Comments Add Comment

गाई त बाँध्यो ढुंग्रोमा मोही छैन…

'बलिदान' फिल्मका जोशिला गीत यसरी जन्मिए

ramesh810चलचित्र ‘बलिदान’ ०५३ सालतिर बनेको जनवादी फिल्म हो । त्यसमा समेटिएका अधिकांश जोशिला गीतहरु पहिल्यै तयार भएका हुन् । पञ्चायती व्यवस्थाको अप्ठेरो समयमा ती गीतहरु हामीले यसरी जन्मायौंः

गाई त बाँध्यो, ढुंङ्ग्रोमा मोही छैन

यो गीत हामी ‘राल्फा’ मा छँदै जन्मिएको हो । राल्फामा अलिकता झगडाजस्तो भएपछि मञ्जुल र म काठमाडौंबाट पूर्वी नेपालको यात्रामा निस्किएका थियौं । गाउँघरमा चेतनाको निम्ति गीति कार्यक्रम दिँदै जाऔं भनेर हामीले बाटोमा गीत पनि गाउँदै हिँड्यौं ।

यात्रा गर्ने क्रममा एक रात रामेछापको मुगीटारमा बास बसेका थियौं । त्यहाँ नानीहरुले हँसिया ट्वाक् ट्वाक् पार्दै त्यसैको तालमा गीत गाए ।
शब्द प्रेमको भए पनि लयले निकै तान्यो । पछि हामीले त्यसमा जनजीवनका कुरा झल्काउने शब्दहरु राखेर गीत तयार पार्‍यौं ।

गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन
गरिबको बोल्दिने कोही छैन, कोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन ।

०२७ सालदेखि ०३० सालसम्म गाउँहरुमा डुल्दा त्यो यात्रा हाम्रो सांगीतिक यात्रामा पनि कोशेढुंगा भयो । हामी त सुरुमा राल्फाको आफ्नै खालका बौद्धिक गीतहरु सुनाउँदै हिँडेका थियौं, ‘भोकै मर्ने महाकविको पेटका सारंगी हाम्रा गीतहरु’ जस्ता ।

यस्ता गीतहरु गाउँका मान्छेले कहाँ बुझ्छन् र भन्ने कुरा त्यो यात्रामा पटक पटक सुनियो । शहरका गीतहरु गाउँका लागि उपयुक्त र बुझिनेखालका पनि थिएनन् ।

गाउँका सर्वसाधारणहरुले बुझ्ने गीतहरु आफ्नै जीवन र परिवेशका कुरा थिए । त्यो यात्राले हाम्रो टे्रन्ड नै परिवर्तन भयो । त्यसपछि हामीले गाउँघरका जीवनशैली र भोगाइका कुरा टिपेर सरल भाषा र लोकलयका गीतहरु बनाउन थाल्यौं ।

हामीले के देख्यौं र के भोग्यौं भन्ने कुरा नै कुनै पनि सिर्जनाका विषयवस्तु हुन् । त्यसैले सर्वसाधारण जनता नै महान् पात्रहरु हुन् । हाम्रो साहित्य, संगीत, चित्र र नाटकको निम्ति जम्मै आधार तिनै हुन् । जनताले भोगिरहेका तमाम अप्ठ्यारा र असमानता नहून् भनेर नै हामीले यी गीतहरु सचेत ढंगले गायौं ।

०२७ सालदेखि चार वर्षमा हामीले पूर्वी नेपालका सबैजसो ठाउँ घुम्यौं । अहिले पनि हामी आम जनताको निम्ति सरल गीतहरु बनाउँछौं भने बुद्धिजीवीहरुका लागि अलि भावपूर्ण गीतहरु गाउँछौं ।

ऐयाउ ऐयाउ

भोजपुरमा सोताङ कुलुङ भन्ने दुर्गम गाउँ छ । त्यहाँको एउटा विद्यालयमा हामीले गीत गाएका थियौं । त्यसै क्रममा यो गीतको लय ल्याइएको हो । मञ्जुल र मेरो यात्राकै क्रममा शब्द लेखिएको हो ।

चरण बिग्रियो खङ्गरु काँडाले
गाउँ बिग्रियो गाउँमारा साँडाले
ऐयाउ ऐयाउ….

मादलुको दाहिने ताल चर्को छ
गर्छौं हामी खाने त अर्को छ

रानीवनमा कोइली करायो
गरिब उठ्दा गाउँमारा डरायो ।

गाउँ-गाउँबाट उठ

यो गीत श्याम तमोटले लेख्नुभएको हो । उहाँले भोजपुरमा एउटा स्कूलको कार्यक्रममा गाउन यो गीत तयार पार्नुभएको रहेछ । यो ०२९/३० सालतिरको कुरा हो । कार्यक्रममा गएर भोजपुरकै एक विद्यार्थी भाइले पनि त्यो गीत सुनेका रहेछन् ।

ती भाइ काठमाडौं आएपछि एकदिन म बसेको डेरामा आए । म क्षेत्रपाटी नजिकैको ठँहिटीमा बस्थेँ । त्यतिबेला हामी संकल्प परिवारबाट प्रगतिशील गीतहरु गाउनुका साथै ‘संकल्प’ नामकै पत्रिका पनि निकाल्थ्यौं । मेरो कोठामा गीत सिक्ने, सिकाउने प्रक्रिया चलिरहने भएकाले धेरै भाइबहिनीको आउजाउ हुन्थ्यो ।

सायद त्यसै क्रममा ती भाइ पनि आएका थिए । उनले मलाई सुनाए, ‘दाइ, भोजपुरको कार्यक्रममा एउटा राम्रो गीत सुन्न पाएँ । मलाई एकदम मन पर्‍यो ।’

उनलाई सोधेँ, ‘भाइलाई याद छ त त्यो गीत ?’
‘आउँछ दाइ, सजिलो छ गीत’ भने ।

उनले गाएर सुनाए –

हातमा कलम हुनेहरु कलम लिएर उठ
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ
हातमा औजार हुनेहरु औजार लिएर उठ
साथमा केही नहुनेहरु आवाज लिएर उठ ।

मलाई यो लाइनले ट्याक्क छोयो । मैले गीतका हरफहरु टिपेँ । लय पनि सुन्नेबित्तिकै बुझिहालेँ । यसलाई अलिकति परिमार्जन गर्न सक्यो भने संगीत पनि राम्रो हुन्छ भन्ने लाग्यो । संकल्पका सहयात्री मञ्जुललाई पनि सुनाएँ । त्यसपछि काठमाडौंको टोलटोलमा सांगीतिक कार्यक्रममा ०३१ सालदेखि हामीले यो गीत पनि गाउन थाल्यौं ।

rames455त्यस्ता प्रगतिशील गीतहरु गाउन पञ्चायती कालखण्डमा छुट हुने कुरै थिएन । त्यसैले हामी कुनै ठाउँमा कार्यक्रम गर्नासाथै झटपट निस्किएर हिँडिहाल्थ्यौं, गुरिल्ला शैलीमा ।

कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ गाउँदा सबैले मन पराए । हरेक ठाउँमा गाउन थाल्यौं । पछि त यो गीत नेवारी, तामाङ, मैथिली, भोजपुरी, गुरुङ, हिन्दी, अंग्रेजी, चिनियाँ, फ्रेन्च लगायत गरी अहिलेसम्म १९ वटा भाषामा अनुवाद भइसकेको छ ।

०५३ सालमा ‘बलिदान’ बनाउने कुरा भएपछि संगीत गर्न मलाई प्रस्ताव गरियो । तर, मैले शर्त राखेँ, फिल्म बनाउने हो भने त्यसको घटना संयोजन र संवाद पनि लेख्न पाएँ भने मात्र संगीत गर्छु । किनभने मैले पार्टीमा लागेका असल योद्धाहरु देखेको थिएँ, हिजो कम्युनिष्ट पार्टीमा काम गर्दा पनि भूमिगत र खुला रुपमा काम गर्ने देशभक्त र प्रगतिशीलहरुको समर्पण र भोगाइ देखेको थिएँ । निर्माता श्याम सापकोटासँग कुरा भएअनुसार मैले २४ दिन लगाएर लेखेँ ।

निर्देशनका लागि तुलसी घिमिरेलाई छानियो, उनी अलि शिष्ट फिल्म बनाउने भएकाले यो मान्छेले भावना बुझ्छ होला भन्ने लाग्यो । उनले स्कृिप्ट पढे ।

त्यसपछि उनले भने, ‘यस्तो फिल्म बनाउन त रामेशजी आफैं अगाडि आउनुपर्छ । मैले बनायो भने त बम्बइया बलिदान बन्छ । त्यो सुहाउँदैन ।’ त्यसअनुसार म दुई वर्ष फिल्मका लागि खटेँ । घटना संयोजन, संवाद, संगीतको काम सम्हाल्नुका साथै सुटिङमा पनि हेरेँ । यसको पृष्ठ संगीत पनि हामीले नै बनायौं ।

कोही त भने जहाजमा हरर

यो गीतको लय चाहिँ काठमाडौंबाट टिपिएको हो । म क्षेत्रपाटीदेखि तलपट्टिपर्ने भुरुङखेलमा डेरा गरेर बस्थेँ । त्यहाँ वरिपरिका घरमा गलैंचा बुन्ने तामाङ बहिनीहरु थिए । उनीहरु गीत गाइरहन्थे । त्यस क्रममा मैले दुई-तीनवटा लय सिकेँ । त्यो लयमा पछि मञ्जुल र मैले गाउँको यात्रामा निस्किँदा शब्द लेख्यौं ।

कोही त भने जहाजमा हरर,
कोही त भने पसिना तरर हाम्रो नेपालमा

कोहीको लुगा बत्तुले बालेको
कोहीको लुगा बाह्र ठाउँ टालेको हाम्रो नेपालमा

कोहीको घरमा डाक्टरको चाकरी
कोही त मर्छन् अस्पताल नहेरी हाम्रो नेपालमा

‘रक्तक्रान्तिको ज्वालामुखीमा’ र ‘हाम्रो अदम्य क्रान्ति’

‘रक्तक्रान्तिको ज्वालामुखीमा’ निकै क्रान्तिकारी गीत हो । यो गीत ०४६ सालको जनआन्दोलनका बेलामै कवि युद्धप्रसाद मिश्रले लेख्नुभएको हो । त्योबेला आन्दोलनमा पनि गाइएको थियो ।

पछि सुनील पोखरेलले ‘बिना चिहानको मृत्यु’ टेलिफिल्म बनाउँदा पनि यो गीतको प्रयोग गरिएको थियो । ‘बलिदान’ चलचित्रमा आन्दोलनको आवेग झल्काउन झनै सान्दर्भिक हुने देखियो ।

रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान
शीर नढलेका युवायुवतीको हृदय-हृदयको यो स्वाभिमान ।

सानो एक झिल्कोबाट बन्दै जान्छौं लाखौं जवान
न्याय बचाउन देश उचाल्छौं गर्दै अर्पण प्राण ।

युवा रगतले अतिक्रमणको तोड्न उठेका छौं अभिमान
सक्छौं हामी पार्न महलको ठाउँलाई घोर मसान ।

त्यस्तै, अर्को गीत रामचन्द्र भट्टराईले लेख्नुभएको थियो । जेलमा एउटा क्रान्तिकारी युवा मरेपछिको सन्दर्भमा यो गीत चलचित्रमा प्रयोग गरिएको छ ।

हाम्रो अदम्य क्रान्ति रोकेर रोकिँदैन
जन वर्गभित्र भ्रान्ति पारेर पारिँदैन ।
गतिशील यो जमाना कोल्टे अवश्य फेर्छ
पिपिरो भए’नि भोलि रातो गुराँस फुल्छ ।
एउटा मरेर जान्छ हामी हजार हुन्छौं
एउटा कुटाइ खान्छ हामी हजार जुट्छौं ।
युगका पिला खटिरा पाकेर गल्कँदै छन्
राँकाहरु अनन्त हुर्केर सल्कँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment