Comments Add Comment

राजदरबार अगाडि आत्मदाहको निर्णय गर्दा

'समीक्षा' पत्रिकाको ३६ वर्ष

madan-mani-dixit-810

मैले ०१६ सालमा ‘समीक्षा’ पत्रिका निकाल्न सुरु गरेको थिएँ । त्यसको एक वर्षपछि पञ्चायती व्यवस्था आएसँगै दुःखका दिनहरु सुरु भइहाले ।

सरकारमा जोसुकै आओस्, उसले ‘समीक्षा’ साप्ताहिकलाई आफ्नो सशक्त विरोधी पक्षको अखबार ठान्योे । त्यही सोचले बन्द गरियो । बेला-बेला बन्द हुन्थ्यो, कुनै बेला खुल्थ्यो पनि । पत्रिका नौ पटकसम्म बन्द भयो ।

०१७ सालमा ‘समीक्षा’सहित सात वटा अखबारलाई प्रतिबन्ध लगाइएको थियो ।

मलाई लाग्छ, त्यसबेला राजालाई पनि पञ्चायत व्यवस्था के हो र कसरी चलाउनुपर्छ भन्ने विषयको जानकारी र अनुभव थिएन । यसैले जथाभावी रुपमा पत्रिका बन्द गर्ने र मान्छे पक्रने काम भइरहेको थियो ।

पत्रकारिता यात्राको क्रममा म पनि नौ महिनासम्म जेल परेँ । एक पटक लगातार सात महिना र त्यसपछि दुई-चार दिन गर्दै चार-पाँच पटक पक्राउ गरियो ।

उसले भन्यो, ‘भोलाप्रसाद जोशी भन्ने दरबारका मान्छेबाटै खबर आएको छ, तपाईं भूमिगत बस्नुस् रे । पक्राउ नपर्नू रे ।’

मलाई खोज्न धानको भकारी समेत फोडेछन्

मलाई खासगरी विश्वबन्धु थापाले बढी दुःख दिए ।

त्यसबेला विश्वबन्धु गृहमन्त्री थिए । ०१७ सालको चैतमा उनले आफ्ना दूतहरु परिचालन गर्दै मदनमणि जहाँ भए पनि पक्रेर ल्याऊ भनेर आदेश दिएछन् ।

मलाई किन पत्रिका बन्द गर्ने पुर्जी पठाइयो भनेर सोध्न म अञ्चलाधीशकहाँ गएको थिएँ । राजा महेन्द्रका सचिवले मलाई खोजेका रहेछन् । यसै क्रममा मेरो भाइ महेशमणि आयो । उसले भन्यो, ‘भोलाप्रसाद जोशी भन्ने दरबारका मान्छेबाटै खबर आएको छ, तपाईं भूमिगत बस्नुस् रे । पक्राउ नपर्नू रे ।’

दरबारको आशय के रहेछ भने, पञ्चायत व्यवस्थाले पार्टीहरुमाथि प्रतिबन्ध लगायो, अब अखबारहरु पनि बन्द गर्न थाल्यो । पत्रकार पक्राउ गर्न थाल्यो । यसले पञ्चायती व्यवस्थाको त झन् बदनामी हुन्छ ।

त्यसैले मलाई पक्राउ नपर्नू भनेर भन्न पठाइएको थियो ।

अञ्चलाधीशको कार्यालयबाट निस्किएँ । त्यसबेला न्युरोडको प्युखा टोलमा बस्थेँ । त्यहाँ मेरो नाता पर्ने दुई जना विधवाको घरमा डेरा गरी बस्थेँ । त्यता नगई म इन्द्रचौकमा एउटा मुसलमानको घरमा भूमिगत भएँ ।

उता विश्वबन्धुले जसरी भए पनि मदनमणिलाई पक्रिनु भन्ने आदेश पाएका मान्छेहरुले धुइँधुइँती खोजिरहेका थिए । मलाई खोज्ने नाममा प्युखा टोलमा म बसेको घरमा भाँडभैलो गरेछन् । घरको बुइँगलमा धान राखेको ठूलो भकारी थियो । धान सुरक्षित राख्न माथिबाट गोबरको पत्रले छोपिएको थियो ।

म त्यहाँ लुकेको छु कि भनेर भकारी समेत फोडेर खोजेछन् । त्यो त पागलपनको पराकाष्ठा नै थियो । उनीहरुले त्यो घरमा सबै भताभुंग पारिदिएछन् ।

madan-mani-dixit-1

राजाबाट आममाफी घोषणा भइसक्दा पक्राउ परेँ

भूमिगत अवस्थामा बसिरहँदा अब अञ्चलाधीशकहाँ जान्छु भन्ने सोच बनाइरहेको थिएँ । त्यसै क्रममा राजा महेन्द्रले ०१८ साल असार १ गते आममाफी घोषणा गरेका थिए । त्यो घोषणा भएपछि मैले अञ्चलाधीशकहाँ जाने कुरा भएन ।

म लुक्न छाडेर भोलिपल्टदेखि नै बाहिर निस्किन थालेँ । म सडकमा हिँडिरहेको कतैबाट विश्वबन्धुले थाहा पाएछन् । उनले अञ्चलाधीश विश्वमणि आचार्यलाई फोन गरेछन्, ‘मदनमणि सडकमा देखा परिराखेको छ, उसलाई तुरुन्तै पक्राउ गर्नू ।’

अञ्चलाधीशले जवाफ दिए, ‘सरकारबाट हिजो भर्खर आममाफी घोषणा भएको छ, मैले कसरी पक्राउ गर्ने ?

विश्वबन्धुले भनेछन्, ‘त्यसो भए सरकारको कारणबाट मैले पक्राउ गर्न सकिनँ भनेर लेखेर पठाउनू मलाई ।’

त्यसपछि म खुला रुपमै सामान्य दिनहरु गुजार्न थालेँ । त्यसको तीन महिनापछि असोज महिनाको एकदिन न्युरोडतिर टहलिँदै थिएँ । मसँग एक जना साथी पनि थिए । हिँड्दै गर्दा एक जना मान्छेले च्याप्प मेरो दाहिने हात समात्दै ‘तपाईं मदनमणि आचार्य दीक्षित होइन’ भनेर सोध्यो । मैले ‘हो’ भनेँ ।

उनले भने, ‘तपाईंलाई पुलिसका अधिकृतले बोलाएका छन् ।’ मलाई थाहा भइहाल्यो, म अब पक्राउ परेँ ।

मैले साथीलाई आग्रह गरेँ, ‘मलाई त पक्राउ गरे, घरमा खबर गर्दिनू है ।’

जेलरलाई भनेँ- मलाई यसरी खुकुलो पारेर नराख

मलाई रानीपोखरी नजिकैको प्रहरी चौकीमा लगेर थुने । २२ दिनसम्म त्यहाँ राखे ।

जेलरको सामुन्नेमै मैले राजालाई चिठी लेखेँ, ‘सरकार, मलाई अनाहकमा यसरी थुनामा राखिएको छ । मलाई फागुन ७ गतेसम्ममा रिलिज गरिदिनुभए उचित हुन्थ्यो । अन्यथा म जीवन अन्त्य गर्ने बाटाहरु खोज्नेछु

थुन्ने पनि तरिका हुन्छ, मलाई कताकता चित्त बुझिराखेको थिएन । एकदिन मैले त्यहाँको राणा थरका पुलिस अफिसरलाई त्यसबारे भनेँ, ‘मलाई जुन कोठामा थुनेर राख्नुभएको छ, त्यो कोठाको ढोकामा बस्ने पाले दिउँसो एक घन्टा निदाउँछ, राति पनि दुई घन्टा जति निदाउँछ । त्यो बेलामा म झ्यालबाट सुटुक्क भाग्न सक्छु । राज्य व्यवस्थामा राजाले थुनेको व्यक्ति यसरी भाग्नु उचित हुँदैन । तपाईंहरुले यसरी खुकुलो नगर्नुस् ।’

त्यसपछि मलाई जेल सरुवा गरेर सुन्धाराको सेन्ट्रल जेलमा राखियो । कुनै कसुर बिना नै जेलमा बस्नुपरेकोमा असहज लागिरहेको थियो ।

फागुन ३ गते मेरो भाइ महेशमणि मलाई भेट्न आएको थियो । प्रमुख जेलरको सामुन्नेमै मैले राजालाई चिठी लेखेँ, ‘सरकार, मलाई अनाहकमा यसरी थुनामा राखिएको छ । मलाई फागुन ७ गतेसम्ममा रिलिज गरिदिनुभए उचित हुन्थ्यो । अन्यथा म जीवन अन्त्य गर्ने बाटाहरु खोज्नेछु ।’

भाइले पर्सिपल्ट दरबारमा चिठी पुर्‍याएछ ।

वास्तवमा मलाई थुन्ने कुनै कारण नै थिएन । पुर्जी पनि दिएको थिएन । दरबारबाट खबर आएछ क्यार, मलाई फागुन ७ गते थुनामुक्त गरियो ।

दरबार र प्रधानमन्त्रीले मुसो झैं खेलाए

पञ्चायतको समयमा ६ महिना, वर्ष दिनमा पत्रिका बन्द भइरहन्थ्यो । निहुँ पनि त्यति ठूलो चाहिँदैनथ्यो ।

बन्द गराउनेमा ०१७ सालदेखि नै विश्वबन्धु थापा अगाडि रहे । डा. तुल्सी गिरी सल्लाह दिन्थे, तर आफू चाहिँ अगाडि देखिँदैनथे ।

समीक्षा बन्द भएको बेलामा ०३२ सालमा मैले धेरै जना मन्त्रीकहाँ गएर भनसुन गरेँ । सरकारको विरुद्धमा के लेखिएको छ पत्रिकामा, अनाहकमा किन बन्द गरेको भनेर सोध्थेँ । तर, कसैले ठोस जवाफ दिन्थेनन् ।

०३४ साल मंसिरको २९ गते मैले एउटा निर्णय गरेँ, भोलि दिउँसो चार बजे राजदरबारको मूल गेट अगाडि म आत्मदाह गर्छु । राज्यको अन्यायको विरोधमा जिउमा पेट्रोल छर्केर सिद्धिन्छु

तुल्सी गिरी प्रधानमन्त्री हुँदा ०३३ सालमा उनलाई पनि बालुवाटारमा भेटेर सोधेँ । उनले भने, ‘तपाईंको अखबार बन्द गर्ने साहस हाम्रो मन्त्रिपरिषदमा छ र ? बरु राजदरबारमा गएर कुरा गर्नुस् ।’

राजदरबार कुन माध्यमबाट जानु ? राजा वीरेन्द्रका प्रमुख संवाद सचिव चिरन सम्सेर थापाकोमा गएँ । तुल्सी गिरीले भनेको व्यहोरा उनलाई सुनाउँदै सोधेँ, ‘भन्नुस्, यो अवस्थामा अब मैले के गर्ने ?’

उनले भने, ‘मदनमणिजी, नेपालको सवा करोड जनसंख्याको राजा तपाईं एक जना व्यक्तिको पछाडि लाग्छन् होला ? यो पनि कहीँ हुने कुरा हो ?’

उनको भनाइ एक हिसाबले ठीकै लाग्यो । यसपछि म फेरि तुल्सी गिरीकोमा गएर चिरन सम्सेरले भनेको कुरा सुनाएँ । गिरीले आफ्नो उही पुरानै गन्थन दोहोर्‍याए । कहाँनेरबाट अखबार रोकिएको भनेर पत्तो पाउनै गाह्रो भयो ।

एउटालाई भन्दा अर्कोलाई देखाउने क्रम पटकपटक चलिरह्यो । यसरी दरबार र प्रधानमन्त्रीले मलाई मुसो झैं खेलाए ।

madan-mani-dixit-2

दरबार अगाडि आत्मदाह गर्ने सोच

यस्तो दुई-तीन पटक भएपछि म हैरान भएँ । हदै निराश भएपछि ०३४ साल मंसिरको २९ गते मैले एउटा निर्णय गरेँ, भोलि दिउँसो चार बजे राजदरबारको मूल गेट अगाडि म आत्मदाह गर्छु । राज्यको अन्यायको विरोधमा जिउमा पेट्रोल छर्केर सिद्धिन्छु ।

त्यसबेला भियतनाम, कम्बोडिया, श्रीलंका लगायत मुलुकमा आत्मदाहको प्रचलन थियो । मैले त्यसबाट प्रेरणा लिएर त्यही शैली अपनाउने मनैमन निधो गरेँ ।

यही सोच्दै राति सुतेँ । बिहान साढे ४ बजे उठेँ । अब मेरो जीवनमा जम्मा ११ घन्टा बाँकी छ भन्ने लाग्यो । फेरि केही बेर ढल्किएर पाँच बजे उठेँ । नेपालमा रहेका विदेशी पत्रकारहरुलाई टेलिफोनमा अर्कैको स्वर बनाएर आज दरबारको अगाडि ठूलो घटना हुन्छ, हेर्न इच्छा छ भने आउनुस् भन्छु भन्ने सोचेँ ।

त्यति विचार गरेर सुतेपछि एक घन्टापछि फेरि बिउँझिएँ । मनमा उठ्यो, ‘समीक्षा’माथि अन्याय गर्ने को हो ? त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्री कि म ? पत्रिका बन्द गर्ने अपराध गर्ने उनीहरु अनि सजाय चाहिँ मैले आफूलाई दिने ? सजायको सिद्धान्तले यो मिल्दैन भनेर आत्मदाहको निर्णय त्यागेँ ।

पुस १ को त्यो दिन बरु अर्कै विशेष दिन बन्यो मेरो निम्ति । कोठामा बसेर नेपालको साहित्यिक इतिहासमा नभएको कुरा लेखेर देखाउँछु भन्ने सोच भयो । त्यही दिन दिउँसो ४ बजेदेखि ऋग्वेदकालीन विषयमा ‘माधवी’ उपन्यास लेख्न बसेँ ।

वीरेन्द्रले ऐश्वर्यलाई ‘धर्मपत्नी’ भन्दा काण्ड !

पत्रिका बन्द नभएको समयमा पनि मैले स्पष्टीकरणको लागि अञ्चलाधीश र सिडिओलाई भेट्न गइरहनुपथ्र्यो । २९ पटकसम्म अञ्चलाधीशकहाँ र १० पटकभन्दा बढी सिडिओ कार्यालयमा गएर बयान दिनुपर्‍यो ।

बन्द गर्न सरकारबाट जम्मा एक लाइन लेखेको पुर्जी आउँथ्यो, ‘आजका मितिबाट अखबार र प्रेसमा प्रतिबन्ध लगाइयो ।’

मेरो त्यो जवाफ पाएपछि र गोरखापत्रमा समेत मेरी धर्मपत्नी भनेर लेखेपछि मलाई छुने कुरा भएन । अञ्चलाधीश हिस्स परेर अहिले जानुस् भने ।

०२८ माघ १६ मा महेन्द्रको अवसानपछि वीरेन्द्र विधिवत राजा भए । उनको शाही वक्तव्यका क्रममा ‘म र मेरी धर्मपत्नी’ भनिएको थियो । त्यसपछि बैशाख १ गते जनताको नाममा दिएको सन्देशमा पनि त्यही शब्द प्रयोग गरियो ।

त्यसबारे मैले पत्रिकामा लेखेँ, ‘के भएको यो ? राजाले धर्मपत्नी भन्ने त कुरा आउँदैन । राजाको महारानी वा बडामहारानी हुन्छ । नेपालको परम्परालाई राजाले बिगारे ।’

अञ्चलाधीश विश्वमणि आचार्यले मलाई डिल्लीबजार सदरखोरको अफिसमा बोलाएर त्यसबारे सोधे । त्यहाँ उनले पत्रिका बन्द गर्न मलाई बोलाएका थिए ।

मैले हच्किने कुरै थिएन । भनेँ, ‘अञ्चलाधीशज्यू, त्यो मैले लेखेको होइन । तपाईं पुराना अखबार पढ्नुस् । अझ सरकारी अखबार गोरखापत्र नै हेर्नुस् । राजाको वक्तव्यमा रानीलाई मेरी धर्मपत्नी भनिएर सम्बोधन गरिएको छ । मैले त्यही कुरा लेखेको हुँ ।’

मेरो त्यो जवाफ पाएपछि र गोरखापत्रमा समेत मेरी धर्मपत्नी भनेर लेखेपछि मलाई छुने कुरा भएन । अञ्चलाधीश हिस्स परेर अहिले जानुस् भने ।

तुल्सी गिरीले भने- पञ्चायत दलविहीन व्यवस्था नै होइन

निर्दलीय पञ्चायत मलाई कसैगरी चित्त बुझेको थिएन । त्यही कुरा म पत्रिकामा उठाइरहन्थे । म बारबार लेख्थेँ, ‘नेपालीलाई राजसंस्थाको नेतृत्वको महत्व थाहा छ । त्यो नेतृत्व नेपालीले स्वीकार पनि गर्छन् । तर, दलविहीन पञ्चायती व्यवस्था भनेको फजुल कुरा हो । दलविहीन भन्ने कुनै कुरा हुँदै हुँदैन ।’

०२० सालतिर पत्रिका बन्द भएको बेलाको कुरा हो, म तुल्सी गिरीलाई भेट्न गएँ । उनलाई हप्ता-दस दिनमा भेटिरहन्थे । पत्रिका बन्द गर्नुको कारणसँगै अरु राजनीतिको कुरा पनि हुन्थे ।

मैले पञ्चायत निर्दलीय भएर ठीक भएन भन्दा गिरीले भने, ‘यो पञ्चायत भनेको दलविहीन व्यवस्था नै होइन । भन्नको निम्ति दलविहीन व्यवस्था भनिएको छ । तर, यसमा दल छ । यो पञ्चहरुकै दल हो । दलीय व्यवस्था त हुँदै हो नि ।’

उनले त्यो समय मलाई आफ्नो मातहतमा राज्यमन्त्री हुन प्रस्ताव पनि गरिरहेका थिए । राज्यमन्त्रीमा आउनुस्, सरकारमा जाहेर गर्छु भन्थे ।

मैले भनेँ, ‘डा. साब, त्यसो भए पञ्चायत भनेको दलविहीन व्यवस्था हैन, एकदलीय व्यवस्था हो भनेर लेखेर वक्तव्य दिनुस् । त्यही बेला म मन्त्री हुन आउँला ।’

उनले भने, ‘त्यसो चाहिँ गर्न सक्दिनँ ।’

उनले त्योभन्दा पहिले सहायक मन्त्रीमा आउनुस् भनेर कर गरेका थिए । मैले एउटा कानले सुनेँ, अर्को कानले उडाइदिएँ । जवाफ पनि दिइनँ । त्यसपछि राज्यमन्त्रीसँगै अरु प्रस्ताव आउने क्रम जारी रह्यो ।

मेरा भानिज शैलेन्द्रकुमार उपाध्याय मन्त्री थिए । उनी मार्फत पनि प्रस्ताव आयो । एक बिहान उसकहाँ गएर फर्किँदा गाडीमा सँगै निस्किँदै थियौं, उनले मामा रुसमा राजदूत भएर जानुस् भने ।

त्यसबेला विशेषगरी पैसा कमाउन नै मन्त्री र राजदूतहरु नियुक्ति हुन्थे । त्यसको लागि मैले पत्रकारिता कर्मलाई बलि दिनु उचित लागेन

मैले म विचार गरेर जवाफ दिउँला भनेँ ।

म त कम्युनिष्ट पार्टीमा पनि लागेको मान्छे, त्यसबारे कम्युनिष्ट पार्टीको तीन-चार जना नेतालाई घरमै बोलाएर सल्लाह गरेँ । मन्त्रीले रुसमा राजदूत भएर जान भनेका छन्, म के गरुँ भनेर सोधेँ । तीन घन्टासम्म चल्यो कुरा ।

उनीहरुले सल्लाह दिए, ‘तपाईंलाई आर्थिक समस्या परिराखेको छ, राजदूत पद स्वीकार गर्नुस् ।’

मैले भनेँ, ‘धन कमाउने हिसाबले त राम्रै होला । तर, मेरो अखबार त अब बन्द हुन्छ ।’

अखबार त बन्द गर्नु नै पथ्र्यो । पत्रिका बन्द हुने भएकोले म जान्नँ भन्ने निर्णय गरेँ ।

पत्रिका बन्द होस् भनेरै मलाई त्यसरी पदको प्रस्ताव गरिएको थियो कि के थियो, त्यो त मलाई थाहा भएन । तर, त्यसबेला विशेषगरी पैसा कमाउन नै मन्त्री र राजदूतहरु नियुक्ति हुन्थे । त्यसको लागि मैले पत्रकारिता कर्मलाई बलि दिनु उचित लागेन ।

विश्वबन्धु गधा, तुल्सी गिरी घोडा

पञ्चायती व्यवस्थामा दुई मानिस देखेँ र झेलेँ । दुवैको बारेमा मेरो विपरीत धारणा छ । विश्वबन्धु थापाको बारेमा भन्नुपर्दा एउटा उदाहरण दिऊँ, धोबीको गधा हुन्छ । गधाभन्दा एक स्तर माथि खच्चड हुन्छ । विश्वबन्धु चाहिँ गधा हो । तुल्सी गिरी चाहिँ घोडा हो ।

थापा आफूलाई लागेको कुरा केही विचार नगरी हाकाहाकी गर्थे । गिरी चाहिँ जम्मै कुरा आफूले चाहेको अनुसार गरे पनि त्यसमा आफू प्रत्यक्ष रुपमा देखा पर्दैनथे । गिरीलाई मैले कहिले पनि निन्दा गरिनँ ।

तर, विश्वबन्धुको बारेमा म प्रष्ट रुपमा भन्छु । मैले पत्रकारिता गरेर लेख्न थालेको ०१४ सालको बैशाख १ गतेदेखि हो, त्यसबेलादेखि आजको समयसम्म नालायक र बुद्धिहीन भनेर मैले घृणा गरेको र सार्वजनिक रुपबाट भनेको एक जना व्यक्ति विश्वबन्धु मात्रै हो । ९५ वर्ष टेक्न लागेको यो उमेरमा पनि उनको बारेमा मेरो दृष्टिकोण यही छ । किनकि उनको काम नै त्यस्तो थियो । मैले जे गरे पनि हुन्छ भन्ने उनको सोच थियो ।

पक्कै पनि पञ्चायती व्यवस्था एकाधिकारको व्यवस्था थियो । तर, एकाधिकार कुनै व्यक्तिलाई नभई समूहलाई थियो । गृहमन्त्रीका रुपमा विश्वबन्धुले मनपरी गरेका थिए ।

पञ्चायत ढलेपछि विश्वबन्धु कांग्रेसमा फर्कन इच्छुक

नेपाली कांग्रेसमा छँदा तुल्सी गिरी र विश्वबन्धु थापा बिपी कोइरालाका दाहिने र देब्रे हात थिए । त्यही कुरा मैले १७ साल फागुनको समीक्षामा पनि लेखेँ, ‘यी बिपीका दाहिने र देब्रे हात हुन्, राजाले यिनीहरुलाई मन्त्रीको रुपमा विश्वास गर्नु हुँदैन ।’ सत्य कुरा त्यही थियो ।

मैले नसोधी गोपालदास आफैंले भने, ‘विश्वबन्धु आफ्नो कारणले आएका रहेछन् । अहिले व्यवस्था खुलेकोले उनी पार्टीमा प्रवेश गर्न इच्छुक रहेछन् । त्यसैले विश्वबन्धु इमान्दार मान्छे हो, उसलाई कांग्रेसमा लिए हुन्छ भनेर सिफारिश गरिदिनुस् न भनेर आग्रह गर्न आएका रहेछन्

तर, एउटा कुरा कहिले पनि लेखिएन । पञ्चायती व्यवस्था गएपछि ०४६ सालको चैतमा राजनीतिक दलहरु खुले । त्यसको तीन दिनपछि म ‘द कमनर’ पत्रिकाका सम्पादक गोपालदास श्रेष्ठलाई भेट्न नरदेवीमा गएको थिएँ । हामी बसेर कुराकानी गरिरहेका थियौं । त्यत्तिकैमा त्यहाँ विश्वबन्धु आए ।

यो मानिस केही गोप्य कुरा गर्न आएको हो भनेर म अर्को कोठामा गएँ । उनी १५ मिनेटपछि फर्किए । गोपालदास र म फेरि कुरा गर्न थाल्यौं ।

मैले नसोधी गोपालदास आफैंले भने, ‘विश्वबन्धु आफ्नो कारणले आएका रहेछन् । अहिले व्यवस्था खुलेकोले उनी पार्टीमा प्रवेश गर्न इच्छुक रहेछन् । त्यसैले विश्वबन्धु इमान्दार मान्छे हो, उसलाई कांग्रेसमा लिए हुन्छ भनेर सिफारिश गरिदिनुस् न भनेर आग्रह गर्न आएका रहेछन् ।’

आर्थिक समस्याले पत्रिका बन्द

पञ्चायती सरकारले ‘समीक्षा’ लाई कहिल्यै देखिसहेन । आखिर पत्रिकामाथि त्यत्रो कारबाही गर्नुको पछाडि कारण के थियो त ? त्यसको केही कारण छन् । पहिलो कुरा त ‘समीक्षा’ मा असत्य र बनावटी समाचार एउटा पनि जाँदैनथ्यो । विकृति र विसंगतिको सधैं भण्डाफोर गरिन्थ्यो । त्यही कुरा नै सरकारका मान्छेहरुलाई असह्य हुन्थ्यो ।

दोस्रो कुरा, मदनमणि कम्युनिष्ट पार्टीको सदस्य हो, कम्युनिष्टहरु संसारभरि यस्तै बदमास हुन्छन् भन्ने लागेर पनि ममाथि पूर्वाग्रह साँधियो होला । तेस्रो कुरा, राजा महेन्द्रले पत्रिका बन्द गर्नुको कारण सोध्दा बताए पनि वीरेन्द्रको पालामा केही थाहा हुन्थेन । अखबार बन्द गरिदियो, के कारणले बन्द गरेको भनेर केही पत्तो नहुने ।

पटक-पटक धेरै समस्यासँग जुधेर पत्रिका आखिर आफैंले बन्द गर्नुपर्‍यो । हातमा पैसा नभएरै बन्द गर्नपरेको हो ।

म ०५२ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा उपकुलपति भएर गएको थिएँ । अखबार छोरा विनोदको जिम्मा लगाएको थिएँ ।

उसले भन्यो, ‘बाबा, अखबार २-३ महिना बन्द गरौं । मेरो दुलहीको गहना बैंकमा राख्नुपर्‍यो । कति वटा गहना राख्ने ? त्यसरी राख्ने गहना पनि हामीसँग पर्याप्त छैन ।’

पत्रिका चलाउन जग्गा पनि बेचियो । मैले हुन्छ, बन्द गर भनेँ त्यसरी केही महिनाका लागि बन्द गर्ने भनेको पत्रिका त्यसपछि कहिल्यै सञ्चालनमा आएन ।

प्रस्तुति : जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment