Comments Add Comment

क्याम्पसमा चुनावी माहौलः कतै डोजर लाग्यो, कतै दोहोरो झडप

उम्मेदवारी घोषणामा अखिल अगाडिः महिला सभापति बनाउन लबिङ

२५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६० आंगिक सहित ३ सय ३७ वटा सम्बन्धनप्राप्त क्याम्पसहरुमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माहौल तात्न थालेको छ ।

क्याम्पसमा विद्यार्थी संगठनका झडपदेखि क्याम्पस हातामा डोजर लाउने घटनासमेत चुनावको मुखमा हुन थालेका छन् । ठमेलस्थित सरस्वती क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीबीच लगातार झडपपछि क्याम्पस बन्द भएको छ ।

अखिल क्रान्तिकारीले आफ्ना कार्यकर्ता कुटेको भोलिपल्टै अनेरास्ववियुले बदला स्वरुप क्रान्तिकारीका कार्यकर्ता कुटेपछि सरस्वतीमा क्याम्पसमा तनाव भएको हो । सो घटनापछि अखिल अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेबीच झडप कतै पनि नगर्ने सहमति भएको थियो ।

अस्कलमा डोजर लाग्यो

त्यस्तै चुनावी प्रतिशोधकै क्रममा अमृत साइन्स क्याम्पस परिसरमा रहेको ब्याडमिन्टन कोर्टलाई सोमवार राति डोजर लगाएर भत्काइएको छ । अखिल क्रान्तिकारीले ब्याडमिन्टन कोर्ट भत्काएर फुटवल मैदान बनाएको आरोप अनेरास्ववियुका गोपाल नेपालले लगाए ।

क्याम्पस प्रमुख राजेश महाजुले गएराति डोजर लगाएको कुरा आफूले थापा पाएलगत्तै माथिल्लो निकाय र प्रहरीलाई जानकारी गराएको बताए । उनले भने-चुनावमा मुखमा विद्यार्थी संगठनहरुको अस्थस्त प्रतिस्पर्धा भयो । मैले वार्तामा आऊ भन्दा पनि आइरहेका छैनन् ।

अखिल क्रान्तिकारीका नवराज विकले फुटबल ग्राउण्ड बनाउन आफूहरुले डोजर लगाएको स्वीकारे ।

यसअघि अनेरास्ववियुले सो ठाउँमा ब्याडमिन्टन कोर्ट बनाएको थियो । टेण्डी शेर्पा स्ववियु सभापति भएकै बेला निर्मित कोर्टलाई डोजर लगाएर भत्काइएको हो ।

अस्कल क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीबीच भिडन्तको अवस्था सिर्जना भएको छ भने क्याम्पस प्रमुखलाई प्रवेश गर्न नदिने अखिलले बताएको छ । दुई संगठनबीच आउने चुनावमा कसले बर्चश्व स्थापित गर्ने भन्ने विवादले यस्तो अवस्था आएको हो ।

टिकटको दौडधूप

यसपटक क्याम्पसमा स्ववियु निर्वाचनसम्बन्धी प्रचार प्रसार, भित्तेलेखन लगायतका प्रचारबाजी गर्न नपाइने भएकाले विद्यार्थीहरु समूह समूहमा जम्मा भएर चुनावी गतिविधि गरिरहेका छन् । अहिले मुख्यतः उम्मेदवारका आकांक्षीहरु आफ्नै संगठनबाट टिकट लिनका लागि दौडधूपमा छन् ।

ठूला र धेरै विद्यार्थी अध्ययन गर्ने र लामो समयदेखि निश्चित संगठनको पडक रहेका क्याम्पसमा उम्मेदवारी विवाद बढी छ । त्रिचन्द्र, पद्मकन्या, शंकरदेव जस्ता क्याम्पसमा उम्मेदवार चयन गर्न नेविसंघलाई चुनौति छ ।

त्यस्तै आर आर, मीनभवन, अमृत साइन्स, पृथ्वीनारायण पोखरा जस्ता क्याम्पसमा अनेरास्ववियुलाई उम्मेदवार मिलाउन चुनौति । यद्यपि उमेर हदका कारण धेरै आकांक्षीहरु बाहिरिएकाले ८० प्रतिशत विवाद मिलिसकेको नेताहरु बताउँछन् ।

उम्मेदवार छान्न अखिल अगाडि

उम्मेदवारी चयनमा एमालेसम्वद्ध अनेरास्ववियु अरुभन्दा अघि देखिएको छ । अखिलले तीनवटा क्याम्पसमा सभापति उम्मेदवार तय गरिसकेको छ । अखिल अध्यक्ष नविना लामाका अनुसार सर्वसम्मत रुपमा सबै क्याम्पसबाट उम्मेदवार तय गर्ने प्रक्रिया चलिरहेको छ ।

हालसम्म शंकरदेव क्याम्पसको सभापतिमा प्रकाश भुजेल, सानोठिमी क्याम्पसको सभापतिमा लालबहादुर रोकाया र दमक क्याम्पस झापाको सभापतिमा सन्तोष दुलाल सर्वसम्मतरुपमा उम्मेदवार तोकिएको अध्यक्ष लामाले बताइन् ।

महिला सभापति बनाउन लबिङ

अखिलमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित महिला नेतृत्व कायम भएको बेला यसपटक ठूला क्याम्पसहरुमा महिलालाई सभापति उम्मेदवार बनाउने पहल भइरहेको सचिव आरती लामाले बताइन् । महिलाको समानुपातिक प्रतिनिधित्वका लागि संगठनभित्र बहस भइरहेको उनले जानकारी दिइन् ।

यसपटक पाटन संयुक्त क्याम्पसमा सजिना थापा मगरलाई सभापति उम्मेदवार बनाउन र पृथ्वीनारायण क्याम्पस पोखरामा सरिता पुरीको सम्भावना रहेको स्रोतले जनाएको छ । यी ठूला क्याम्पसहरुमा महिला सभापति भएमा स्ववियुको ३७ वर्षको इतिहासमा पहिलो पटक हुनेछ ।

नेविसंघबाट पनि महिलालाई सभापति उम्मेदवार बनाउन आफूले संगठनभित्र पहल गरिरहेको उपाध्यक्ष उर्मिला थपलियाले बताइन् । उनका अनुसार त्रिचन्द्रमा निलम तिमल्सिना र आर आरमा एलिजा ढकाल सम्भावित प्रत्याशी हुन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरका अनुसार उम्मेदवारको टुंगो फागुन ४ गतेसम्म लाग्नेछ । त्रिभुवन विश्वविद्यालयले फागुन ५ गते उम्मेदवारी मनोनयनको मिति तोकेको छ । त्यसअघि नेविसंघले उपत्यका बाहिरका क्याम्पसमा उम्मेदवार तय गर्न केन्द्रीय प्रतिनिधि तोक्नेछ ।

उपत्यकाभित्रका क्याम्पसमा भने केन्द्रीय कार्यालयले सभापतिको उम्मेदवार चयन गर्ने महरले बताए । अखिल क्रान्तिकारीले पनि उम्मेदवारी तय गरिसकेको छैन । आफ्नो संगठनभित्र उम्मेदवारीमा खासै विवाद नरहेको क्रान्तिकारीका नेता दीपेश पुनले बताए ।

यस्तो हुनेछ स्ववियु चुनाव

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा.सुधा त्रिपाठीका अनुसार विद्यार्थी भर्ना रोकिइसकेको छ । यसपटक फर्जी विद्यार्थीका आधारमा चुनाव जित्ने सम्भावना छैन । सबै क्याम्पसले फागुन १ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछन् । त्यसपछि चुनावी माहौल तात्ने उनले बताइन् ।

यसपटक मिश्रित निर्वाचन प्रणलालीबाट स्ववियु निर्वाचन हुन लागेकाले कुनै एउटा क्याम्पसमा एउटामात्र संगठनको हालीमुहाली अन्त हुनेछ । सभापति, सचिव र कोषाध्यष प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनेछन् । उपसभापति, सहसचिव र समानुपातिक आधा सदस्य भने प्राप्त मतका आधारमा संगठनले पाउनेछन् ।

त्रिवि विद्यार्थी शाखाका अनुसार दुईसयसम्म विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा ११ सदस्यीय स्ववियु निर्वाचित हुनेछ । त्यस्तै एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ जना, त्यसभन्दा माथि ३ हजारसम्म विद्यार्थी पढ्ने क्याम्पसबाट १९ जना चयन हुनेछन् । ३ हजारभन्दा माथि विद्यार्थी रहेका क्याम्पसमा २१ सदस्यीय स्ववियु हुनेछ ।

अवरोधको आशंका

मधेसवादीसहित साना पार्टी आवद्ध १० वटा विद्यार्थी संगठनहरुले भने स्ववियुमा पूर्ण समानुपातिक निर्वाचन हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । २८ वर्षे उमेर हद नमान्ने भन्दै नेवि संघका केही आकांक्षीहरु आन्दोलनमा छन् ।

नयाँ शक्ति, मोहन वैद्य निकट क्रान्तिकारी, विप्लव निकट क्रान्तिकारी विद्यार्थीहरु पनि एक्लै कुनै क्याम्पस जित्ने अवस्थामा छैनन् । बिगतमा पूर्वका केही क्याम्पसमा चुनाव रोक्न सफल लिम्बुवान विद्यार्थी भने अहिले त्यो शक्तिमा छैन ।

तर मधेसवादी विद्यार्थी संगठनहरुले मधेसका केही क्याम्पसमा प्रभाव पार्न सक्छन् । यीसहित विद्यार्थी संगठनका झडप र विप्लब निकट अखिल क्रान्तिकारीले चुनावमा अवरोध गर्ने सम्भावना रहेको विश्वविद्यालय स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

विद्यार्थीको चुनावमा यसरी हुँदैछ ठूला दलको मत सर्वेक्षण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment