Comments Add Comment

साँझ परेपछि क्रिसमसको विदा दिने गृहमन्त्रालय पृथ्वी जयन्तीमा बोलेन

प्रधानमन्त्री सकारात्मक हुँदाहुँदै गृहमन्त्रीलाई कसले रोक्यो ?

prithvi-narayan-shah

२६ पुस, काठमाडौं । मंगलबार बेलुकासम्म धेरै नेपालीहरुलाई लागेको थियो, नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा पुस २७ गते सरकारी विदाको घोषणा हुनेछ ।

तर, मंगलबार साँझसम्म गृहमन्त्रालय कानमा तेल हालेर सुतेपछि अब पौष २७ मा सरकारी विदा नहुने निश्चित भएको छ ।

सरकारको क्यालेण्डरमा क्रिश्चिनहरुको महान चाड क्रिसमस डेमा राष्ट्रिय विदा उल्लेख गरिएको थिएन । क्रिश्चियन धर्मावलम्बीहरुले उक्त दिन क्रिश्चियन धर्मावलम्बीका लागिमात्रै नभएर सबैका लागि विदा दिन दबाव दिएको थियो ।

अन्ततः क्रिसमसको अघिल्लो दिन साँझ पर्नै लाग्दा गृहमन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको थियो । यसरी विदा दिनका लागि क्याबिनेट पनि बसेन र गृहमन्त्रीबाटै निर्णय भयो ।

तर, पृथ्वीजयन्तीमा सरकारी विदा घोषणा गर्नका लागि भने सरकारले निकै ठूलो कञ्जुस्याइँ गर्‍यो । क्रिश्चियनहरु भन्दा पनि ठूलो संख्यामा नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्छन् र उक्त दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने आवाज उठाउँदै आइरहेका छन् । तर, क्रिश्चियनको मागलाई सम्बोधन गर्ने सरकारले एएटा ठूलो समुदायको भावनालाई बेवास्ता गर्‍यो ।

प्रधानमन्त्रीको निरीह अभिव्यक्ति

यसैवीच प्रधानमन्त्री प्रचण्डले मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा भाषण गर्ने क्रममा पृथ्वीजयन्तीमा सरकारी विदा दिनेबारे आफू सकारात्मक रहेको बताए । नेपाल एकीकरणको जस पृथ्वीनारायणलाई नै जाने भन्दै उनले नेपाल एकीकरणकर्ताको प्रशंसासमेत गरे ।

तैपनि विदा घोषणा गर्न आफूले मात्रै नसक्ने र यसका लागि सहमति हुनुपर्ने भन्दै मुलुकको कार्यकारी अधिकार प्रयोग गर्ने प्रधानमन्त्रीले लाचारी प्रकट गरे ।
पृथ्वी जयन्तीमा सरकारी विदा दिन आफू सकारात्मक रहे पनि निर्णय गर्न नसक्ने प्रधानमन्त्रीको घोषणा अनौठो छ ।

क्रिसमसमा सरकारी विदा दिन गृहन्त्रालयले नै रातारात वक्तव्य निकाल्न सक्ने तर पृथ्वी जयन्तीमा प्रधानमन्त्रीले नै चाहेर पनि विदा दिन नसक्ने अभिव्यक्ति आउनुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

यसबारे गृहमन्त्रालय स्रोत भन्छ- ‘प्रधानमन्त्रीले चाहेको अवस्थामा विदा दिन नसक्ने भन्ने हुँदैन । क्रिसमसमा जस्तै गृहमन्त्री आफैंले चाहेको भए पनि विदा घोषणा गर्न सक्थ्यो । तर, मंगलबार साँझसम्म गृहमन्त्रालय मौन बसेकाले अब बुधबार सरकारी विदा घोषणा हुने सम्भावना लगभग टरेको छ ।’

सामाजिक सञ्जालमा प्रश्न- मुखर्जी आउँदा विदा, पृथ्वीजयन्तीमा किन ?

मंगलबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले सार्वजनिक विदा दिएकोमा आलोचना गर्नेहरु प्रशस्तै थिए । मुखर्जी आउँदा सरकारी विदा घोषणा गर्ने प्रचण्ड सरकारले पृथ्वी जयन्तीमा सरकारी विदा नदिने निर्णय गरेको भन्दै सरकारको आलोचना गर्नेहरु पनि देखिएका छन् ।

पृथ्वी जयन्तीमा सरकारी विदा दिइनुपर्ने माग गर्नेहरुमा राप्रपा समर्थकहरुमात्रै होइन, कांग्रेस र एमाले निकट जनमानस पनि देखिएको छ ।

राप्रपाले चियापान गर्ने

यसैवीच कमल थापा नेतृत्वको राप्रपाले पृथ्वी जयन्तीको अवसरमा बुधबार दिउँसो भृकुटीमण्डपमा चियापान समारोह आयोजना गर्ने भएको छ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि आयोजना गरिएको चियापानमा प्रधानमन्त्रीदेखि लिएर प्रमुख दलका शीर्ष नेताहरुलाई समेत बोलाइएको राप्रपाले जनाएको छ ।

राप्रपाले प्रत्येक वर्ष पृथ्वीजयन्तीको अवसरमा चियापान समारोह आयोजना गर्दै आएको छ ।

पृथ्वीनारायण शाहमाथि बहस

पृथ्वीनारायण शाहको सम्झनामा प्रत्येक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने प्रचलन रहँदै आएकोमा गणतन्त्र आएपछि सरकारले विदा दिने प्रचलन हटाएको हो । गणतन्त्रमा राजा महाराजका नाममा विदा दिने प्रचलन अनुपयुक्त भएकाले विदा कटौती गरिएको सरकारी पक्षको तर्क छ ।

अर्कोतर्फ कतिपय मधेसी, आदिवासी-जनजाति समूहको प्रतिनिधित्व गर्ने दलका नेता तथा कार्यकर्ताहरु पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमै स्वीकार्न हिच्किचाउँछन् । उनीहरु पृथ्वीनारायणले बलपूर्वक खस राज्यको स्थापना गरेको र अन्य जातिलाई दमन गरेको हुनाले उनलाई राष्ट्र निर्माता हैन कि साम्राज्यवादी एवं दमनकारी व्यक्तिका रुपमा लिने गर्छन् ।

मधेसमा पनि विखण्डनबारी सिके राउतले यस्तो विचार राख्छन् । र, कतिपय मधेसी मोर्चाका नेताहरु पनि सिके राउतकै विचारलाई अन्धसमर्थन गर्दै पृथ्वीनारायणको निन्दा गर्ने गर्छन् ।

‘विदा दिनुमात्रै सम्मान होइन’

त्यसो त केही मानिसहरुको तर्क के पनि छ भने पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै हुन् । उनलाई सम्मान पनि गर्नुपर्छ र राष्ट्रले सम्झनु पनि पर्छ । तर, यसका लागि सरकारी विदा नै दिनु सही तरिका होइन । बरु अन्य कृष्णजन्माष्टमी इत्यादिमा दिइने विदाहरुसमेत कटौती गर्ने बाटो अपनाउनुपर्छ भनेर अभिमत राख्नेहरु पनि पाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment