन्छौं’ रेग्मी भन्छन्,’यसले महानगरपालिकालाई कुनै घाटा छैन । त्यस क्षेत्रमा नागरिकलाई सहजता ल्याउनेछ ।’

उनले ब्याट्रीमा मात्रै कम्पनीले लोगो राख्ने भएकाले यो कुनै विज्ञापन नहुने जिकीर गरे ।

तर, महानगरपालिकालाई त सोलारबत्ती जडानबाट विज्ञापनबापत हुने लाभ भएन नि ? भन्ने प्रश्नमा उनले भने, ‘महानगरालिका कमाउन बसेको निकाय होइन । यसले सामाजिक रुपमा हुने कामलाई सहयोग गर्छ । महानगरको खर्च नलाग्ने गरी प्रस्ताव यस्तै आए थप बत्तीहरु पनि जोडिन्छन् ।’

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले कर्पोरेट समाजिक उत्तरदायित्व अन्तरगत कम्पनीलाई यसको जिम्मेवारी दिइएको बताए । उनले अन्य कम्पनीले यसैगरी बत्ती राख्न चाहे अनुमति दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment