९ माघ, काठमाडौं । चलचित्र निर्देशक तुलसी घिमिरेसँग फिल्म सुटिङका क्रममा भोगेका रमाइला अनुभूतिहरुको खातैखात छ, जसलाई ‘फिल्म निर्माणका किस्सा’ भन्दा पनि फरक पर्दैन ।
सुनौं, घिमिरेकै शब्दमा ती किस्साहरु-
१. बिदाइको गीत र गढवाली बुढा
मैले पहिलो गढवाली सिनेमा निर्देशन गरें । ‘गढवाली फिल्म बन्दैछ’ भनेपछि भएभरका मान्छे ओइरो लाग्ने । भिडले सुटिङ गर्नै गाह्रो ।
पौडी भन्ने जग्गामा गीतको दृश्य छायांकन थियो । अनुराधा पौड्यालले गाएकी, रनजीत गजमेरले संगीत गरेको । गीतको शब्द ठ्याक्कै त मैले सम्झन सकिन तर, त्यसको भावार्थ चाहिँ यस्तो थियो-
‘छोरी, तँलाई हामी राजाले भन्दा राम्रो विवाह गर्न चाहन्थ्यौं । हात्ती, घोडा र नोकर चाकरको लस्कर लगाएर बिदाई गर्न चाहन्थ्यौं । तर, तेरो बुवा साह्रै गरिब छ । संसारभर खोज्दा देउता जस्तो बर पाएँ । त्यही नै मैले दिएको सबैभन्दा ठूलो उपहार ठान्नु ।’
यो गीतले त्यहाँका बुढापाकालाई भित्रैबाट छुने रहेछ । आफ्नै भोगाइ जस्तो ।
छोरीले भन्छे, ‘मलाई एक जोर परेवा पनि दिनू । बिहान परेवा घुरेसँगै म ब्युँझन्छु ।’
बाबुले इन्कार गर्छ, ‘होइन, परेवा स्वतन्त्र पंक्षी हो । त्यसमाथि हाम्रो नियन्त्रण हुँदैन, तँलाई पच्छ्याएर आयो भने आयो, नभए उसलाई स्वतन्त्र छाडिदेउ ।’
यसैको पिक्चराइज गर्नुपर्ने थियो ।
बाबुले छोरीलाई पिठ्युँमा बोकेर रुँदै-रुँदै आइरहेको दृश्य । अति मार्मिक । लामो ट्रली राखेर यसलाई दृश्यांकन गर्दै थिएँ ।
क्यामेराम्यानले त्यो दृश्य सिलसिलावद्ध खिचिरहेका थिए । जब, दृश्य फ्रेमभन्दा बाहिर जान्थ्यो, ऊ ‘कट..कट..कट..’ भनेर गीत रोक्ने संकेत गर्थ्यो ।
सुटिङ हेर्न आएकामध्ये एकजना बुढा चाँहि गाना बज्यो कि, आँखा चिम्लिएर सुनिरहने रहेछन् । जब, क्यामेराम्यानले ‘कट..कट..कट’ भन्थे, बुढाको ध्यान टुट्दो रहेछ । यसरी ‘कट’ भन्दा चाहिँ उनलाई गीत सुन्न नदिएको जस्तो भएछ ।
अनि त बुढालाई रीस उठेछ । लट्ठी उठाएर मलाई हान्न तयार भैहाले । उनलाई अरुले थम्थमाए । अनि मैले हाँस्दै सोधें, ‘क्या हुआ भाइसाब ?’
‘कट्ट कट्ट बोलता है..’ बुढाले दाह्रा किट्दै आक्रोस पोखेे, ‘अरे, सुन ने नहीं देगा ये गाना ?’
अनि मैले उनलाई सम्झाउँदै आश्वस्त तुल्याएँ, ‘यो सट पूरा भइसकेपछि म तपाईलाई पूरा गाना सुन्न दिन्छु ।’
त्यो सट खिचिसकेपछि हामीले गीत सुन्न दियौं । अरु थुप्रै बुढाबुढी गीत सुन्न थुप्रिए । उनीहरु यो गीत बजिरहँदा यति भावुक भए कि, त्यसले मेरो हृदय पग्लियो ।
गीत बजिरहँदा उनीहरुले आँखा चिम्लिए । उनीहरुको आँखाको चेप-चेपमा आँशु छचल्कियो । मैले सुटुक्कै क्यामेराम्यानलाई भने, ‘यो दृश्यलाई उनीहरुले थाहा नपाइकन क्लोजमा फलो गर त भाइ ।’ अन्ततः त्यही दृश्य नै गीतको सबैभन्दा सशक्त बन्यो ।
२. खुकुरी बोकेर प्राविधिकलाई खेदें
एकचोटि मलाई ‘नेपाली झ्वाँक’ चल्यो । हुन त म त्यसरी नरिसाएको भए पनि हुन्थ्यो । तर, खै के भयो हौ, मलाई ।
रेली खोलामा सुटिङ थियो । बाटोमै गाडी बिग्रियो रिफ्लेक्टरहरु त्यहीँ छाडेर हिँड्दै जाने निधो गरियो । एउटा घरमा रिफ्लेक्टर राखिदिन अनुरोध गरियो । उनीहरुले हाँसीखुसी रिफ्लेक्टर राखिदिँदै भने, ‘बोरासोरा ओडाइदिनुपर्छ कि भाइ ?’
त्यसबेला म अलि सानै थिएँ । त्यही भएर पनि प्राविधिकहरु मलाई ‘तुल्सी जी’ भनेर सम्बोधन गर्थे । उनीहरु मुम्बईबाट ल्याइएका । निकै नखरा पार्ने ।
खानामा उनीहरुलाई रोटी चाहिने । त्यसबेला सुटिङमा प्रोफेसनल कुक हुँदैनथ्यो । बिचरा गाँउघरकै भाइहरुलाई ‘यसो सघाइदेउ है’ भनेर खानासाना पकाउन लगाइन्थ्यो । राम्ररी भात त पकाउन नजान्ने तिनीहरुले रोटी, दाल कसरी बनाउन सक्छन् ?
बिचरा कुक भाइहरु भन्थे, ‘यिनीहरुले रोटी मागेर हैरान बनाइसके, रोटीबिना खानै नखाने भन्छन् ।’
बरु, हिरो हिरोइन रजनी शर्मा र राकेश पाण्डेयले कहिल्यै सताएनन् । सपोर्ट गरे । हिरोले मलाई भन्यो पनि, ‘तँलाई यिनीहरु (प्राविधिकहरु) ले अलि बढी नै हेप्दैछ है ।’
रेली खोला जाँदा गाडी बिग्रिएपछि ती प्राविधिकहरुलाई अर्को लोकल गाडीमा रिक्वेस्ट गरेर पठाइयो । हामी हिँड्यौं । डेढ घण्टे बाटो ।
राति सुटिङ स्पटमा पुग्दा त ती प्राविधिकहरु मस्त तास खेलेर बसेका भेटिए । यता कुक भाइहरु पनि जागै ।
कुक भाइहरुलाई सोधें, ‘तिमीहरु किन यतिबेरसम्म नसुतेको ? साढे ११ बजिसक्यो त ।’
भाइहरुले भने- ‘लाइटम्यान साहेबहरुले खाना खानुभएको छैन । त्यसैले रुँघेर बसेका ।’ म लाइटम्यनकहाँ गएँ । भनें, ‘भाइ साब, आपको खाना क्यों नहीं खाया ?’
‘जबसम्म हाम्रो रिफ्लेक्टर आइपुग्दैन, खाना खादैनौं’भन्दै उनीहरु त घुर्की पो लगाउन थाले । कति दुःख गरेर जतनसाथ रिफ्लेक्टर राखेर आएको छु, अर्कोतिर बिचरा कुक भाइहरु जाडोमा, त्यति अबेरसम्म रुँघेर बसेका छन् । मलाई रीस उठ्यो ।
‘भाइहरु किचन प्याकअप गर’ भनिदिएँ, ‘र तिमेरु सुत ।’
लाइटम्यानले रक्सी पिएका रहेछन् । ‘किचन प्याकअप गर’ भनेको सुन्नसाथ उनी झोंक्किए । ‘हम लोग का हिसाब-किताब कर दो, कल सुबह हम लोग जाएगे ।’
अनि त म रीसले बहुला भएँ । लात, घुस्सी, थप्पड हान्न थालेछु । कहाँबाट खुकुरी पनि भेटेंछु । हातमा नाङ्गो खुकुरी नचाउन थालेपछि उनीहरु भागभाग । कोही झ्यालबाट हाम फालेछन्, कोही कताबाट । अनि म कराएँ, ‘अब हेरौं, कालेबुङ कसरी क्रस गर्दा रहेछौ । अब तिमेरुको लास मात्र जान्छ ।’
हल्लीखल्ली सुनेर हिरो हिरोइन पनि तल झरे । प्रोडुसर पनि आए, ‘क्या हुआ तुल्सी जी ?’ भन्दै ।
सबैले सम्झाई बुझाई गरेपछि माहौल शान्त भयो ।
अर्को दिनदेखि सबै ठीकठाक भयो । प्राविधिकहरुलाई भात पनि रुच्न थाल्यो । काम पनि फटाफट गर्न थाले । मलाई ‘तुल्सी जी’ होइन, ‘डाइरेक्टर साहब’ भन्न थाले ।
हिरो राकेश पाण्डेयले खुसुक्कै मेरो कानमा आएर भन्यो, ‘अच्छा किया, आपने ।’
३. हतियारधारी डनको निम्तो
गढवाली फिल्मकै सुटिङमा हो । दुईतिर एलएमजी गन भिरेको मान्छे आयो, ‘तुल्सी घिमरे कौन च ?’ हुलिया हेर्दै थाहा हुन्थ्यो, यो खुंखार गुन्डा हो । सुटिङ युनिटका सबै कालोनीलो भए । सबै भयभित र त्रसित देखिए ।
उनीहरुले सोचेछन्, अब डाइरेक्टरलाई अपहरण गर्नेछ र फिरौती माग्नेछ । हतियार बोकेर खुलमखुला हिँड्ने त्यो रेशम थापाले दुईजना इन्स्पेक्टरको समेत हत्या गरेको रहेछ । उसको सामू पुलिसको पनि केही नलाग्ने । सोझै बन्दुक ताक्ने ।
मैले आफूलाई चिनाएँ । उसले जोडसँग हात मिलाउँदै भन्यो, ‘अरे नमस्कार, नमस्कार । मेरो नाम रेशम थापा छ ।’ मैलें उसका बारेमा जान्न चाहें, ‘के तपाई आर्मीको मान्छे हो ?’
उसले केवल तीन शब्दमा जवाफ फर्कायो, ‘त्यस्तै सम्झिए हुन्छ ।’
त्यसपछि उसले एउटा होटलको लोकेसन दिदै भन्यो, ‘राति त्यहाँ भेटौं ।’
बोलाएको ठाउँमा नजाने कुरा भएन । सहकर्मीहरु भने थर्कमान छन् ।
राति म उसले बोलाएकै ‘सन एन्ड स्नो’ भन्ने होटलमा पुगें । ऊ मलाई नै पर्खेर बसेको रहेछ । ‘आज तपाई र मसँगै डिनर गर्ने’ उसले एकदमै हार्दिकतासाथ मेरो स्वागत गर्यो, ‘कुनै समस्या त छैन नि ?’
हामीले एकसाथ डिनर गर्यौं । यसक्रममा उसले मलाई पटक-पटक भनिरह्यो, ‘सुटिङमा तपाईलाई कसैले दुःख दिएका त छैनन् नि ? त्यस्तो छ भने मलाई भन्नुहोला ।’
फिल्म बनाउने धोको रहेछ, उसको । भन्यो, ‘एउटा फिल्म बनाउँछु, सुटिङचाहिँ कता गरौं ? नैनितालतिर ?’
४. दुईजना ठिटाले सिरुको पैसा मागे
‘ये तो हमरा है, बर्बाद हो गया’
दुईजना भाइहरु आएर लटर-पटर हिन्दीमा भने, ‘इसको सिरु बोलता, ये बहुत महंगा होता है ।’
म उनीहरुको कुरा सुनी बसें ।
बाँसुरी फिल्मको सुटिङ थियो, कालेबुङ माथिको सिरुबारीमा । सन् १९८१ तिरको प्रसंग हो यो । त्यसताका हिरो, हिरोइनदेखि स्पट ब्वाइसम्म सबै इन्डियन थिए ।
कुनै हिन्दी फिल्म सुटिङ भन्ठानेर ती दाजुभाइ सुटिङ स्पटमा आएका रहेछन् । उनीहरुको दाउचाहिँ के भने, हामीलाई मूर्गा बनाएर सिरुको पैसा असुल्ने ।
केहीबेर त मैले पनि हिन्दीमै बात गरें ।
अलिक झ्वाँक चल्यो । अनि, ठेट नेपालीमा भनें, ‘भाइ यो सिरुको चार मुठे भारी बनायो भने, जम्मा बिस भारी हुन्छ । हामीचाहिँ छ मुठे बनाउँछौं । तिमीहरु छ मुठे बनाउँछौ कि, चारमुठे ?’
दाजुभाइ जिल्लिए ! आपसमा हेराहेर गर्न थाले ।
‘दाजु नेपाली हो ?’ एउटाले संकोच मान्दै सोध्यो ।
‘म नेपाली हुँ’ मैले अलि ठूलो आवाजमा भनिदिएँ, ‘म यस्तै सिरुबारीमै हुर्केको हुँ ।’
सिरुमा एकखाले रोग लाग्छ, साउने भन्ने । ‘साउने लाग्यो भने त्यसमा कालो वनमाराको खरानी छर्नुपर्छ । टुसा उम्रने बेला चाहिँ डढेलो लगाउनुपर्छ भाइ ।’
मैले यति भनेपछि त उनीहरु रातोपिरो भए ।
‘ल दाजु साह्रै लाजैमर्दो चाहिँ नबनाउनुहोस् न’ भन्दै त्यहाँबाट हिँडे ।
५. बुबाको मृत्युमा सुटिङ
गढवाली फिल्मकै अन्तिम सुटिङ थियो, मुम्बईमा । गढवालबाट सबै कलाकार, टेक्निसियनसँग मुम्बई पुगियो । त्यहाँ मलाई गढवाल समाजले ठूलो सम्मान गर्ने कार्यक्रम पनि थियो ।
बिहान म सुटिङका लागि फुत्त बाहिर मात्र निस्केको थिएँ । ठ्याक्कै एउटा मान्छे दैलोमा भेटें, मेरो टेलिग्राम बोकेको । त्यसबेला मोबाइल थिएन । टेलिग्राम चल्थ्यो, आवाज सुन्ने । ‘आपको टेलिग्राम’ उसले त्यो मेरो हातमा दियो । मैले ‘थ्यांक यु’ भन्दै टेलिग्राम अन गरें ।
‘फादर एक्स्पायर्ड.. ।’
मैले यतिमात्र सुन्न भ्याएँ । मन अमिलो भो । यता सुटिङको अन्तिम तयारी भइरहेको छ । सुटिङ युनिट भेला भइसकेका छन् । ५/६ घण्टा सुटिङ गर्यो भने सकिन्छ । बाबा त मरेर गइहाल्नु भो । अब, म सुटिङ छाडेर गएँ भने गढवालबाट यहाँसम्म आएका कलाकार, टेक्निसियन पनि मर्छन् भन्ने लाग्यो ।
अनि चुपचाप म सुटिङतर्फ लागें । लञ्च, नास्ता केही गरिनँ । ‘आज पेट खराब भो’ भन्दै केही खाइनँ ।
दिनभर लगाएर फटाफट सुटिङ गरियो । चार बजे सबै प्याकअप भो । त्यसपछि मैले भनें, ‘अब म घर जान्छु ।’
मेरो यो हठात् निर्णय सुनेर उनीहरुले आश्चर्य मान्दै सोधे, ‘के भयो र त्यस्तो ?’
‘मेरा बाबा बित्नुभो’ मैले संक्षिप्तमा उत्तर दिएँ र त्यहाँबाट हिँडे ।
घर पुग्दा तीन दिन बितिसकेको थियो । दाजुभाइ कोरामा बसेका रहेछन् । मैले आफु ढीला आउनुको कारण अवगत गराएँ । आमाले भन्नुभयो, ‘राम्रो गरिस्, सही समयमा सही निर्णय लिएर ।’
६. कालेम्पोङको जँड्याहा
कालेम्पोङमा एकजना जड्याहा थियो, गज्जपको । मातेपछि ऊ बाटोमा निस्केर कराउँथ्यो, ‘कोही छ ? … कोही छ ? ………मसँग खेल्ने ?’
त्यसको हुलिया, चालढाल हाँसउठ्दो हुन्थ्यो । एकदिन ऊ त्यसैगरी मातेर सडकमा निस्कियो र कराउन थाल्यो, ‘कोही छ ?’
हामी हेरिरह्यौं । अलि पर अर्को आर्मी रहेछ । उसले पनि दुई/तीन प्याक चढाएको रहेछ । जड्याहाले ‘कोही छ ?’ भनेको सुनेपछि त्यो जंगिदै गयो । र, भन्यो- ‘म छु, लु आइज । म छु, खेल्छस् ?’
बिचरा जड्याहा च्याखुरे ज्यानको । आर्मी बलियो वाङ्गो । जड्याहा आर्मीको छेउमा उभियो र तलदेखि माथिसम्म हेर्यो ।
‘कोही छ ? कोही छ ?’ आर्मीलाई इंगित गर्दै करायो, ‘उहाँसँग खेल्ने कोही छ ?’
मैले यही चरित्रलाई ‘साइनो’ फिल्ममा कपी गरें ।
‘दक्षिणा’ को हावा माइला, ‘कुशुमे रुमाल’ का जड्यहा भोटे पनि उनै रियल क्यारेक्टर हुन् ।
७. जब भीसी लाहुरे मञ्चबाटै उफ्रिए
‘लाहुरे’ फिल्म मुर्हूतको प्रसंग हो । सिक्किमको पान्थाङ ट्रेनिङ क्याम्पमा सबै बन्दोबस्त मिलाइयो । माथि भीआइपी बस्ने, तल एनिमी । एकातिर गोर्खा बिग्रेड र अर्कोतिर बंकर बनाइयो ।
अतिथिका रुपमा मुख्यमन्त्री र गञ्जु लामालाई निम्त्याइएको थियो । मेजर गञ्जु लामा भिक्टोरिया क्रस विजेता । उहिले विश्वयुद्धमा दर्जनौं जापानीलाई मुला काटेझै काटेर आएका । उनमा युद्धको धङ्धङ्ती गइसकेको थिएन ।
मुख्यमन्त्रीले क्ल्याप दिइसकेपछि अघिल्तिर पटकाहरु ब्लाष्ट हुने, अनि गोर्खा बिग्रेडले ‘जय महाकाली, आयो गोर्खाली, चार्ज’ भन्दै अघि बढ्ने ब्यवस्था मिलाइएको थियो । सत्रुलाई आक्रमण गर्दा यसरी नै कराएर अघि बढिन्छ ।
जब सीएम सापले क्लाप गर्नुभो, त्यो साँच्चै रणभूमिजस्तै भयो । ‘ढ्याङ, ढ्याङ’ बम पड्कदैछ, ‘आयो गोर्खाली’ भन्दै सेनाहरु दौडँदैछन् ।
मञ्चमा भलाद्मी भएर बसिरहेका भीसी गन्जु लामा एकाएक मञ्चबाट उठेर चिच्याए, ‘चार्ज…चार्ज…चार्ज ।’अरुले उनलाई तानेर मन्ञमा बसाए ।
त्यहाँको माहोल देखेपछि उहाँ फ्ल्यास ब्याकमा पुग्नुभएछ । पछि भन्नुहुन्थ्यो, ‘म त त्यही लडाइँको मैदानमा पुगेको जस्तै पो भएँछु ।’
प्रस्तुती- शिव मुखिया
प्रतिक्रिया 4