Comments Add Comment

नेपाल-चीन थिंक ट्यांक सम्मेलनमा ओली आकर्षण, कांग्रेस नेताले भने- ‘अभूतपूर्व प्रधानमन्त्री’

think-tank

४ माघ, काठमाडौं । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए ।

ओलीजन्य स्वभाव अनुसार कार्यक्रमको निर्धारित समयभन्दा करीव आधा घण्टा ढीलो केपी ओली दरबारमार्गस्थित अन्नपूर्ण होटलमा पुगे । उनी त्यहाँ पुग्नुअघि आयोजक संस्थाकी पत्रकार सृष्टि काफ्लेले चार/पाँचपटक केपी ओली घरबाट हिँडेदेखि अन्नपूर्ण होटल प्रवेश गर्दासम्म वीचवीचमा जानकारी दिनुर्‍यो ।

कार्यक्रमस्थल अन्नपूर्ण होटलमा प्रवेश गरेपछि ओलीलाई कार्यक्रम हलसम्म पुग्न करीव १० मिनेट लाग्यो । कार्यक्रमका प्रमुख अतिथि भएका कारण मात्र होइन, नेपाल र चीनबीच रणनीतिक महत्वको व्यापार तथा पारवहन सम्झौता गरेका कारण ओली ‘थिंक ट्यांक’ सम्मेलनको आकर्षण बनेको सहजै बुझ्न सकिन्थ्यो ।

ओलीलाई हिसिला यमीबाहेक अन्य वक्ताहरुले प्रत्यक्ष वा परोक्ष रुपमा उनको प्रधानमन्त्रीत्वकालमा नेपाल-चीन सम्बन्धमा नयाँ उचाइ दिएको र नेपाललाई भारतआश्रति अवस्थाबाट मुक्त गर्न प्रयास थालेको भन्दै धन्यवाद दिए ।

हिसिला यमीले भने आफ्नै पति बाबुराम भट्टराईले नेपाललाई भारत र चीनबीचको गतिशील पुल बनाउनुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरेको श्रेय दिइन् ।

संघीय समाजवादी फोरमका नेता डा.शिवजी यादवले संविधान जारी भएलगत्तै नेपालमा उत्पन्न आन्तरिक संकटका बेला चीनको साथ सहयोग लिएको भन्दै ओलीलाई अप्रत्यक्ष रुपमा धन्यवाद दिए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले त ओलीलाई भूतपर्वू होइन ‘अभुतपूर्व प्रधानमन्त्री’को संज्ञा दिँदै उनका पालामा भएको १० बुँदै नेपाल चीन सम्झौतालाई ऐतिहासिक भने । तर, यसको कार्यान्वयनका लागि नेपालमा सबै दल नमिलेसम्म ओलीले गरेको त्यो सम्झौता बेवारिसे हुने उनले बताए ।

kp-oli

ओली सरकारका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले त ओलीको प्रशंसा गर्ने नै भए । कार्यक्रममा ओलीपछि विशिष्ठ अतिथि रहेका थापाले ओली र आफ्नो पालामा नेपाल चीनबीच व्यापार, पारवहन लगायतका विषयमा भएका सम्झौता कार्यान्वयनमा वर्तमान सरकारपछि हटेको आरोप लगाए ।

उनले नेपाललाई भारतवेष्ठित अवस्थाबाट मुक्त गरेर साँच्चिकै भूपरिवेष्ठित मूलकका रुपमा दुबै छिमेकीको समुद्रसम्म पहुँचका लागि ओली प्रधानमन्त्रित्वका पालामा रणनीतिक महत्वको आधार तय भएको बताए । उनले चीनसँग आफूहरुले पारवहन सम्झौता गर्नुको अर्थ भारतसँग दूरी बनाउन खोजेको रुपमा लिन नहुने पनि प्रष्टिकरण दिए ।

थिंक ट्यांक सम्मेलनमा भाग लिन आएका चिनियाँ प्राध्यापक वाङ डोङ हङले ओली प्रधानमन्त्रीत्व कालमा नेपाल र चीनबीच दीर्घकालीनरुपमा अर्थ राख्ने रणनीतिक महत्वका सम्झौता भएको स्मरण गराए । अनलाइनखबरसँग उनले भने- ती सम्झौताहरुको कार्यान्वयनको अवस्थाका बारेमा दुबै देशबीच गृहकार्य हुनुपर्छ ।

थिंक ट्यांक सम्मेलनको उद्घाटन गर्ने अवसर पाएका ओली आफैंले भने कार्यक्रममा धेरै बोलेनन् । बरु शिवजी यादव, गुरु घिमिरे, कमल थापाहरुको भाषण उधृत गर्दै आफूले नेपाल चीन सम्बन्धलाई नयाँ उचाई र नयाँ आयाम दिएको सांकेतिक दावी गरे ।

थिंक ट्यांक मध्येका एक नेपाली विज्ञ अनुपरञ्जन भट्टराईले नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिएका कारण टंकप्रसाद आचार्य, कीर्तिनिधी विष्टजस्तै ओलीलाई पनि सम्झिइने बताए

विगतमा नेपाल र चीन सम्बन्धका कार्यक्रमहरुमा पूर्वप्रधानमन्त्रीहरुमध्ये प्रायः कीर्तिनिधी विष्टलाई बोलाइने गथ्र्यो । विष्ट धेरै वृद्ध भएर हो वा ओलीको पछिल्लो छविले गर्दा हो, अचेल नेपाल चीन सम्बन्धका कार्यक्रममा ओलीलाई प्रमुख अथितिका रुपमा निम्त्याउन थालिएको छ ।

आयोजक चिनियाँ समाचार एजेन्सी सिन्हृवाले थिंक ट्यांक सम्मेलनमा ओलीलाई प्रमुख अतिथि बनाएर त्यसको लाक्षणिक पुष्टि गरेको कतिपय निम्तालुहरुको टिप्पणी थियो । थिंक ट्यांक मध्येका एक नेपाली विज्ञ अनुपरञ्जन भट्टराईले नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिएका कारण टंकप्रसाद आचार्य, कीर्तिनिधी विष्टजस्तै ओलीलाई पनि सम्झिइने बताए ।

कार्यक्रमका सहभागीहरुले चीन नेपालको संकटको साथी भएको टिप्पणी गरे । प्रायः सबै वक्ताले गत वर्ष भारतले लगाएको नाकाबन्दीको सांकेतिक स्मरण गर्दै त्योबेला चीनले कहिल्यै नबिर्सने गुण लगाएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment