+
+

जनयुद्धको उपलब्धि उल्टाउन ठूलै शक्ति लागेको भरपर्दो सूचना छः प्रचण्ड

'स्ववियु चुनाव जनमत नाप्ने व्यारोमिटर'

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते १७:००

prachanda-(4)

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धीहरु उल्टाउन ठूलै शक्ति क्रियाशील भइरहेको बताएका छन् । त्यसका भरपर्दा सूचनाहरु आफूसँग रहेको पनि उनले दाबी गरे ।

पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले उपलब्धी रक्षाका लागि माओवादी पहिलो पार्टी बन्नैपर्ने बताए ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका एजेण्डाहरु माओवादी जनयुद्ध र त्यसको बलमा भएको दोस्रो जनआन्दोलनको उपलब्धी हो भन्दै उनले त्यसलाई उल्ट्याउने कोशिस भइरहेको बताए । त्यसको चिन्ता सबभन्दा बढी माओवादीलाई भएको भन्दै उनले उपलब्धी रक्षा गर्नुपर्ने चुनौतिपूर्ण घडीमा आफूहरु रहेको बताए ।

‘जे जति उपलब्धीहरु छन् । ति सबै माओवादीका कारण सम्भव भएका हुन्,’ प्रचण्डले भने, ‘ठूला भनिएका दलहरुले यो ल्याएको पनि होइन, उनीहरुलाई त्यसको चिन्ता पनि छैन ।’

विगतमा हतियार नउठाएको पार्टी ठूलो नबनेको भन्दै प्रचण्डले कांग्रेसले हतियार उठाउँदा र एमालेले हतियार उठाउँदा पनि मान्छेहरु मरेको चर्चा गरे । माओवादीले हतियार उठाउँदा झन् धेरै व्यक्तिको रगत बगेको भन्दै उनले विगतको बलिदानी सम्झिँदै अहिलेका उपलब्धीको रक्षा गर्नु पर्ने बताए ।

आगामी चुनाबमा पहिलो पार्टी बन्ने लक्ष्यसहित क्रियाशील हुन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । स्थानीय तहको चुनाब चैतमा नहुने लगभग पक्का भइसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी बैशाख वा जेठ पहिलो साता चुनाब गराउनैपर्ने तयारीका साथ सरकार क्रियाशील रहेको धारणा राखे ।

स्ववियु चुनाव जनमत नाप्ने व्यारोमिटर हो भन्दै उनले कुनै द्विविधा नराखिकन स्ववियु चुनावमा होमिन निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘स्ववियु चुनावमा होमिनुस् र पहिलो बन्ने कोशिस गर्नुस् ।’

उनले सबै माओवादी पार्टीहरुबीच एकता हुने भन्दै एकता प्रक्रियामा नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि एकता नजिक रहेको दाबी गरे ।

हामी हाम्रै कमजोरीले खुम्चिऔं । गल्ती कमजोरी कहाँ भन्ने भन्ने पनि थाहा छ, त्यसलाई सच्याइन्छ,’ प्रचण्डले भने, ‘फेस सेभिङ गरेर विप्लव जीसँग पनि एकता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?