+
+

रुस–युक्रेन युद्धमा अस्ताए ३९ नेपाली

३८ जनाको शवबिनै काजकिरिया, सरकारी तथ्यांकमा २२ जनामात्रै मृत्यु

रुसी सेनाका परिवारले मृतकको फोटो, मृत्यु प्रमाणपत्र र रुसबाट साथीभाइले पठाएको खबरका भरमा ३८ जनाको परिवारले काजकिरियासमेत गरिसकेका छन् भने एउटा परिवार शवको पर्खाइमा छ ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ जेठ ११ गते ९:००

११ जेठ, काठमाडौं । रुस–युक्रेन युद्ध चर्किरहेकैबेला गत मंसिरमा कञ्चनपुर वेदकोट–९ का एकै घरका २ भाइ रुसी सेनामा भर्ना हुन गए । एजेन्टको सहयोगमा दाइ विराजन र भाइ निराजन विष्ट नेपालबाट–दुबई हुँदै–रुस पुगे ।

रुसी सेनामा भर्ती भएपछि दुवैलाई युक्रेनको युद्धग्रस्त क्षेत्रमा खटाइयो । त्यहीक्रममा २२ वैशाखमा बंकरभित्र बम विस्फोटमा परेर दाइ विराजनको मृत्यु भयो । विराजनले भाइलाई बाहिर बस्न अह्राएर आफू बंकरभित्र छिरेका थिए । आँखैअगाडि दाइको मृत्यु भएपछि भाइ निराजनले नै मृत्युको खबर घर पठाएका थिए ।

मृत्युको पुष्टि भएपछि गत वैशाख २७ गते परिवारले नै कुशको शव बनाएर उनको अन्त्येष्टि गरे । परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार विहान विराजनको दाहसंस्कार गरे । परिवार अहिले काजकिरिया गरिरहेको छ ।

रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे पनि गत पुसमा रुस–युक्रेन युद्धमै मारिए । असोजमा रुस पुगेका पदम मंसिरदेखि युक्रेनको युद्धग्रस्त क्षेत्रबाट हराइरहेका थिए । युद्ध क्षेत्रमा जानुअघि उनले श्रीमतीलाई फोनमा भनेका थिए, ‘रूस–युक्रेनबीच युद्ध भइरहेको छ, त्यहाँ हामीलाई लड्न पठाइँदैछ । त्यहाँ मर्ने बाँच्ने टुंगो हुँदैन ।’

त्यसपछि घिमिरे सम्पर्कविहीन भए । त्यसको ४ महिनापछि श्रीमती टिनालाई श्रीमानको मृत्यु भइसकेको खबर आयो । सरकारले १ चैतमा १ गते पदमसहित ७ जनाको नाम सार्वजनिक गर्दै मृत्यु पुष्टि गरेको थियो ।

०००

रसुवाका ३७ वर्षीय सुन्दर मोक्तान परिवारलाई थाहा नदिइ रुसी सेनामा भर्ना भए । ठेक्कापट्टाको काम गर्दै आएका उनी रुसी सेनामा भर्ती भइसकेको खबर परिवारले धेरैपछिमात्रै थाहा पायो । भदौमा रुस पुगेका सुन्दर श्रीमती पातली थिङसँग भने नियमित संवादमै थिए । ‘यहाँ आएपछि फर्कन मिल्दैन, छोराछोरीलाई राम्रोसँग हेर्नू भन्नुहुन्थ्यो’, सुन्दरसँगको अन्तिम फोन संवाद सम्झिँदै थिङ भन्छिन् ।

मंसिरको अन्तिम सातापछि पातलीको श्रीमानसँग सम्पर्क टुट्यो । त्यसको २ महिना पछिमात्र ५ माघमा सुन्दरकै एकजना साथीले उनको मृत्यु भएको खबर पठाए । उनले सुन्दरको शवको फोटो र अस्पतालले दिएको मृत्युको प्रमाणपत्र परिवारलाई पठाएका थिए ।

मृत्युको खबर आएपछि परिवार शवको पर्खाइमा बस्यो । सुरुमा शव नबुझेसम्म काजकिरिया नगर्ने परिवारको अडान थियो । तर शव पाउने कुनै सम्भावना नदेखेपछि अन्ततः शवबिनै परिवारले आफ्नो धार्मिक संस्कार अनुसार काजकिरिया गरे । सरकारले भने ०८० चैतमा मात्र उनको मृत्युको खबर पुष्टि गरेको थियो ।

रुसी सेनामा भर्ना भएका नेपालीहरु मृत्यु भएको खबर दिनहुँजसो आइरहेका छन् । सरकारसँग आधिकारिक तथ्यांक नभए पनि संगठित मानव तस्करीको आडमा ठूलो संख्यामा नेपालीहरु रुसी भर्ना भएको देखिन्छ ।

सरकारी तथ्यांकमा २२ जनाको मात्रै मृत्यु

परराष्ट्र मन्त्रालयले मात्र हालसम्म रुसी सेनामा भर्ना भएका २२ जना नेपालीको मृत्यु भएको कुरा पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसस्थित नेपाली दूतावासबाट प्राप्त खबर अनुसार र कतिपय पारिवारिक स्रोतबाट गरी मृत्युको पुष्टि गरिएको जानकारी दिए ।

प्रवक्ता गुरुङ भन्छन्, ‘रुसबाट आएका नामहरुमात्र सार्वजनिक गरेका छौं । केहीचाहिँ परिवारिक स्रोतलाई आधार मानेर मृत्यु भनेर पुष्टि गरेका छौं । यद्यपि यो संख्या अझै बढी हुन सक्छ ।’

सरकारी तथ्यांकमा रुस–युक्रेन युद्धमा मारिएको संख्या २२ जनामात्रै भए पनि रुसी सेनामा भर्ना भएका परिवारको स्रोतका अनुसार थप १९ नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये ३८ जना परिवारले अन्तिम दाहसंस्कारसमेत गरिसकेका छन् भने एकजनाको शव परिवारले ल्याउने तयारीमा छ ।

रुसी सेनमा गएका नेपालीका परिवार र आफन्तीहरु ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’सँग जोडिएका छन् । अभियानकी अभियन्ता कृतु भण्डारीले केहीको शवको फोटो, अस्पतालले पठाएको ‘डेथ सर्टिफिकेट’ र रुसबाट आएको खबरकै भरमा परिवारले मृत्यु भएको कुरा स्वीकारेका छन् । ‘रुसबाट आएको शवको फोटो, मृत्युको खबरका भरमा पनि परिवारले मृत्युको पुष्टि गरिरहेका छन्’, उनले भनिन् ।

शवबिनै दाहसंस्कार

०८० कात्र्तिकमा रुसी सेनामा भर्ना भएका स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्याल रुस–युक्रेन युद्धमा अस्ताए । २२ मंसिरसम्म परिवारको सम्पर्कका रहेका उनी त्यसपछि सम्पर्कमा आएनन् । पछि रुसी सेनामै भएका साथीहरुले उनको मृत्युको खबर परिवारलाई पठाए ।

खबर अपुष्ट भएकाले परिवारलाई विश्वास गर्न मुस्किल भयो । गत पुसमा परराष्ट्र मन्त्रायलले पत्र पठाएपछि परिवारले मृत्यु स्वीकारेको थियो । परिवारको चाहना भने शव ल्याएर दाहसंस्कार र काजकिरिया गर्ने थियो । तर रुसबाट शव ल्याउन सम्भव नभएकाले परिवारले माघमा कुशको शव बनाएर, फोटो राखेर अर्यालको अन्तिम संस्कार पूरा गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भएर मृत्यु भएका भनिएकाहरुको कुनै पनि परिवार र आफन्तीले अहिलेसम्म शव पाएका छैनन् । उनीहरुले तत्काल शव पाउने संकेत नदेखेपछि परिवारले आफ्नो धर्म संस्कृतिअनुसार शवबिनै कुश र फोटोको दहासंस्कार गरेर काजकिरिया गरेका छन् ।

‘रुस–युक्रेन युद्धमा मृत्यु भएका कुनै पनि नेपालीको लाश ल्याएको छैन’, अभियन्ता भण्डारीले भनिन्, ‘शव नपाउने स्थिति भएपछि परिवारले शवबिनै काजकिरिया गर्नु परेको अवस्था छ ।’

कम्तीमा ३०० सम्पर्कविहीन, ६ जना बन्धक

सरकारसँग रुसी सेनामा गएर घाइते, बेपत्ता भएकाहरुको यकिन तथ्यांक छैन । यद्यपि, परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आएका परिवारको निवेदनका आधारमा सरकारले तथ्यांक संकलन गरिहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका परिवार र आफन्तीले सम्पर्कविहीन भएका ९९, घाइते तथा उद्धारका लागि भनेर १४२ जना गरी २८३ जना परिवारले निवेदन दिएका छन् ।

अयिभानसँग जोडिएका परिवारको स्रोतका अनुसार भने रुसी सेनामा भर्ना भएका कम्तीमा ३ सय नेपाली सम्पर्कविहीन रहेको दाबी गर्छन् । त्यसमध्ये कोही ५ महिनासम्म पनि परिवारसँग सम्पर्कमा छैनन् ।

त्यस्तै रुस–युक्रेन युद्धमा सहभागी भएका ६ नेपाली युक्रेनको बन्धकमा छन् । बन्धक हुनेमा बर्दियाका विवेक खत्री , काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने छन् । युक्रेनले नै उनीहरुको भिडियो सार्वजनिक गरेको थियो ।

त्यस्तै मन्त्रालयका अनुसार हालसम्म रुसी सेनामा भर्ती भएकामध्ये ६५ जना नेपालीहरु स्वदेश फर्केका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?