Comments Add Comment

उत्तर प्रदेशको आसन्न चुनावः मुखर्जीलाई ‘रिप्लेस’ गर्ने मोदीलाई मौका

पाँच राज्यको निर्वाचनलाई लोकसभाको सेमिफाइनलका रुपमा हेरिँदै

mukharjee-and-modi

३ माघ, नयाँदिल्ली । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पाँच वर्षे कार्यकाल आगामी जुलाइ २५ मा सकिँदैछ । उनी कांग्रेसका तर्फबाट राष्ट्रपति बनेका हुन् । उनको ठाउँमा अब नरेन्द्र मोदीले बीजेपीबाटै राष्ट्रपति बनाउने लक्ष्य लिएका छन् । र, यसका लागि अर्को महिना हुने पाँच राज्यको चुनावले निर्णायक अर्थ राख्ने छ ।

आगामी फेब्रुअरी ४ देखि मार्च ८ सम्म भारतका विभिन्न ५ राज्यमा विधानसभा निर्वाचन हुँदैछ । यी चुनावलाई धेरैले मोदीको नोटबन्दीको जनमत संग्रहका रुपमा मात्रै होइन, आगामी लोकसभा चुनावमा बीजेपीको स्थिति अनुमान लगाउने’सेमी फाइनल’का रुपमा समेत हेरेका छन् ।

चुनावको माहौलमा रहेका ५ राज्यमध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशको विधानसभा निर्वाचन निकै रोचक हुनेछ । ४ सय ३ सीटको उत्तर प्रदेशको निर्वाचन ७ चरणमा हुनेछ । यो निर्वाचन मोदीका लागि एउटा ठूलो परीक्षा सावित हुनेछ । चुनाव हुन लागेका प्रदेशहरुमध्ये सबैभन्दा ठूलो आकर्षण उत्तर प्रदेशको निर्वाचनमै छ ।

उत्तर प्रदेशमा जस्तै गोवा र पञ्चावको निर्वाचन आगामी फेब्रुअरीमै हुन गइरहेको छ भने उत्तराखण्डको निर्वाचन फेव्रुअरी १५ मा हुने छ । मणिपुरको चुनाव मार्च ८ मा हुँदैछ ।

राज्य सभामा कुनै पनि पार्टीको प्रभाव बढाउन समेत यी निर्वाचन महत्वपूर्ण सावित हुने देखिन्छ, जहाँ विधान सभाबाट अप्रत्यक्ष रुपमा चुनिएर आउने इलेक्ट्रोरल कलेजको प्रावधान रहेको छ । सत्तारुढ बीजेपीले माथिल्लो सभामा आफ्नो स्पष्ट बहुमत नहुँदा आफूले चाहेजसरी आर्थिक योजनाहरुलाई अगाडि बढाउन नपाएको बताइरहेको छ ।

साथै उत्तर प्रदेशको निर्वाचन जितेमा मोदीका निर्णयहरुको अनुमोदन मात्रै हुने छैन, भारतीय जनता पार्टीका लागि आगामी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत सहज हुनेछ । उत्तर प्रदेश राष्ट्रपतीय चुनावका लागि सबैभन्दा बढी भोट भएको राज्य हो ।

यदि विधानसभामा बढी सीटहरु जितेमा आगामी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बीजेपीलाई आवश्यक पर्ने मत संख्यासमेत मजबुत हुनेछ ।

मोदीको नीतिको समेत परीक्षा हुँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच वर्षे कार्यकाल आधा पूरा भएको छ । उनी प्रधानमन्त्री बनेको साँढे दुई वर्षमै भारतमा नयाँ लोकसभा चुनावको चर्चा परिचर्चा हुन थालेको छ । यस अवधिमा मोदीले लिएका निर्णयहरुका बारेमा विभिन्न कोणबाट बहस भइरहेका छन् ।

तर, दुई महिना अगाडि लिइएको पाँच सय र हजारको नोटहरु रद्ध गर्ने निर्णय यतिवेलाको तातो बहस हो । कतिपयले यसलाई मोदीको राजनीतिक जुवा भनेका छन् र त्यसको नतिजा आगामी लोकसभा निर्वाचनमा देखिने बताइरहेका छन् । यस अवधीमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा विधान सभाको निर्वाचन हुन गईरहेको छ ।

हाल आफै जितेर अथवा क्षेत्रीय दलहरुसँग सहकार्य गरेर बीजेपीले २९ वटा राज्यहरुमध्ये १४ मा शासन चलाइरहेको छ । मोदीको नोटबन्दी निर्णयले कालोधनलाई नियन्त्रण गरेको, आतंकवादलाई नियन्त्रण गरेको तथा कर छलीलाई करको दायरामा ल्याएको विश्लेषण उनका समर्थकहरुको छ । साथै नक्कली नोटको जालोलाई भत्काएको भनी सत्तारुढ भारतीय जनता पार्टीले यसलाई निर्वाचनको नारा बनाए पनि विपक्षी दलहरुले यसले सामान्य जनतालाई परेको दुःख तथा कष्टलाई चुनावी एजेन्डा बनाएका छन् ।

विपक्षीहरुले भने मोदीको नोटबन्दीको कदमले गरिवहरु बढी प्रभावित भएको तथा देशको अर्थतन्त्रलाई नै डामाडोल बनाएको बताइरहेका छन् ।

उत्तर प्रदेशमा घम्साघम्सी

गत लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी निकट रहेको स्वयंसेवक संघको आक्रामक अभियानका कारण उत्तर प्रदेशमा बीजेपीले नाटकीय ढंगले निर्वाचन जितेको थियो । यसपालि पनि आफ्नो अवस्था राम्रो हुनेमा भारतीय जनता पार्टी आश्वस्त देखिन्छ ।

समाजवादी पार्टीभित्रको विवादले गर्दा आफ्नो अवस्था अझ राम्रो हुनेमा भाजपा विश्वस्त देखिन्छ । त्यसैगरी यही फेव्रुअरी महिनामा घोषणा हुने केन्द्रीय बजेटले पनि आफ्नो अवस्था सृदृढ हुनेमा आशामा बीजेपी देखिन्छ ।

तर, उत्तर प्रदेशमा मायावतीले नेतृत्व गरेको वहुजन समाज पार्टीसँग बीजेपीको कडा प्रतिस्पर्धा हुने देखिएको छ । विशेषतः मुस्लिम तथा दलितहरुको धेरै भोट मायावतीको पार्टीलाई जाने देखिन्छ । तर, विपक्षी काँग्रेसको अभियानले भने यस क्षेत्रमा खासै असर गरेको देखिँदैन ।

भारतीय नेसनल काँग्रेसका नेता राहुल गान्धी यतिवेला विदामा छन् जसले गर्दा कांग्रेसको अभियान अलपत्र परेको छ ।

पञ्जावमा केजरीवालको समेत उपस्थिति

arvind-kejariwal

पञ्जावमा शिरोमनी एकाली दलले निरन्तर दुई निर्वाचन जितिसकेका कारण त्यहाँ नयाँ विकल्पका सम्वन्धमा बहश भइरहेको छ । त्यसैगरी चण्डीगढको कृषिको समस्याको कमजोर व्यवस्थापन, नातावाद तथा भ्रष्टाचारका लागि नयाँपार्टीको खोजीमा मतदाताहरु रहेको विश्लेषणहरु सार्वजनिक भइरहेका छन् ।

सन् २०१४ को निर्वाचनमा आम आदमी पार्टीले पञ्जावमा राम्रो भोट ल्याएको थियो । तर विगत ३ वर्षमा सो पार्टीले आफ्नो गतिविधिलाई दिल्लीमा मात्रै केन्दि्रत गरेकाले उसले राम्रो मत ल्याउनेमा आशंका बढेको छ ।

पञ्जाव प्रदेशमा विपक्षी काँग्रेसभित्र विवाद देखिएको छ । त्यहाँ क-कसलाई टिकट दिने भन्ने उसले ठोस निर्णय गर्न सकेको छैन ।

उत्तराखण्डमा कांग्रेसको नाडी जाँचिने

उत्तराखण्डमा भने भाजपा र काँग्रेसको वीचमा कडा प्रतिपस्पर्धा हुने देखिन्छ । विभिन्न कारणले गर्दा चर्चामा आइरहने उत्तराखण्डमा यस अगाडि ७० सदस्यीय निर्वाचनमा कांग्रेसका हरिश रावत ३६ सीट ल्याएर मुख्यमन्त्री बनेका थिए ।

गत वर्ष मात्रै विभिन्न समस्याका कारण यो प्रदेशमा राष्ट्रपतीय शासन लागेको थियो, जसको काँग्रेसले तिव्र विरोध गरेको थियो । यो प्रदेशका विपक्षी काँग्रेसभित्र विवाद रहे पनि उसको अवस्था भने राम्रो रहेको छ ।

उता गोवाको अवस्था स्पष्ट छैन । त्यहाँ आफू पुनः सत्तामा आउनका लागि बीजेपीले प्रयास गरिरहेको छ भने अन्य दलरुको अवस्था पनि मजबुद छ । यस प्रदेशमा आम आदमी पार्टी पनि प्रवेश गर्ने तयारी गरिरहेको छ । त्यस्तै मणिपुरको अवस्था के हुन्छ भन्न सकिने अवस्था छैन ।

जे होस् यी पाँच प्रदेशमा हुन गइरहेको निर्वाचनलाई सन् २०१९ मा हुने लोकसभा निर्वाचनको सेमिफाइनलको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment