Comments Add Comment

प्रचण्डले भने-राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन

'विदेशमा रहेका नेपालीहरुका समस्या समाधान प्राथमिकतामा'

pm-prachand-at-abudhabi

२ माघ, काठमाडौं । दशौं विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन युएई आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । आवुधावीस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुका समस्या समाधानलाई सरकारले प्राथमिकता दिएको बताए ।

‘मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘तपाईंहरुले यहाँ हासिल गरेको अनुभव र पुँजी नेपालको विकासको लागि आधारशिला हो, पुँजी हो । तपाईंहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम सरकारले गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘हामीले केही गर्न खोजेका छौं । यस्तो अवस्थामा सबैको साथ जरुरी छ । तपाईहरुको साथ पाएको छु, विकास र पूर्वाधार निर्माणमा तपाईहरुको थप सहयोग र सदभावको अपेक्षा गरेको छु ।’

विदेशमा बस्ने नेपालीहरुले भोग्नुपरेका समस्या समाधान गर्न कुटनीतिक र राजनीतिक रुपले पहल गर्ने उनले आश्वासन समेत दिए ।

राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ । सम्वाद सकारात्मक दिशामा छ ।’
उनले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गरिने दोहोर्‍याए ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्दि्रत गर्न खोजेको जानकारी दिए । ‘हामीले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ,’ उनले भने ।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए ।

भेटमा सहभागी नेपालीहरुले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment