Comments Add Comment

‘नेपालमा युवा खेलाडीहरूले सबैलाई चकित पार्न सक्छन्’

डेभेनेल फ्रेडेरिक ‘ड्याभ’ व्हाटमोरले आफ्नो कोचिङ करियर करिब तीन दशक अघि शुरू गरेका थिए । श्रीलङ्कामा जन्मिएर पछि अष्ट्रेलिया बसाईँ सरेका व्हाटमोरले अष्ट्रेलियाका लागि १ टेष्ट म्याच र कयौं एकदिवसीय खेलेका छन् । सन् १९९६ मा श्रीलङ्काको विश्व कप जितको श्रेय उनलाई दिने गरिन्छ । यसै गरी २००५ मा बङ्गलादेशले पहिलो टेष्ट म्याच जित्दा व्हाटमोर नै कोच थिए । २०१४ मा उनी जिम्बाब्वेको कोचमा नियुक्त भएका थिए तर, अफ्गानिस्तानले घरैमा हराएपछि उनी गत वर्ष वपदमुक्त भए ।

व्हाटमोर हालै मात्र ब्याट एण्ड बल फाउण्डेसनको सहयोगमा दुई हप्ता नेपाल बसेर राष्ट्रिय टोलीका लागि क्याम्प आयोजना गरेर फर्किएका छन् ।

नेपाल छाड्नुअघि हामीले उनलार्इ भेटेका थियौं । कुराकानीका क्रममा उनलार्इ सोध्यौं,

केन्याको टोली अर्को महिना नेपाल आउँदैछ । तपाईँले भन्नु भएको थियो कि केन्यामा क्रिकेट प्रतिको मोह छ र त्यहाँ डोमेस्टिक प्रतियोगिताहरू पनि छन् तर, उनीहरूसँग अन्तराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् 

– हेर्नुस्, मैले केन्याको टोलीसँग नजिकबाट काम गरेको छैन । मैले जे भने, त्यो मेरो नितान्त व्यक्तिगत धारणा हो । मलाई के थाहा छ भने सन् २००३ मा केन्याले विश्व कपमा श्रीलङ्कालाई हराएको थियो नाइरोबीमा । तर अहिले केन्याको टोलीको प्रदर्शन खस्किएको छ ।

तपाईँ केन्या र जिम्बाब्वेको तुलना गर्दै हुनुहुन्छ ?

यदि जिम्बाब्वेको कुरा गर्नुहुन्छ भने, दुर्भाग्यवस मैले त्यहाँ डेढ वर्ष बिताएँ । त्यहाँका खेलाडीहरू क्रिकेट खेल्न चाहन्छन् तर, खेल्न पाइरहेका छैनन् । र त्यसका धेरै कारणहरू छन् । म अहिले त्यसबारे धेरै बोल्न चाहन्न तर, के चाहिँ भन्नसक्छु भने यदि तपाईँको आफ्नो देशमा खेलाडीहरुले चाहिए जति खेल्न पाएनन् भने नयाँ खेलाडीले अवसर पाउँदैनन् र राष्ट्रिय टोलीका सदस्यहरूले आफ्नो स्थान जोगाइ राख्ने दबाव महसुस गर्दैन । जिम्बाब्वेको हकमा त राष्ट्रिय टोलीले पनि धेरै खेल खेल्न पाइरहेको छैन ।

तर, जे भए पनि त्यहाँ क्रिकेट प्रति रुचि छ, स्कूलहरू क्रिकेट खेल्छन् र एक किसिमको व्यावसायिक क्लब संरचना पनि छ । तर, त्यहाँको क्रिकेटको व्यवस्थापान निकै सुधार्नु पर्ने म देख्छु ।

तपाईँको विचारमा अहिले नेपालको स्थिति जिम्बाब्वेसँग कति मिल्दो छ त ?

म यहाँ आएको दुई हप्ता मात्रै भएको छ । तर, यहाँ  आउनुअघि भन्दा अहिले मलाई नेपालका बारे धेरै थाहा छ । मैले यहाँ रहँदा देखेको के हो भने नेपालमा खेलाडीहरूलाई धेरै सहयोग चाहिएको छ । मलाई दिइएका लगभग ३० खेलाडीहरूलाई हेरेर म के भन्नसक्छु भने नेपालमा ट्यालेन्ट छ । तर, अब नयाँ ट्यालेन्ट खोज्नुपर्छ र उनीहरुलाई उचित मौका दिनुपर्छ । त्यो कसरी भन्दा, अर्थपूर्ण प्रतियोगिताहरूको आयोजना गरेर ।

तपाईँले भन्ने गर्नुभएको छ कि ट्यालेन्टले कुनै पनि टोलीलाई एक तहसम्म पुर्याउन त सक्छ तर, त्यहाँबाट माथि जान अनुभव र क्रिकेटको चुस्त व्यवस्थापन चाहिन्छ 

हो । त्यसो गर्नु धेरै खर्चिलो र गाह्रो कुरा हो । तर, हामीले के पनि भुल्नु हुँदैन भने यसो गर्न सकेमा पाउन सकिने लाभ भने निकै ठूलो छ । खेलाडी, कोच, अम्पायर र सहयोगी कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू आयोजना गर्न खर्चिलो छ । तर, नेपालमा रहेको ट्यालेन्टको भरपुर उपयोग गर्न पनि यो जरूरी छ । तपाईँले कस्तो व्यवस्था गर्नु पर्छ भने जुनियर लेभलमा खेल्ने खेलाडीहरुले आफ्नो सिनियर टिमसम्मको बाटो क्लियरली देख्नि पर्छ । 

तपाईँले के पनि भन्नु भएको छ भने नेपालमा ट्यालन्टको कमि छैन तर, ब्याट्सम्यानहरू ठुलो स्कोर बनाउन सकिरहेका छैनन् ।

यो समस्या नेपालको मात्रै होइन, हरेक विकाशशील देशको समस्या हो । तपाईँले के पनि बुझ्नुस् भने तपाईँ जहाँ जानुस्, तपाईँले ट्यालेन्ट देख्नु हुनेछ । जिम्बाब्वेमा पनि ट्यालेन्ट छ । तर, ट्यालेन्टको ठुलो बेस पाउनु चाहिँ निकै गाह्रो छ । मलाई लाग्छ नेपालमा युवा खेलाडीहरू छन्, जसले सबैलाई चकित पार्न सक्छन् । हालै मात्र त नेपालको यू-१९ टोली श्रीलङ्कासँग मात्र १ रनले हार्यो, खेल अघि चुस्त अभ्यास गर्ने मौका नै नपाउँदा पनि !

तर यसो भनि रहँदा, हामीले के पनि बिर्सनुहुँदैन भने, नेपाल जस्तो देशमा कहिले पनि चाहिए जति श्रोत उपलब्ध हुँदैन र हुन्छ भनेर सोच्न पनि सकिन्न ।

यदि तपाईँ सरकारी बजेटको कुरा गर्दै हुनुहुन्छ भने म तपाईँसँग सहमत छु । तर, आर्इसीसीबाट पैसा उपलब्ध छ त । अनि त्यसको सदुपयोग गरेर धेरै गर्न सकिन्छ नि । 

नेपालमा तपाईँ २ हप्ता देखि हुनुहुन्छ । तपाईँलाई राष्ट्रिय टोलीको प्रमुख विशेषता चाहिँ के छ जस्तो लाग्यो ?

यो टोलीको मुख्य विशेषता भनेको बलिङ नै हो । अहिले यहाँको हावा-पानी अनुसार नेपाली टोलीको बलिङ आक्रमण निकै नै सबल छ । बलहरूलाई धेरै हदसम्म कीर्तिपुर मैदानमा कसरी बलिङ गर्नु पर्छ भन्ने थाहा छ ।

तर, उनीहरूलाई ब्याट्स्म्यानहरूको सहयोगको खाँचो छ । ब्याट्स्म्यानहरूले सम्मानजनक योगफल तयार पारेमा न उनीहरूले त्यसको रक्षा गर्ने हो । मैले यस्ता ब्याट्स्म्यानहरू पनि देखेको छु, जोसँग लामो इनिङ खेल्ने क्षमता छ । अरूहरूले पनि चाँडै सिक्नुपर्छ ।

नेपाली क्रिकेटको श्रीलङ्कासँग पहिले देखि नै कनेक्सन छ । रोय डायसले शुरुवाती दिनहरूमा नेपालको बागडोर सम्हालेका थिए । त्यसपछि पुबुदु आए । अनि तपाईँ यहाँ आएको बेला फ्यानहरूको प्रश्न के छ भने के व्हाटमोर नेपाली टोलीको प्रशिक्षक बन्न चान्छन् ?

तपाईँको प्रश्नका लागि धन्यवाद । फ्यानहरूले मलाई यस लायक सम्झिनु भएको रहेछ, सुनेर राम्रो लाग्यो । तर, मेरो अहिलेको करियर जहाँ छ, म कोचिङमा भन्दा पनि क्रिकेटका लागि अर्थपूर्ण विकासका काम गर्न चाहन्छु ।

म अर्को महिनाबाट चेन्नइको श्री रामचन्द्र मेडिकल विश्व विद्यालयमा काम गर्दैछु । लगभग १५० एकरमा फैलिएको रामचन्द्रलाई आइसीसीले पनि मान्यता दिएको छ र त्यो मेरो करियरमा ठ्याक्कै फिट पनि भएको छ । अर्को महिनाबाट म त्यहीँ काम गर्नेछु ।

के नेपाली खेलाडीहरू पनि त्यहाँ आउन सक्छन् ?

अवश्य । नेपाली मात्र होइन जो कोही पनि आउन सक्छ । खेलाडी मात्र होइन, कोचहरू, अम्पायरहरू सबैका लागि क्रिकेटका बारे सिक्ने स्थानको रुपमा हामी श्री रामचन्द्रलाई अघि बढाउन चाहन्छौँ ।

साथै हाम्रो अर्को ध्येय भनेको भारत वा भारत जस्तै हावा पानी भएका देशहरुमा खेल्न जाने टोलीहरूका लागि प्रशिक्षण केन्द्र बनाउनु हो । भारतमा धेरै खेल खेल्ने अफ्गानिस्तान जस्तो टोलीका लागि त यो सर्वोत्तम नै हुने थियो ।

तपाईँले अफ्गानिस्तानको कुरो उठाई हाल्नु भो, तपाईँको उनीहरूबारे के धारणा छ त ?

अफ्गानिस्तान एउटा चुस्त व्यवस्थापन भएको टोली हो ।

उनीहरूलाई हेरेर व्यवस्थापन नै क्रिकेटमा सफलताको शुत्र हो भन्न सकिन्छ ?

हो । व्यवस्थापकहरूले पैसाको सहि सदुपयोग गर्नु पर्यो । त्यसपछि त केटाहरूले आफ्नो कमाल देखाइहाल्छन् नि ।

रिपोर्टहरूका अनुसार जिम्बाब्वेको टोलीबाट तपाईँ निकालिनुमा अफ्गानिस्तानसँगकै हार प्रमुख कारण थियो

हामी अफ्गानिस्तानसँग घरैमा हार्यौँ । मलाई थाहा छैन कसरी तर, अफ्गानिस्तालाई हामीले जिम्बाब्वेमा ‘होम कण्डिसन’ दियौँ ! तपाईँ आफै अनुमान लागाउनुहोला त्यो किन भयो । अनि फेरि हाम्रो प्रमुख स्पिनर पनि घाइते थिए जब कि स्पिनरहरूले विकेट लिने पिच थियो त्यो ।

तर साँच्चिकै भन्नु पर्दा अफ्गानिस्तानको टोली निकै बलियो छ । उनीहरूको राष्ट्रिय प्रतियोगिताले आर्इसीसीबाट ‘फर्स्ट क्लास’ दर्जा पाइसकेको छ । आइरल्याण्डसँगै अफ्गानिस्तानले चाँडै नै टेष्ट मान्यता पाए आश्चर्य मान्नु पर्ने छैन ।

विश्व क्रिकेट लिग फलो गरिरहनु भएको छ ?

अँ गरिरहेको छु । तर, लिग खेलिरहेको कुनै टोलीलाई भने पहिलो पटक भेट्दै छु यहाँ नेपालमा । मलाई लाग्छ नेपालले केन्या, हङकङ र यूएईलाई हरायो भने विश्वकप खेल्ने ठूलो अवसर छ ।

केन्यालाई हराउन तयार छ त टोली ?

केही ‘स्पेसिफिक’ तयारीहरू बाँकी छन् र टिमको आकार २४ मा पनि झार्नु छ । मलाई बताइए अनुसार खेलाडीहरु केही समय भारत जानेछन्, ताकी यहाँको खेल मैदानको मर्मत सम्भार हुन सकोस् ।

तपाई आर्इपीएलसँग पनि करिब दुई वर्ष संलग्न हुनुभयो । के आइपिएलको मोडलले नेपाली क्रिकेटको हित गर्ला ?

केही समय पछि धनगढीमा एउटा प्रतियोगिता हुँदैछ रे भन्ने मैले सुनेको छ । सिद्दान्तत: नेपालको आधिकारिक क्रिकेट संघले एउटा बलियो प्रतियिता आयोजना गरोस् भन्ने मेरो चाहना हो । तर, टी ट्वान्टी निकै लोकप्रिय छ र यसले खेलाडी मात्र नभई कोचदेखि कमेन्टेटरसम्मलाई आर्थिक फाइदा हुन्छ । तर, हामीले के बिर्सनु हुँदैन भने बलियो राष्ट्रिय प्रतियोगिता भए मात्र राष्ट्रिय टोलीले राम्रो प्रदर्शन गर्न सक्दछ ।

ड्याभ व्हाटमोरको कुरा गर्दा फ्यानहरूले उनलाई टर्न अराउण्ड कोच (खराब प्रदर्शन गरिरहेको टोलीलाई जित्न सिकाउने कोच) को रुपमा हर्छन् । आखिर तपाईँ त्यस्तो के गर्नुहुन्छ ?

मैले सधैँ भन्ने गरेको छु कि कोच आफैंमा केही होइन, खेलाडीहरुले नै कोच बनाउँछन् । बङ्गलादेशमा पनि खेलाडीले नै कोच बनाएका हुन्, श्रीलङ्कामा पनि भएको त्यही नै हो । 

अन्त्यमा नेपाली फ्यानहरूलाई केही भन्न चाहनुहुन्छ ?

मेरो नेपाल बसाई निकै नै राम्रो रह्यो । नेपालका खेलाडीहरु निकै मेहनती छन् र अरुको आदर पनि गर्दा रहेछन् । उनीहरुसँग ट्यालेन्ट पनि छ र पारसले राम्रो नेतृत्व दिइरहेका छन् । टोलीमा यस्ता सिनियर खेलाडीहरू पनि छन् जसले भविष्यमा आउने खेलाडीहरूलाई सहि बाटो देखाउन सक्छन् ।

अनलाइनखबर अंग्रेजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment