मलाई सानैदेखि अध्ययनमा रुचि थियो । त्यही रुचि अहिलेसम्म आइपुग्दा झन् पाकेको छ । कस्तो भने, कुनै पनि नयाँ ठाउँमा जाने बित्तिकै पहिलो खोजी पुस्तककै हुने गर्छ ।
चलनचल्तीको भाषामा भन्दा मलाई फिक्सन र नन फिक्सन दुवै मन पर्छन् ।
साहित्यमा कथानक विषयहरुले ऊर्जा, प्रेरणाका साथै कुनै पनि वस्तुलाई नयाँ तरिकाले हेर्ने सिर्जनशीलता दिन्छ । साहित्यमा पनि मलाई उपन्यास र कविता विशेष रुचिकर लाग्छ ।
गैर-आख्यानले चेतनालाई फराकिलो पार्न, समाजलाई हेर्ने दृष्टिकोणलाई अरु बढी परिष्कृत पार्न सहयोग गर्छ ।
मैले धेरै पढेको चाहिँ भूमिगत कालमै हो । लुम्बिनी अञ्चलका विभिन्न जिल्लामा बितेको भूमिगत जीवनमा ०३६/३७ सालदेखि ०४६ सालसम्मको अवधि अध्ययनका हिसाबले सबभन्दा बढी उर्वर रह्यो । दिनभरि सुरक्षित रुपमा बस्ने काम मात्रै हुन्थ्यो, साँझ मात्रै मिटिङ, भेटघाट र एक ठाउँबाट अर्को ठाउँ जाने काम गरिन्थ्यो । यसैले दिनभरिको समय लेखपढमै बित्थ्यो ।
त्यसबेला पुस्तक प्राप्त हुने पार्टीको आन्तरिक च्यानलहरु थियो । म चाहिँ सुरुदेखि नै जीवराज आश्रित, प्रदीप नेपाल कमरेडहरुको सान्निध्यमा रहेँ । उहाँहरु निकै अध्ययनशील हुनुहुन्थ्यो । अध्ययनका निम्ति उपयुक्त पुस्तकहरु उपलब्ध गराउन सहयोग पनि गर्नुहुन्थ्यो ।
यसका साथै काठमाडौंको पाटनढोका र भोटाहिटीमा रहेका पुस्तक पसलबाट पुस्तक मगाएर पढियो । पछिल्लो समय पुतलीसडकमा सोभियत संघबाट प्रकाशन हुने किताबहरुको पसल खोलिएको थियो । कहिलेकाहीँ पार्टीको कामको सिलसिलामा भारत जाँदा त्यहाँका पुस्तक पसलबाट पनि पुस्तकहरु ल्याइन्थ्यो ।
समयसँगै पुस्तकप्रतिका रुचिहरु केही परिष्कृत हुँदा रहेछन् । सुरुका दिनहरुमा क्रान्तिकारी चरित्र भएका, क्रान्तिका घटनाक्रमहरु समेटिएका पुस्तक बढी मन पर्थ्यो । मैले चिनियाँ र रुसी साहित्य धेरै पढेँ ।
तर, लामो समय प्रभाव छोड्ने किताबहरुको चर्चा गर्नुपर्दा दुई किताबले असाध्यै प्रभाव पारेका छन् । एउटा अल्वेयर कामुको नाटक ‘न्यायप्रेमी’ (द जस्ट) र अर्को हो, मिखाइल सोलोखोभको उपन्यास ‘भर्जिन स्वाइल अपटर्न्ड’ ।
‘न्यायप्रेमी‘ को सन्देश
‘न्यायप्रेमी’ काठमाडौंको गुरुकुल नाटकघरमा केही वर्षअघि मञ्चन पनि भएको थियो । त्यो मलाई मन पर्ने सबैभन्दा मुख्य कारण नाटकमा क्रान्तिको नैतिक मूल्य-मान्यता केलाइएको छ । नाटकमा रुसको परिवेश चित्रण गरिएको छ ।
रुसमा कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अगाडि त्यहाँ नरोदनिक नामको किसान पार्टी जारशाहीको विरुद्धमा आन्दोलनरत थियो । उनीहरु जारको विरुद्धमा हिंसात्मक गतिविधिमा संलग्न थिए ।
नाटकमा जारको काका जुक एकदिन एउटा भ्रमणमा आइरहेको हुन्छ । किसान पार्टीको छापामार समूहले बम प्रहार गरेर जुकको हत्या गर्ने र जारशाहीलाई धक्का दिने रणनीति बनाउँछन् । बम हान्न को जाने भन्नेमा छलफल भइसकेपछि कवि हृदयको एकजना पात्र कालिआएभले म जान्छु भन्छ । टिम लिडर स्तेपानले तँ कवि मनको र भावुक छस्, तैंले बम हान्न सक्दैनस् होला भनेर रोक्न खोज्छ । तर, पनि उसले जोड गरेर जान्छु भन्छ ।
कालिआएभले नै बम हान्ने निर्णय भएपछि टिमका बाँकी मान्छे एक ठाउँमा लुकेर बस्छन् । राजाको काका चढेको बग्गीको घन्टीको आवाज सुनिन्छ, घोडाहरु टाप बजार्दै आउँछन् । टिमका मान्छेहरु कतिबेला बम पड्किन्छ भनेर कान थापेर बस्छन् । तर, बम पड्किँदैन ।
बग्गीको घन्टी सजीवन रुपमा सुनिँदै मधुरो भएर जान्छ ।
बम हान्ने जिम्मा लिएर गएको मान्छे उदास मुद्रामा फर्किन्छ । किन बम हानिनस् भनेर सबैले केरकार गरिसकेपछि उसले जवाफ दिन्छ, ‘बग्गीमा दुई जना साना बालबालिका पनि रै’छन् । उनीहरुलाई देखेपछि बम हान्न मन लागेन ।’
त्यसपछि उनलाई टोली नेताले तँ भावुक र रुन्चे भन्दै धुमधाम गाली गर्छन् । ऊ सिकाउँछ, ‘क्रान्तिमा यस्तो सोचेर हुँदैन, केटाकेटी पनि मरिहाल्छन् नि !’
त्यस क्रममा टोली नेता, बम हान्न नसकेर फर्केको युवक र दोरा भन्ने महिला पात्रबीच क्रान्ति के हो, क्रान्तिको नैतिकताका सीमा के हुन्, क्रान्तिमा निर्दोष मान्छे मार्नुहुन्छ कि हुँदैन भन्ने विषयमा जीवन्त छलफल चल्छ ।
अन्त्यमा टोली नेताको सोच गलत हो, क्रान्तिमा नैतिकताको सीमा नाघियो भने विशुद्ध हत्या ठहरिन्छ र त्यसलाई क्रान्ति मान्न सकिँदैन भन्ने मान्यता स्थापित हुन्छ ।
छोटे मालिकको लर्को
मन परेको अर्को पुस्तक रसियन लेखक सोलोखोभको उपन्यास ‘भर्जिन स्वाइल अपटर्न्ड’ हो । यसमा खास रुपमा रुसी क्रान्तिपछि कम्युनिष्ट पार्टीमा देखिएको नोकरशाहीको असाध्यै जीवन्त चरित्र छ ।
खासगरी स्टालिनको समयमा तलतल जरा गाडेको नोकरशाहीले निम्त्याएको दुष्परिणामलाई उपन्यासले चित्रण गरेको छ ।
नोकरशाहीले कम्युनिष्ट पार्टीलाई जनताबाट कसरी अलग्याउँदै गयो, कम्युनिष्ट पार्टीका हिजोका क्रान्तिकारी कार्यकर्ताहरु कसरी ‘छोटे मालिक’ जस्ता बन्न थाले र क्रान्ति कसरी भित्रभित्रै खोक्रो बन्न थाल्यो भन्नेबारेमा उपन्यासले उजागर गरेको छ ।
पढ्नैपर्ने चिन्तन परम्परा
हिन्दी पुस्तक संसारबाट छनोट गर्नुपर्दा भारतीय लेखक के. दामोदरनले लेखेको ‘भारतीय चिन्तन परम्परा’ छान्छु । यो पुस्तकमा वेददेखि पछिल्लो समय गान्धीका विचारसम्मको मार्क्सवादी कोणबाट अत्यन्त व्यवस्थित ढंगले विश्लेषण गरिएको छ ।
दक्षिण एसियामा प्रचलित जति पनि चिन्तन परम्पराहरु छन्, धर्म र दर्शनहरु छन्, तिनीहरुको वैज्ञानिक व्याख्या गरिएको छ । तिनीहरु कुन युगका उत्पादन हुन्, सकारात्मक पक्ष र कमजोरीहरु के हुन् र आजको समयमा तिनको सान्दर्भिकता के छ, पूर्वीय सभ्यता निर्माणमा ती चिन्तनले के-कस्तो भूमिका खेलेको छ भन्नेबारेमा निकै गहन कुरा दिएका छन् ।
पहिले के थियो, कुन युग निर्माण भयो, भारतमा विकसित भएका चिन्तनहरुको अर्थ के छ, तिनको ऐतिहासिक भौतिकवादी विश्लेषण सटीक छ । भारतीय चिन्तन परम्पराको प्रभाव नेपालमा पनि परेकोले त्यो पुस्तक सबैले पढ्नुपर्छ भन्ने लाग्छ ।
पछिल्लो समय उद्देश्यमूलक पठन
सुरुको एउटा समय थियो, ‘जे आउँछ मजाले पचाउँछ’ भने झैं जे-जे पाइयो, त्यही पढियो । त्यसले ज्ञानको क्षितिजलाई फराकिलो पार्न केही न केही भूमिका खेल्यो होला । तर, त्यतिबेला आफूसँग छनोटको स्वतन्त्रता कम थियो ।
पछिल्लो समय भने अध्ययन उद्देश्यमूलक बन्दै गएको छ । खासगरी दुई उद्देश्यले पुस्तक छनोट गर्दै आएको छु ।
पहिलो, साहित्यमा रुचि भएको र बेलामौकामा आफूले लेख्ने पनि भएकोले साहित्यिक कृतिहरु विशेष चाख दिएर पढ्छु । त्यसबाट साहित्यका पछिल्ला ट्रेन्डहरु, समाज र बदलिँदो चेतना बुझ्न बढी मद्दत गर्छ । कहिलेकाहीँ आफूले लेखिरहेका कुरालाई पनि त्यसले सघाउँछ ।
दोस्रो, समाजमा आइरहेका बहसबारे पढ्छु । अहिले संघीयता लगायत विषय उठिरहेका छन् । समृद्धि कसरी सम्भव हुन्छ भन्ने कुरा अर्कातिर छ । अरु देशले कसरी समृद्धि प्राप्त गरे, उनीहरुको प्राथमिकता के थियो भनेर बुझ्नुपर्ने हुन्छ ।
समृद्धिको कुरा गर्दा सिंगापुर, यूएई र पछिल्लो समय चीन, भियतनाम र ब्राजिलका कुरा गर्छन् । ती ठाउँका विकासको दृष्टिकोण र उनीहरुले अवलम्बन गरेको विकासको बाटो पत्ता लगाउन त्यससँग सम्बन्धित सामग्रीहरु पढ्न सकिन्छ ।
पछिल्लो समय राष्ट्रियताको बहस फेरि एक पटक उठिरहेको छ । साना देशहरु ठूला देशसँग नझुकीकन टिक्न सक्छन् कि सक्दैनन्, प्रतिकूल भूराजनीतिको बीचमा कसरी चल्दा रहेछन्, यस्तै नियति भोगेका मुलुकहरुको अनुभव हामीलाई काम लाग्छ ।
यसैले पछिल्लो समय आफूलाई आवश्यक पर्ने विषयहरुमा आधारित भएर पुस्तकहरु पढ्ने क्रम बढेको छ ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4