Comments Add Comment

एकीकृत बस्ती बनाउँन धुर्मुस–सुन्तली फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग

१ फागुन, महोत्तरी । महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पुर्‍याउन होटल व्यवसायी हिरा गौतमले एक लाख रुपैयाँ प्रदान गरेका हुन् ।

होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भने,  “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।”

बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट ६५ लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भने, “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।”

गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताए ।

चार करोड ७८ लाख रुपैयाँको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताए ।

हालसम्म झन्डै  दुई करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै दुई करोड ५० लाख रुपैयाँ अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment