Comments Add Comment

ओलीको बडील्याङवेजः एमाले ब्याक भएको हो कि यथास्थितिमै छ ?

खासै जम्न सकेन एमाले अध्यक्ष केपी ओलीको भाषण

uml-protest-at-kathmandu-12

२२ पुस, काठमाडौं । एमालेसहित ९ दलले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभामा पूर्वप्रधानमन्त्री केपी ओलीले देशको राजनीतिक स्थितिबारे केही नयाँ कुरा बोल्छन् कि भन्ने धेरै मानिसहरुको अपेक्षा थियो । तर, ओलीको भाषण खासै जम्न सकेन ।

विभिन्न व्यंग्य र हास्यरस मिसाएर बोल्न सक्ने ओली शुक्रबारको भाषणमा समयको निकै ठूलो चापमा देखिन्थे । भाषणको वीचवीचमा उनले छोटो बोल्ने बताइरहँदा उनी तनावमुक्त भएर बोल्न सकिरहेका छैनन् भन्ने देखिन्थ्यो ।

अगाडिका वक्ताहरुले लामो भाषण गरिदिँदा ओलीले समयको चाप खेप्नु परेको हो । हुन सक्छ, यही तनावका कारणले पनि उनी भाषणमा खासै जम्न सकेनन् ।

प्रशिक्षणात्मक भाषण

एमाले अध्यक्ष ओलीको भाषण संविधानका धाराहरु र अन्य राजनीतिक विषयमा कार्यकर्तालाई प्रशिक्षण दिन तरिकाबाट सुरु भयो, तास जुवाका पत्ति फिटेको मिथकबाहेक उनले खासै धेरै उखान टुक्काहरु पनि प्रयोग गरेनन् ।

विपक्षीमाथि सन्तुलित ढंगले प्रस्तुत हुन खोज्दा ओलीको भाषण खासै आक्रामक बन्न नसकेको धेरैले महसुस गरे । उनले जति प्रशंग र शब्दहरु बोले ती सबै उनले विगतका विभिन्न कार्यक्रमहरुमा बोलेकै विषयहरु दोहोरिएका थिए । लाखभन्दा बढी मान्छे राजधानीमा उतार्ने बताए पनि लक्ष भेट्न गर्न नसकिएकोमा पनि ओलीमा केही चिन्ता देखिएको हुन सक्छ ।

ओलीको ‘बडील्याङवेज’ ले गरेको संकेत

केपी ओलीको भाषणभित्र राजनीतिक अर्थ पर्गेल्न खोज्दा के देखिन्थ्यो भने एमाले संविधान संशोधन प्रस्तावमा एक इञ्च पनि लचिलो हुने पक्षमा छैन ।

पछिल्लो समय एमाले नेताहरुले सीमांकन हेरफेरसम्बन्धी प्रस्ताव फिर्ता लिएको अवस्थामा नागरिकता, भाषा र जनसंख्याको प्रतिनिधित्वबारे छलफल गर्न सकिने बताउन थालेका थिए । एमाले सचिव योगेश भट्टराईले पनि यस्तो बताउँदै आएका थिए ।

तर, शुक्रबार केपी ओलीको भाषणमा सीमांकनमात्रै होइन, भाषा, जनसंख्या र नागरिकता कुनै पनि विषयको संशोधन एमालेले नमान्ने स्पष्ट सन्देश थियो । यी प्रस्तावहरुको औचित्यमाथि प्रश्नउठउँदै ओलीले आफ्नो सम्बोधनमा भने- ‘संसदबाट राष्ट्रिय हित विपरीतका प्रस्ताव पारित हुन दिइने छैन ।’

ओली भन्दा केही अगाडि बोलेका एमाले महासचिव ईश्वर पोखरेलले पनि प्रष्ट शब्दमा एमाले आफ्ना अडानहरुबाट पछि नहट्ने तर्क गरे ।
एमाले नेताहरुले सडकमा उत्रिएका आफ्ना कार्यकर्ताको खपतका लागि यस्तो कडा कुरा गरेका होइनन् भने उनीहरु संविधान संशोधन प्रस्तावका कुनै पनि बुँदामा सहमति गर्ने पक्षमा छैनन् भन्ने सन्देश दिएको देखियो ।

तथापि एमाले अध्यक्ष ओलीले विगतमा जस्तो संविधान संशोधन प्रस्ताव संसदमा टेबलै गर्न नदिने चाँहि भनेनन् । विगतमा उनले यो प्रस्ताव संसदमा दर्ता गर्न नदिने भन्दै आएका थिए ।

पुस २४ गते बस्ने संसदको बैठकमा सरकारले संविधान संशोधन पुस्ताव टेबल गर्ने बताइरहेका बेला ओलीले यसलाई पारित हुन नदिने मात्रै बताए । यसको यो अभिव्यक्तिले एमाले अब संसदको अवरोध हटाउने पक्षमा रहेको संकेत गरेको छ ।

मधेसी मोर्चामाथि गालीको निरन्तरता

एमाले अध्यक्ष ओलीले आफ्नो भाषणमा खुलासा गरेको नयाँ विषय भनेको फागुनको दोस्रो सातादेखि तराईमा सञ्चालन गरिने जागरण अभियान अर्थात् चुनावी अभियान हो । त्यो अभियानमा भीड लाग्ने भएकाले तस्वीर खिच्नेहरुले स्याटेलाइट प्रयोग गर्नुपर्ने उनले बताए ।

मधेसी मोर्चाका नेताहरुलाई केही न केही गाली गर्ने आफ्नो बानीलाई ओलीले शुक्रबारको भाषणमा पनि छुटाएनन् । मधेसमा मोर्चाभन्दा एमाले शक्तिशाली रहेको उनले दाबी गरे ।

एमाले अध्यक्ष ओलीले मधेसमा कस्तो अभियान चलाउने भन्ने व्याख्या गरेनन् । तर, एमाले नेताहरुले अनलाइनखबरलाई दिएको जानकारी अनुसार एमालेले अब तराई मधेसमा दुईवटा मेची-महाकाली अभियान चलाउने निर्णय गरेको छ । एउटा अभियान हुलाकी राजमार्गमा चलाइने छ भने अर्को अभियान ‘महेन्द्र राजमार्ग’ मा चलाइनेछ ।

त्यसपछि एमालेले पहाडी लोकमार्गमा पनि मधेसी कार्यकर्तालाई समेत बोलाएर तेस्रो मार्चपास अभियान चलाउने छ । यी तीनवटा अभियानलाई उसले चुनावी अभियानका रुपमा अघि डढाउने योजना बनाएको छ । र, शुक्रबार काठमाडौंमा आयोजना गरिएको शक्ति प्रदर्शन उसको चुनावी अभियानको सुरुवात हो ।

संविधान संशोधन प्रस्ताव भोटिङमा जाने संकेत

संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने एमाले नेताहरुको हुँकारसँगै अब २४ गतेको संसद बैठकअघि प्रमुख दलहरुवीच खासै समझदारी हुने सम्भावना देखिँदैन ।

यो स्थितिमा अब संशोधन प्रस्ताव संसदमा टेबुल हुने र हारजीतका लागि मतदानको प्रक्रियामा जाने सम्भावना बढेको छ । त्यो स्थितिमा एमालेको रणनीति यसलाई पारित हुन नदिनेमा केन्द्रित हुनेछ भने सत्तापक्षले यसमा दुई तिहाइ बहुमत जुटाउन प्रयत्न गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment