+
+
Shares

फागुन पहिलो साता १५ जिल्लामा पोलियो खोप कार्यक्रम

घर-घरमै पुगेर पोलियो थोपा खुवाइने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २७ गते १७:१९

२७ माघ, काठमाडौं । पाँच वर्ष मुनिका बालबालिकामा पोलियोको जोखिम कम गर्न सरकारले १५ जिल्लामा ‘पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, सप्तरी, सिराहा, बाँके, बर्दिया, कैलाली, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु जिल्लामा आउँदो फागुन ७ र ८ गते पोलियो खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

पहिलो दिन पाँच वर्ष मुनिका बालबालिकालाई खोप केन्द्रमै लगेर पोलियो थोपा खुवाउनु पर्नेछ भने दोस्रो दिन सरकारले घर-घरमै गएर खोप खुवाउने कार्यक्रम निर्धारण गरिएको छ ।

पाँच वर्ष मुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई लक्षित गरी पोलियो कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालयका अनुसार बाक्लो बस्ती भएको तथा खोपको अवस्था राम्रो नभएका जिल्लालाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘नेपालमा सन् २०१० देखि पोलियो उन्मुलन भएको बताएपनि सार्क क्षेत्रहरुमध्य अफगानिस्तान र पाकिस्तानमा यसको जोखिम अझै धेरै देखिएको छ । ती ठाउँहरुमा नेपालीको आउ-जाउ बाक्लो हुने भएकाले यो अभियान सञ्चालन गर्न लागेका हौं,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठले भने, ‘यसका लागि कार्यालयले भोलिदेखि नै योजना बनाई आवश्यक तालिम सञ्चालन गर्ने योजना बनाएको छ ।’

उनले पोलियोको लागि कार्यालयले ‘विओपिभी’ (विभ्यालेन्ट ओरल पोलियोभाइसर भ्याक्सिन) को प्रयोग गर्ने समेत जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त भ्याक्सिन युनिसेफद्वारा प्राप्त हुनेछ । कार्यक्रम विश्व स्वास्थ्य संगठनको सहयोगमा एक करोड ५० लाख तथा सरकार तथा दातृ निकायको संयुक्त कोषको एक करोड १० लाख रुपैयाँबाट सञ्चालित हुनेछ ।

विश्वमा हाल १९४ देश मध्य ५० देशले पोलियो थोपा खुवाउँदै आएका छन् । त्यसमध्ये नेपाल कम जोखिमयुक्त देश भएका कारण नेपालमा वर्षमा एकपटक पोलियो खोप कार्यक्रम आयोजना हुँदै आएको छ ।

नेपालमा अन्तिम पटक सन् २०१० मा रौतहटका एक वर्षीय बालकमा पोलियोको समस्या देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?