Comments Add Comment

मन्त्रीको उपस्थितिमा मलेसियामा श्रमिक कल्याणकारी कोष स्थापना

अनलाइनखवरकर्मी नेपाल सम्मानित

मलेसियाको भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले एनआरएन मलेसियाले स्थापना गरेको श्रमिक कल्याणकारी कोषको शुभारम्भ गरेका छन् ।

मन्त्री गुरुङले शनिवार गैरआवासीय नेपाली संघ मलेसियाले क्वालालम्पुरमा उद्घाटन गरेको एनआरएन मलेसिया कल्याणकारी कोषमा चालीस हजार रिंगेट अर्थात करीव दश लाख रुपैयाँ संकलन भएको छ ।

कार्यक्रममा उपस्थित भएका र केहि मलेसिया वाहिर रहेका नेपालीहरुले रकम प्रदान गरेका हुन् । रकमप्रदान गर्ने दाताहरुलाई कार्यक्रममै समान्न गरिएको थियो ।

कोष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मलेसिया एनआरएनले कल्याणकारी कोषको स्थापना गरेर उदाहरणीय काम गरेको उल्लेख गरेको साथै यसका लागि मन्त्रालयको तर्फवाट सक्दो सहयोग गर्ने वचन दिए ।

मन्त्री गुरुङले आफनो मन्त्रालय आफैंलाई चित्त नबुझेको गुनासो गरे । उनले आफ्नो मन्त्रालय श्रम मन्त्रालय नभएर सरम मन्त्रालय र रोजगार नभएर वेरोजगार मन्त्रालय जस्तै भएको बताए ।

वैदेशिक रोजगारीको वारेमा आफुलाई समेत धेरै जानकारी नभएको लाचारी प्रस्तुत गर्दै उनले भने, ‘यस्तैलाई श्रममन्त्री वनाएका छन्, तर पनि मैले लागे र पुगेसम्म श्रमलाई सम्मानित बनाउने प्रयास गरिरहेको छु ।’

रेमिट्यान्सले देश अगाडि नबढ्ने बताउँदै मन्त्री गुरुङले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा फर्किएर मुलुक बिकासका लागि लाग्न अनुरोध गरे । मन्त्रीले भने, ‘मेरो मन्त्री पद त आज छ भोलि छैन, तर मेरो जोड के मा छ रेमिट्यान्सले देश अगाडि वढ्दैन ।’

कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिंह वस्न्यातले राम्रो कामको लागि दूतावास सधै सकारात्मक रहेको बताए । उनले थोरै जनशक्ति भए पनि धेरै रचनात्मक काम गरेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरु एक हुनु पर्नेमा जोड दिए ।

त्यस्तै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले एनआरएनहरु जो जहाँ भए पनि एकै हुने उल्लेख गर्दे भने, ‘देश छाडेपनि हामी सवै एकै दर्जाका एनआरएन हौं, चाहे त्यो अमेरीकाको होस चाहे मलेसिया र कतारको ।’ आफुले कल्याणकारी कोषको स्थापना गर्दा धेरै चुनैातीहरुको सामना गर्नुपरेको स्मरण गर्दै उनले मलेसियामा रहेका साथीहरु हरेस नखान सुझाए ।

एनआरएन मकाउका पूर्व अध्यक्ष एवं जनसम्पर्क समिति मकाउका अध्यक्ष सुर्दशन थापा मगरले कल्याणकारी कोषको स्थापनाले मलेसियामा रहेका पीडित नेपाली श्रमिकहरुले राहत पाउने र कल्याणकारी कोषको वृद्धि गर्दै लानुपर्नेमा जोड दिए ।

कार्यक्रममा एनआएएन मलेसियाका आईसीसी सदस्य खगेन्द्र न्यौपानेले पहिलो कदम निकै सफल रहेको र यसलाई अरु ब्यवस्थित गर्दै अन्य मुलुकको लागि समेत नमुनाभएर अगाडि वढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमा मलेसिया एनआरएनका पूर्व अध्यक्ष तथा कल्याणकारी कोषका संरक्षक शंकर वहादुर पौडेल, पूर्व आईसीसी सदस्य भवानीशंकर तिवारी, नेपाली जनप्रगतिशिल मन्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जन सम्पर्क मन्चका मोहन घिमिरे, प्रवासी नेपाली एकता समाजका हेमराज पुरुष, नेपाली ब्यापारी समाज मलेसियाका सचिव विपिन राई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

अनलाइनखवरकर्मी नेपाल सम्मानित

प्रवासमा रहेर सक्रिय पत्रकारिता गरिरहेका अनलाइनखवर डट कमका मलेसिया संवाददाता रामचन्द्र नेपाललाई एनआरएन मलेसियाले सम्मान गरेको छ ।

कल्याणकारी कोष शुभारम्भ कार्यक्रममा उनलाई श्रममन्त्री सूर्यमान गुरुङले सम्मान गरेका हुन् ।

हाल पिएनसीसी नामक गैरसरकारी संस्थामा कार्यरत नेपाल अनलाइनखवरको स्थापना काल देखिनै मलेसियामा संवाददाता रहेर काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment