+
+

सामुदायिक रेडियोमा पनि एमालेबिरुद्ध सत्तापक्षको मोर्चाबन्दी

सबै चुनावमा गठबन्धन बनाएर जाने निधीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १३:१२
acorab
सामुदायिक रेडियो प्रसारक संघको छैठौं अधिवेशन उदघाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की । तस्वीर: सीआईएन

२२ पुस, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघको निर्वाचनमा एमालेविरुद्ध सत्तापक्षका सबै दलहरु एकजुट भएर उम्मेवारी घोषणा गरेका छन् ।

देशभरका सामुदायिक रेडियोहरुको छाता संगठनको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । संघमा हालसम्म एमालेको नेतृत्व रहँदै आएको छ । यसअघिका चुनावमा सहमतिका आधारमा एमालेलाई अध्यक्ष र कोषाध्यक्ष दिएर अन्य दलले अरु पद लिने गरेका थिए ।

यसपटक एमालेमुक्त संगठन बनाउन सत्तापक्षबीच शुक्रबार विहान बानेश्वरको इन्द्रेणी होटलमा संयुक्त प्यानल बनाइएको हो ।

यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधीले कांग्रेस सम्बद्ध पत्रकार तथा रेडियो सन्चालकहरुको भेलामा एमाले विरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने नीति सुनाएका थिए ।

उनले एमाले विरुद्ध अन्य दलको सहकार्य आगामी निर्वाचनसम्म हुनुपर्ने भएकाले आफूले त्याग गर्न समेत तयार हुनुपर्ने बताएका थिए । त्यस लगत्तै कांग्रेस, माओवादी, राप्रपा र मधेसी मोर्चाको संयुक्त प्यानल घोषणा गरिएको हो ।

प्यानलको अध्यक्षमा कांग्रेसका किशोरजंग थापा र महासचिवमा माओवादीका गोविन्द देवकोटा उम्मेदवार घोषित भएको प्रेस युनियनले जनाएको छ ।

त्यस्तै एमालेबाट सुवास खतिवडा अध्यक्षको उम्मेदवार बन्ने भएका छन् भने महासचिवमा पिताम्बर सिग्देलको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनले एमाले विरुद्ध जनजाति महासंघबाट शुरु गरेको मोर्चाबन्दी सामुदायिक रेडियो प्रसारक संघ हुँदै भविश्यमा अन्य निर्वाचनसम्म कायम राख्ने सहमति भएको स्रोतले जनाएको छ ।

सामुदायिक रेडियो प्रसारक संघमा गैर एमाले शक्तिहरु एकजुट हुनुको प्रभाव नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनसम्म पर्नेछ । पछिल्ला दुई चुनावमा पत्रकार महासंघमा एमाले र माओवादी निकट पत्रकारहरुबीच गठबन्धन भएर जित्दै आएका छन् ।

रेडियोको पछिल्लो गठबन्धनलाई पत्रकार महासंघसम्म कायम राख्ने अनौपचारिक सहमति भएको छ । सामुदायिक रेडियो प्रसारक संघमा कुल २८६ रेडियोका मतदाता छन् । पार्टीगत आधारमा एमालेका मतदाता सबैभन्दा धेरै छन् । तर, सबै दल मिल्दा भने एमालेलाई धक्का लाग्न सक्छ ।

यसअघि आदिवासी जनजाती महासंघको महाधिवेशनमा पनि एमालेविरुद्ध कांग्रेस-माओवादी लगायत दलको मोर्चाबन्दी भएको थियो र, अध्यक्षमा कांग्रेस निकट जगत बराम चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?