Comments Add Comment

झापा गोल्डकपः कसले जित्ला उपाधि ?

२३ माघ, झापा । मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकपको उपाधिका लागि सोमबार झापा ११ र मनाङ मर्स्याङ्दी फुटबल क्लब भिड्दैछन् । आयोजक झापा साविकको उपविजेता हो भने मनाङ यो सिजन लयमा भएको क्लब हो ।

विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आइतबार खेल मैदानमा आयोजित पि्र-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने दाबी गरे ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा हराउँदै झापा फाइनलमा आइपुगेको हो । त्यस्तै मनाङले शनिबार डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई हराएर अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।

डिफेन्डिङ च्याम्पियन आर्मी सेमिफाइनलबाटै घर फर्किएपछि केही सहज भएको झापाका कप्तान प्रवेश कटवाल बताउँछन् । ‘मनाङसँगै फाइनलमा भेट होस् भन्ने हाम्रो चाहना थियो,’ प्रवेशले भने, ‘आर्मी शारीरिक रुपमा बलियो टोली थियो ।’

मनाङ र आफ्नो टोली भने टेक्निकल्ली बलियो रहेको उनको भनाइ छ ।

गत वर्षको हारको पीडा भुलाउन पनि झापाले यस पटक उपाधि जित्नै पर्ने बाध्यता छ । ‘हामी ४-३-३ को पोजिसनमा मैदान उत्रिने छौं’, उनले भने, ‘टिमवर्क नै हाम्रो जित्ने आधार हो ।’

मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टिम सशक्त रहेको भन्दै नतिजा आफूहरुकै पक्षमा आउने दावी गरे ।

गत वर्ष आर्मीसँग मनाङ सेमिफाइनलमा यही मैदानमा पराजित भएको थियो । यसपटक सेमिफाइनलमै आर्मीलाई हराउँदै उसले बदला लिएको छ ।

आर्मीलाई पाखा लगाएपछि अब उपाधि जित्नेमा मनाङ ढुक्क छ । तर, फाइनल खेलका लागि टिमको रणनीति भने सुनाउन चाहेनन् ।

यसअघि झापा र मनाङको भेट ६ पटक भइसकेको छ । जसमा मनाङले ४ खेल जित्दा झापाले २ वटा मात्र जितेको छ ।

प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment