Comments Add Comment

झापा गोल्डकपको तयारी पूरा

football
१३ माघ, झापा । ‘रमपम झापा गोल्डकप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

माघ १५ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगितामा आयोजक रमपम झापा-११, मनाङ मस्र्याङ्दी फुटबल क्लब, नेपाल शसस्त्र प्रहरी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही-११, सुदुर पश्चिम फुटबल क्लब र भारतको शेर फुटबल क्लबसहित १० वटा टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए ।

उद्घाटन खेलमा आयोजक रमपम झापा-११ र भारतीय टोली शेर फुटबल क्लब भिड्दै छन् । प्रतियोगितामा विजेता हुने टोलीले ७ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रत्येक दिनको उत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँसहित सिल्भर मेडल प्राप्त गर्ने रमपम झापा-११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए । त्यस्तै, प्रतियोगिता अवधिभरको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पनि १५ हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद ३० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment