Comments Add Comment

यस्तो पति कसैका नहुन् ! कोमामा रहेकी पत्नीको उपचार खर्चमा पतिको मोज

सन् २०१४ मा मेलवर्नको रोयल मेलवर्न अस्पतालमा एक नेपाली महिला जीवन-मरणको दोसाँधमा थिइन् । उनको उपचारका लागि अष्ट्रेलियावासी नेपालीहरुबाट संकलित करिव १ लाख ८० हजार डलर उनका पतिले कुम्ल्याए ।

अष्ट्रेलिया पुगेको केही समयमै अस्पताल भर्ना हुनु परेपछि उनको उपचारमा आर्थिक सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपील गरिएको थियो । त्यो अपील यति छिट्टो भाइरल भयो कि दुई दिनको अवधिमा करिव १ लाख डलर संकलन भयो ।

तर, सृष्टि खनालले भनेकी छन् कि उनका पति द्विजेश शाहीले त्यो रकम आफ्नै लागि प्रयोग गरे, जवकि उनी कोमामा मृत्युसँग लडिरहेकी थिइन् ।

साउथएसिया डट कम टड एयुमा राम खत्रीले लेखेका छन्- अष्ट्रेलियामा रहेका नेपालीहरुले सृष्टिको उपचारका लागि प्रदान गरेको रकम द्विजेश पश्चिम नेपालको भैरहवामा रहेका आफ्ना परिवारलाई पठाउने गर्थे, त्यतिबेला सृष्टि रोयल मेलवर्न अस्पतालको इन्टेन्सिभ केयर युनिटमा थिइन् ।

सृष्टि र उनका पति जुलाई २२, २०१४ मा अष्ट्रेलिया आएका थिए । उनी सूचना प्रविधिमा मास्टर्स गर्नका लागि अष्ट्रेलिया आएकी थिइन् भने उनका पति डिपेण्डेन्ट भिषामा पुगेका थिए ।

shristy-khanal

एक महिनापछि नै उनको मृगौलामा समस्या देखियो । उनको मृगौला अक्टोवर २०१० मै प्रत्यारोपण गरिसकिएको थियो र उनी पूर्ण निको भइसकेकी थिइन् ।

तर, फेरि मृगौलामा समस्या देखिएपछि उनी फुट स्केे अस्पतालमा भर्ना भइन् र पछि उनलाई रोयल मेलवर्न अस्पताल रिफर गरियो । ताकि गम्भीर प्रकृतिको बिरामीका लागि त्यस अस्पतालमा पर्याप्त सुविधा थिएन ।

उनी अस्पतालमा लामो समय रहनुपर्‍यो । २८ अगष्ट २०१४ मा सृष्टि अस्पताल भर्ना भएकी थिइन् भने २२ अक्टोवरमा डिस्चार्ज भएकी थिइन् ।

त्यसबीचमा उनका पिता नेपालबाट आए र अस्पतालबाट डिस्चार्ज भएलगत्तै नेपाल लिएर गए ।

काठमाडौंकी २७ बर्षीया सृष्टिका अनुसार डाक्टर र अस्पतालले उनको बाँच्ने सम्भावना ५ प्रतिशतमात्र रहेको बताएका थिए । तर, उनी बाँचिन् । ‘मेरा लागि प्रार्थना गर्ने संसारभरका नेपालीलाई धन्यवाद, विशेष गरी अष्ट्रेलियामा रहेकाहरुप्रति ।’

उनी एक त्यस्ती अन्तर्राष्ट्रिय विद्यार्थी थिइन्, जो ब्रेन हृयामरेज र मृगौला फेल भएर अस्पतालको शैय्यामा थिइन्, उनको बैंक एकाउण्डमा केही डलरमात्र थियो ।

यो यस्तो रोग थियो कि जसका लागि दशौं हजार डलरको आवश्यकता पर्थ्यो । त्यही अस्पतालबाट ग्रयाजुएट गरेकी नर्स शोभाना थापाले सृष्टिको पीडा बुझिन् र मेलवर्नमा रहेका नेपाली समुदायमाझ उनको पीडा पुर्‍याउने जमर्को गरिन् ।

तत्कालै नेपाली समुदायका अग्रजहरुले ती नेपाली चेलीका बारेमा बुझे र सहयोगका लागि समाजिक सञ्जालमार्फत अपील गरे ।

shristy-khanal-at-hospital

मेलवर्नमा रहेका नेपालीहरु दीपा राई, राजु शाक्य र गौतम लामिछानेले उनको उपचारमा सहयोगका लागि फण्ड जुटाउने अभियानमा अग्रसरता लिएका थिए ।

मेलवर्नमा रहेका नेपाली समुदायका आधा दर्जन अगुवासँगको परामर्शपछि साउथ एसिया डट कम डट एयुले सेप्टेम्बर २०१६ मा पीडित महिलासँग सम्पर्कको प्रयास गरेको थियो ।

त्यसपछि मेलवर्नका नेपाली अगुवाबाट गरिएको अनुसन्धानबाट प्रष्ट भयो कि पूर्व अन्तर्राष्ट्रिय बिद्यार्थीका पतिले उनलाई ठूलो धोका दिए ।

सृष्टिका अनुसार अष्ट्रेलिया आउनुअघि उनको परिवारको करिव ५० लाख रुपैयाँ खर्च भएको थियो । त्यसमध्ये अष्ट्रेलिया आउनका लागि १८ लाख खर्च भएको थियो । १२ लाख बुबाको अफिसबाट र अन्य रकम अन्य श्रोतबाट जुटाइएको थियो । ‘ऋणको बोझ थेग्न नसकेर मेरा बुबा अहिले बिरामी हुनुहुन्छ’ सृष्टिले भनिन् ।

पहिलो कुरा द्विजेश शाही र सृष्टि खनालले अष्ट्रेलिया आएपछि कमनवेल्थ बैंकमा ज्वाइन्ट एकाउन्ट खोलेका थिए । नखोलुन् पनि किन ? उनीहरु नवविवाहित दम्पती थिए र सुरक्षित भविश्यका लागि अष्ट्रेलिया आएका थिए ।

अष्ट्रेलिया आउनुअघि उनीहरुले २०३७.०२ डलर डिपोजिट गरेका थिए । अष्ट्रेलिया आएको एक महिनाभित्र उनीहरुको संयुक्त खातामा मात्र ४०.३६ डलर बाँकी थियो ।

यद्यपि निकट भविश्यमै उनीहरुको खातामा अस्वाभाविक पैसा जम्मा भयो । सामाजिक सञ्जालको अपीलपछि अष्ट्रेलियावासी नेपालीहरुले खुला मनले सहयोग गरे । त्यस्तो सहयोग यसअघि देखिएको थिएन ।

bank-account-dwijesh-koiral

साउथ एसिया डट कम डट एयुले फेला पारेको १६३ पेज लामो बैंक स्टेटमेन्टले अष्ट्रेलियाका नेपाली समुदायले कति सहयोग गरेका थिए भनेर देखाएको छ ।

बैंक स्टेटमेन्ट अनुसार पहिलो डिपोजिट नीता थपलियाको थियो, उनले सेप्टेम्बर २ मा ११० डलर सहयोग गरेकी थिइन्, त्यतिबेला सृष्टि अस्पताल भर्ना भएको पाँच दिन भएको थियो ।

अविश्वसनीय रुपमा २८८ जनाले अनलाइनमार्फत सहयोग गर्दा मात्र दुई दिनको अवधिमा ८५ हजार ३३४.२१ डलर संकलन भएको थियो ।

त्यसो त अष्ट्रेलियामा उपचारको अभावमा कुनै बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था हुँदैन । त्यसमा पनि मेलवर्नका नेपाली अगुवाहरुसँगको छलफलमा पनि बीमा कम्पनीले पनि उनको उपचार खर्च व्यहोर्न सहमत भएको थियो ।

जब सृष्टि दुई महिना लामो अस्पताल बसाइपछि निको भएर डिस्चार्ज भइन्, नेपाली समुदायका अगुवाहरुलाई त्यतिबेलै उनका पति द्विजेश शाहीको नियतमाथि शंका लागेको थियो कि उनले श्रीमतीलाई नेपाल पठाए ।

दीपा राई, जसले सृष्टिलाई सुरुदेखि अन्तिमसम्म साथ दिएकी थिइन्, उनले प्रश्न गरेकी छिन् कि ठूलो सहयोगमार्फत बैंकमा हजारौं डलर मौजुद हुँदाहुँदै पनि उनीहरुले किन अष्ट्रेलिया छाड्ने निर्णय गरे ?

मैले उसको मनोरञ्जनका लागि दान गरेको होइन

नेप्लिज एशोसियसन अफ भिक्टोरियाका अध्यक्ष डाक्टर अनुपम पोखरेल सम्झन्छन् कि उनले सृष्टिका लागि ५०० डलर सहयोग गरेका थिए । उनी अहिले आफूमाथि धोका भएको महशुस गर्छन् र त्यसबिरुद्ध कारबाही चाहन्छन् ।

‘मैले उसको मनोरञ्जनका लागि पैसा दिएको होइन, मलाई अहिले पश्चाताप भइरहेको छ ।’ पोखरेलले भने । उनले दावी गरेका छन् कि उनले बैंक स्टेटमेन्ट मार्फट आफूले पैसा दिएको प्रमाणित गर्न सक्छन् ।

उनले त्यस दिनको स्मरण गरे र त्यतिबेलै केही गडबड चलिरहेको महसुस गरेका थिए । ‘अभियान सुरु भएको केही दिनपछि मैले फेसबुकबाट ५०० डलर पठाएँ, पैसा उसले पायो । तर, मैले गरेको फोन उठाएन ।’ पोखरेलले भने, ‘मैले सहयोग संकलन अभियान कहाँ पुग्यो र कति जम्मा भयो भनेर सोध्दा पनि उसले कुनै रेस्पोन्स दिएन ।’

दीपा राईले पनि द्विजेशलाई समुदायले गरेको विश्वासप्रति आत्माआलोचना गर्छिन् । ‘द्विजेशले कहिल्यै पनि फण्डमा जम्मा भएको रकमबारे खुलेर बताएन । हामीले धेरै कुरा सुन्थ्यौं र द्विजेशलाई यसबारे प्रस्ट पार्न भन्थ्यौं र उसले हामीसँग अहिलेसम्म ४० हजार जम्मा भएको र आफ्नी श्रीमतीका लागि जे गर्न पनि तयार छु भन्थ्यो’ उनले भनिन् ।

राईले साउथ एसिया डट कम डट एयुसँगको कुराकानीमा भनेकी छन् कि अष्ट्रेलिया छाड्ने निर्णयको पछिका कारणहरुबारे जान्न खोज्दा ती पतिपत्नीले आफूसँग दूरी बढाए ।

भिक्टोरिया मल्टीकल्चरल अवार्ड २०१६ की बिजेता राई भन्छिन् कि उनीहरु दुवै स्वार्थी हुन्, उनी उनीहरुलाई सहयोग गर्न चाहन्नथिन् । ‘मलाई मनैदेखि सहयोग गर्न मन थिएन, तर उनीहरुलाई सहयोग गर्न कोही तयार नरहेकाले बाध्य भएकी हुँ ।’

गल्ती सुधार्न समुदायले द्विजेशलाई समय दियो

केही महिनाका लागि अहिले नेपाली समाज भिक्टोरियाका पदाधिकारीले द्विजेशलाई गल्ती सुधार्न समय दिएका छन् । उनीहरु रमक सृष्टिलाई फिर्ता गर्नका लागि प्रयासरत छन् ।

अलग भइसकेका यी पतिपत्नीबीच डिसेम्बर ३, २०१६ मा भएको सहमतिको मस्यौदा अनुसार द्विजेशले सृष्टिलाई ७० हजार डलर फिर्ता गर्नुपर्नेछ ।

राजु शाक्यले भनेका छन् कि १ लाख ८० हजार डलरभन्दा बढी सहयोग संकलन भएको थियो । र द्विजेशले परोक्ष रुपमा त्यसलाई स्वीकार गरिसकेका छन् ।

तर, सहयोग संकलन अभियानका अगुवाहरु यो भन्दा धेरै रकम संकलन भएको अनुमान गर्छन । ठ्याक्कै कति रकम जम्मा भएको थियो कसैले अनुमानै लगाउन सक्ने थिएन, किनभने सबै जानकारी त्यतिबेला द्विजेशसँग मात्रै थियो । तर, अष्ट्रेलियाभन्दा बाहिरबाट पनि सहयोग संकलन भएको थियो । पे पालबाट पनि धेरै पैसा आएको थियो ।

‘द्विजेशले नियोजितरुपमै सहयोग दुरुपयोग गर्ने योजना बनाएको थियो ।’ आक्रोशित देखिएकी दीपा राईले भनिन्, ‘सहयोग कलेक्सन मैले हेरिरहेको थिए । तर, जब धेरै संकलन हुन थाल्यो, दुई दिनपछि मलाईसमेत उसले थाहा दिन चाहेन ।’

सृष्टि खनालले उनका पतिबिरुद्ध नगद संकलन र पेपाल योगदानको दुरुपयोग गरेको आरोप लगाएकी छन् । समुदायका अगुवाहरुले कोइरालालाई ‘धोका दिई बित्तीय लाभ’ लिएको आरोप लगाएका छन् ।

डाक्टर पोखरेलले भनेका छन् कि सृष्टि खनालबाट स्वीकृति पाएको खण्डमा उनी पुलिसको शरणमा जानेछन् र त्यहीँबाट यस बिषयको छिनोफानो हुनेछ ।

‘जसरी दीपा जी र राजुले उसलाई पछ्याइरहेका छन्, म भएको भए उसलाई खोजेर, कुरा गरेर त्यसरी समय बर्वाद गर्दिनथेँ’

‘सृष्टिबाट अधिकार पाएको निमेषभरमै मैले धोका दिएर वित्तीय लाभ लिएको आरोपमा प्रहरीमा मुद्दा दायर गर्नेछु ।’ मनोचिकित्सकसमेत रहेका पोखरेलले भने, ‘म आफैं यस धोकाको शिकार भएको नाताले म समुदायको साथमा छु । र, हामीले उसलाई मनोरञ्जनका लागि पैसा दिएका होइनौं ।’

पत्नी जीवन र मृत्युको दोसाँधमा, पति महंगो सपिङमा

बैंक स्टेटमेन्टले देखाउँछ कि पत्नी अस्पतालमा उपचाररत रहँदा पति द्विजेश सपिङ मलमा महंगा सामान किन्न व्यस्त थिए ।

सेप्टेम्बर १७, २०१४ मा द्विजेशले जेबी हाइफाइबाट ९८६८.९२ डलर मूल्यको सामान खरिद गरेका थिए । सृष्टिका अनुसार मात्र दुई सामानका लागि त्यति मूल्य परेको थियो । फि्रज र वासिङ मसिन । ‘फि्रज निक्कै ठूलो थियो, दुईवटा ढोका थियो ।’

सृष्टिका अनुसार उनका पतिले त्यतिबेला मोटरबाइक, महंगो क्यामरा तथा धेरै व्यक्तिगत कुराहरु किनेका थिए, जतिबेला उनी अस्पतालमै थिइन् ।

एक साथीले सृष्टिलाई बताएअनुसार, उनको उपचारका लागि संकलन भएको सहयोगबाट कोइरालाले एमएसआई ल्यापटप ३५०० डलरमा किनेका थिए ।

च्याटको स्क्रिनसटले पुष्टि गरेको छ कि उनले त्यस मेसिन श्रीमती कोमामा गएको तेस्रो दिन खरिद गरेका थिए । यहीँबाट थाहा हुन्छ कि उनले आफ्नी बिरामी पत्नीको कति ख्याल गर्थे ।

अस्पतालबाट डिस्चार्ज भएपछि र नेपाल नफर्किउन्जेल अपार्टमेन्टमा बस्दा उनले देखेकी थिइन् कि त्यहाँ निक्कै महंगा बस्तुहरु धेरै थिए ।

‘मैले खाना खाने प्लेटसमेत उठाउन सक्दिनथेँ, किनभने त्यो निक्कै गह्रुंगो थियो र महंगो देखिन्थ्यो’ उनले भनिन् । त्यसबारेमा पतिसँग कुरा गर्दा उनले पत्नीलाई सधैं ढाँट्थे र रुममेटको भएको बताउँथे ।’

यतिसम्म कि पत्नी अष्ट्रेलियाको अस्पतालमा कोमामा रहँदा द्विजेशले नेपालमा रहेको आफ्नो परिवारलाई ५ हजार डलर पठाएका थिए । बैंक स्टेटमेन्टले थुप्रै कुराहरु देखाउँछ जसले सहयोगको रकमबाट उनले बिलासी जीवन जिएको पुष्टि हुन्छ ।

सृष्टिले कोमाबाट फर्किएर पहिलो पटक श्रीमानलाई भेट्दा उनी नेपालमा रहेका आफ्ना आमाबुबासँग पैसाको कुरा गरिरहेका थिए । त्यतिबेलै उनले सोचेकी थिइन् कि उसले कहाँबाट पायो पैसा ?

उनले भनेकी छन् कि उनका पति यतिसम्मको दुष्ट थियो कि आफ्ना माता पितासँग कुराकानीमा सृष्टि बेहोस रहेको र आफूले गरेको कुराकानी नसुनेको बताउँथ्यो, उनले दाबी गरेअनुसार फोनबाट सुन्दा द्विजेशका बाबुआमाले ‘पैसा पठा’ मात्र भन्थे ।

‘सृष्टिले गुनासो गरिन् कि जव उनी नेपाल फर्किइन्, उनका सासू ससुरा उनलाई भेट्न पनि आएनन्, फोनमा समेत राम्रोसँग कुरा गरेनन् ।’

सृष्टिलाई निःशुल्क कानूनी सुविधा

वकिल समसेर थापाले ९ डिसेम्बर २०१६ मा ‘प्रोपर्टी सेटलमेल्ट’को कानूनी कागजपत्र द्विजेशको ठेगानामा पठाएका थिए । इमेलमा उनलाई यो पनि चेतावनी दिइएको थियो कि यदि यसको उत्तर १० दिनभित्र नदिए यसैलाई आधार मानेर अदालतमा मुद्दा दायर गरिनेछ ।

थापाले गत शनिबार पुष्टि गरेका छन् कि द्विजेशका वकिलले पत्र बुझेका छन् र सम्पर्कमा आएका छन् ।

सृष्टिको जीवनमा आएको यस्तो घटनाक्रमका कारण समसेर थापा र उनको कार्यालयले सृष्टिलाई निःशुल्क कानूनी सेवा प्रदान गरेको हो ।

‘यदि हामी अदालतमै जानुपर्‍यो भने पनि हामीले सृष्टिसँग कुनै शुल्क लिदैनौं,’ सिड्नीका यी वकिल भन्छन् ।

द्विजेश अहिले नेपालमा

अहिलेको समयमा, विवादको केन्द्रमा रहेका द्विजेश हालै काठमाडौं अवतरण भएका छन् । ‘उसले अष्ट्रेलिया यसकारण छोड्यो कि उसको पैसा फिर्ता गर्ने नियत नै छैन ।’ दीपा राईले भनिन् ।

साउथएसिया डट कप डट एयुले उनलाई फेसबुक र हृवाट्सएपको माध्यमबाट सम्पर्क गर्ने प्रयास गरेको थियो । एक घण्टापछि प्रतिक्रिया दिँदै उनले आफूमाथि लगाइएको आरोप झुटो भएको बताए ।

अन्त्यमा, हृवाट्सएपमा एक घण्टापछि द्विजेशले दिएको जवाफ यस्तो थियो- ‘म उप्रति समर्पित थिएँ र उनलाई निको गराउन मैले आफ्नो ११० प्रतिशत दिएको थिएँ । मलाई भन्नु यत्ति हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment