Comments Add Comment

भेडीगोठको जिन्दगी (फोटो फिचर)

रुकुम तकसेराका सतजीत बुढाले घर छाडेको चार महिना भयो । उनी निरन्तर चार महिनादेखि श्रीमतीसहित खुला आकाशमुनि बस्दै आएका छन् । बुढाको खुला आकाशमुनि बस्न थालेको यो नै पहिलो अनुभव भने होइन । ५० बर्षे बुढा केही थाहा पाउने भएदेखि नै यसरी जंगलमा बस्न थालेका रे ! त्यसो त उनी मात्र जंगलमा जीवन बिताउने पहिलो व्यक्ति पनि होइनन् । बरु यसरी जंगलमा जीवन बिताउने अन्तिम पुस्ता पो होइने हो कि भन्ने पिरलो छ सतजीतलाई ।

रुकुमको पूर्वोत्तर क्षेत्र तकसेरा, काँक्री, रन्मामैकोट, हुकामलगायतका हजारौं घरपरिवार खाम मगर समुदायका व्यक्तिहरु वर्षमा बढीमा एक महिना पनि आफ्नो घरमा बस्दैनन् भन्ने थोरैलाई मात्र थाहा होला । पछिल्लो समयमा नयाँ पुस्ताले यो पेशा छाडेसँगै यसरी घुमन्ते पारिवारिक जीवन बिताउनेको संख्या पनि घट्दै गएको छ तर पनि सतजीतजस्ता धेरै व्यक्तिका घरपरिवार अहिले पनि भेडासँगै फिरन्ते जीवन बिताइरहेका छन् ।

बर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जंगलमै रात बिताउने भेडी गोठालाहरु यही पेशामा उनीहरु रमाउँछन्, यही पेशामा गर्व गर्छन् र यसैबाट जीविकामात्र चलाएका छैनन्, आर्थिक स्तर पनि निकै उँचो बनाएका छन् ।

तकसेराका सतजीत यतिबेला श्रीमतीसहित दाङको बिजौरीकोटमा छन् । साढे दुई सय भेडाको बथानसहित उनी दाङ झरेको एक महिना भएको छ । श्रीमती र एक सहयोगीसहित उनी गत पुसमा दाङ पुगेका थिए । उनले अझै एक महिना दाङमै बताउने छन् । सडक सुविधा पुगेको ठाउँबाट झण्डै दुई घण्टा पैदल हिडेर यो पंक्तिकार बिजौरीकोट पुग्दा सतजीतकी श्रीमती भेडाको उन केलाउँदै थिइन् भने श्रीमान सहयोगीसहित भेडा चराउन जंगल गएका थिए ।

झण्डै दुई घण्टाको प्रतिक्षापछि सतजीत साढे दुई सय भेडाको लस्करसहित बासस्थानमा आइपुगे । त्यतिबेलासम्म २० भन्दा बढी भेडीका पाठा उफ्रदै खेलिरहेका थिए भने भेंडीगोठको सुरक्षामा खटाइएको कुकुर ठूलो-ठूलो आवाजमा भुक्दै थियो । भेडीगोठालाका पूर्खाले यसअघि भोटमा कुकुर ल्याउने भएकाले प्रायः उनीहरुले पाल्न कुकुरलाई भोटे कुकुर भन्ने गर्दछन्, भेडा र गोठ प्रायः कुकुरकै जिम्मा हुन्छ भन्दा पनि हुन्छ ।

सतजीतको भेडीगोठको बथान रुकुमबाट रोल्पा हुँदै दाङ आइपुग्न दुई महिना लागेको रे ! त्यो त उनीहरुको यात्राको समय तालिका नै हुँदो रहेछ । हरेक बर्षको कात्तिक १ गतेको सेरोफेरोमा उनीहरुले कस्ती छाड्छन् । जंगल क्षेत्रमा भेडा चराउँदै दाङ आइपुग्न दुई महिना नै लाग्छ । पछिल्लो समयमा जंगल क्षेत्रमा चरिचरन बन्द हुने भएकाले भेंडीगोठालाहरु जहाँ पायो त्यही भेंडा लैजाँदैनन् ।

उनीहरुले भेंडाको बासस्थानकै लागि ठाउँ-ठाउँमा जग्गा किन्ने गरेका छन् । कतै निजी त कतै भेंडीगोठालाहरु मिलेर सामूहिकरुपमा पनि उनीहरुले जग्गा खरिद गरेका हुँदारहेछन् ।

त्यसो त सतजीतको दाङको बिजौरीकोट र हापुरकोटमा पुर्ख्यौली जग्गा छ भने छिल्लीकोटमा सामूहिक जग्गा छ । पूर्खादेखि नै रुकुमबाट भेडा चराउँदै दाङ पुग्ने भएकाले उनीहरुले जग्गा किनेका हुन् । अब सतजीतको दाङ बसाइ एक महिना मात्रै छ किनकि फागुन महिना लाग्यो भने फेरि रुकुम फर्कने समय तालिका शुरु हुन्छ । फागुनको १५ सम्म भेंडीगोठालाहरु दाङ छाडिसक्छन् । रुकुमबाट दाङ पुग्न दुई महिना लगाउने भेंडीगोठालाहरु दाङबाट रुकुम फर्कन पनि दुई महिना नै लाग्छ ।

स्मरणीय के छ भने गत वर्ष बैशाख १५ गते ढोरपाटनबाट फर्कंदा यो पंक्तिकारले यिनै सतजीतको परिवारलाई रुकुम काँक्री र कोलको सिमानामा रहेको रिकाको ंलेकमा भेटेको थियो । यसपटक दाङको बिजौरीकोटमा पंक्तिकारलाई देख्नेबित्तिकै सतजीतकी श्रीमतीले शुरुमै सोधिन्- पोहोर साल रिकाको लेखमा पनि भेटिएका थियौ नि तिमी !

दाङबाट फागुन १५ मा हिँडेका भेंडीगोठालाहरु बैशाखको अन्तिमसम्म गाउँमा पुगिसक्छन् । त्यतिबेलासम्म एक वर्षसम्म चरिचरण बन्द गरिएका गाउँका वन पनि खुलिसकेका हुन्छन् । भेंडीगोठालाहरु गाउँको नजिकमा बस्ने भनेकै जेठ १५ देखि असार १५ सम्म हो ।

त्यतिबेलासम्म एकातिर उनीहरुले खेतिपाती गर्छन् भने अर्कोतिर मगर समुदायको मुख्य पर्व भूम्या पनि यहीबेला पर्छ । भूम्या पर्व मानेर उनीहरु असारपछि भने श्रीमतीहरुलाई घरमै छाडेर भेंडाको बथानसहित फेरि बुकी लेकतिर लाग्छन् । पाटन क्षेत्रमा हिउँले ढाकिएका बुकी पनि खुल्ने क्रम शुरु भइसकेको हुन्छ ।

उनीहरुले वर्षात याममा श्रीमतीहरुलाई घरमै राख्छन् । भेंडाको बथानसहित सहयोगी लिएर बुकीतिर गएका गोठालाहरु झण्डै चार महिना बुकी पाटनमै वर्षेझरीसँग रमाउँछन् । अधिकांश भेंडीगोठालाहरु रुकुमको सुनदह, रन्माको लेक, सांग्रे, डोेल्पाको शाइबुकी, पुर्वाङ, लाटपाटनलगायतका क्षेत्रमा बस्छन् ।

पछिल्लो समय निकै महंगोमा बिक्री हुने र धेरैको आकर्षण बन्ने गरेको यार्सागुम्बासँग भेंडीगोठालाहरुको पुरानो सम्बन्ध छ । पहिले यार्सागुम्बा टिप्ने चलन थिएन, त्यतिबेला भेंडीगोठालाहरु यार्सा भेंडालाई खुवाउन पनि बुकीतिर जाने गर्थे । यार्सालगायतका जडीबुटी खाएका भेंडाको घीउ निकै महंगोमा पनि बिक्री हुने भएकाले पनि उनीहरु यो काममा आकर्षित थिए ।

पछिल्ला वर्षहरुमा यार्सागुम्बा टिप्ने क्रम चलेपछि भेंडीगोठालाहरु सकेसम्म यार्सा टिप्नमा लाग्छन् र आफ्ना भेंडालाई पनि बुकीमै पुर्याएर यार्सा खुवाउँछन् । अहिले पनि यिनीहरुको मुख्य आम्दानीको स्रोतमध्ये भेंडाको घीउ हो, जो निकै महंगो मूल्यमा बिक्री हुन्छ ।

चार महिनाको वर्षे झरीपछि भेंडीगोठालाहरु फेरि भेंडा लिएर गाउँतर्फ फर्कन्छन् । दशैं तिहारजस्ता चाडपर्वको बेला यिनीहरुले गाउँमै भेंडा राख्छन्, त्यसपछि भने यिनीहरुको फेरि दाङतर्फको यात्रा शुरु हुन्छ । एक वर्षसम्म घुमाएर ल्याउँदासम्म भेंडाको बथानमा धेरै संख्या बढिसकेको हुन्छ । भेंडागोठालाहरुले प्रायः भेंडाहरु गाउँमा रहने दुई समयमा बिक्री गर्ने गर्दछन् ।

दाङबाट फर्केको बेला जेठ-असार र बुकीबाट फर्केको बेला दशैं तिहारको बेलामा भेंडा खरिद गर्न पोखरा, बाग्लुङलगायतका ठाउँबाट ब्यापारीहरु यो ठाउँमा पुग्छन् । भेंडीगोठालाको मुख्य आम्दानी भनेको भेंडा र भेंडाको घीउ हो भने भेंडाको उनबाट बन्ने राडीपाखीहरु पनि थप आम्दानीका स्रोत हुन् ।

उनीहरुले वर्षमान दुईपटक उन काट्ने गर्दछन् । मुख्यगरी भदौ, असोज र चैतमा उन काटिन्छ । यसरी काटेको उनमध्ये भदौमा काटेको उनलाई राम्रो मानिन्छ । उनीहरु जहाँ जान्छन्, त्यही बसेर भेंडाको उनबाट कम्मल बुन्ने गर्छन्, जसले यो समुदायलाई अन्य समुदायको तुलनामा आत्मनिर्भर समुदायको रुपमा विकास गरेको छ ।

भेंडागोठालाहरु अधिकांश समय खुलाआकाश मुनि नै रात बिताउँछन् । उनीहरुले यसलाई सामान्य मान्ने गरेका छन् । भेंडाकै उनबाट बुनिएका कम्मल ओढेर उनीहरु खुला आकाशमुनि सामान्य त्रिपालको भरमा रात बिताउँछन् । पूर्खादेखि यस्तै चलन चल्दै आएकाले पनि आफूहरुलाई खुला आकाशमुनि रात बिताउन कुनै कठिनाइ नहुने भेंडीगोठालाहरु बताउँछन् । त्यसो त खाने अन्नबाहेक अन्य आवश्यक वस्तु आफैसँग राखेर हिँड्ने गर्दछन् । बस्ती सर्ने क्रममा यस्तो सामान उनीहरुले प्रायः भेंडालाई बोकाउने गर्दछन् ।

यति पढिसकेपछि तपाइलाई लाग्नसक्छ यो समुदाय आर्थिक अभावका कारण यस्तो कठिन पेशा अंगालिरहेको छ तर यो कुरा सत्य होइन । सतजीतकै परिवार हेर्ने हो भने पनि एउटा छोरा अमेरिकामा बस्छन् भने अन्य दुई छोरा र एक छोरी घोराहीका सुविधासम्पन्न बोर्डिङमा पढिरहेका छन् । त्यसो त सतजीतको घोराहीमा घर पनि छ भने विभिन्न ठाउँमा जग्गा जमीन जोडेका छन् ।

यो समुदायका व्यक्तिहरु भेंडा पाल्नुलाई पुर्ख्यौली पेशाको निरन्तरता मात्र होइन, प्रतिष्ठाको सवाल नै ठान्छन् । घोराहीमा उद्योग चलाइरहेकी चन्द्रमायाँ बुढाले समेत जेठाजुको साथमा रहने गरी भेंडापालन गरेकी छन् । त्यसो त उनले आफै पनि भेंडीगोठालाको अनुभव सम्हालिसकेकी छन् ।

पछिल्लो समयमा नयाँ पुस्ता अध्ययन, जागीर र बैदेशिक रोजगारमा जाने गरेकाले भेंडापालनमा निकै कमी आए पनि यो पेशा अहिलेसम्म परम्पराको रुपमा रहँदै आएको छ । पूर्वोत्तर रुकुमका मगर खाम समुदायको यो जीवनशैली नै हो । तर, यो जीवनशैली लोप हुन थालेकोमा पुरानो पुस्ताले चिन्ता जाहेर गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment