Comments Add Comment

‘मान्छे जोत्ने शहर’ मा मान्छेका दुर्दशा

ललितपुर ।

‘गोरु जोत्न नपाइने यो शहरमा
मान्छेले जोत्छन् मान्छेलाई
दिनरात
जोतिन्छन् मान्छेहरू
मान्छेले मान्छेलाई जोत्न पाएन भने
कहाँ गुड्थे रातो झन्डासहितका गाडीहरू
नजोत्ने भए मान्छेलाई
कहाँ चल्थे डिस्को र क्याफेहरू !
कहाँ बिक्थे पिज्जा र बफेहरू !’

गाउँबाट शहर पसेकाहरु सबथोक बिर्सेर यान्त्रिक जीवनमा हेलिन्छन् । फलस्वरुप मानवीय मूल्य-मान्यता र आफ्नो परिचय नै दाउमा राखेर अनेक दौडधुप र दाउपेचमा लाग्छन् । त्यस क्रममा शहरलाई गतिशील पार्ने एउटा अंग मात्र बनेर आफूलाई त्यतै विलय गराउँछन् ।

शहरिया जीवनशैलीको यही रीतलाई टिपेर कवि बम बानियाँले ‘मान्छे जोत्ने शहर’ कविताकृति ल्याएका छन् । राष्ट्रगानका रचनाकार व्याकुल माइला, कविताहरु जसराज किराँती, भूपाल राई, आहुति, धनप्रसाद सुवेदी लगायतले शनिबार कृतिको लोकार्पण गरे ।

कृतिबारे बोल्दै कवि किराँतीले आफू सरल र कलात्मक कविताको पक्षमा रहेको भन्दै बानियाँका कविताहरुले त्यो अपेक्षा पूरा गरेको टिप्पणी गरे ।

आहुतिले अहिलेको अन्योलपूर्ण समयलाई चिरेर अघि बढ्न कवि बानियाँको जस्तो सक्रियता र चिन्तनशीलता जरुरी भएको बताए । रावा सावा प्राज्ञिक समाज नेपाल र अलग आर्ट हबले आयोजना गरेको कार्यक्रममा कृतिका केही कविता कविहरु टीका चाम्लिङ, चन्द्र रानोहँछा र धरारानीले वाचन गरेका थिए ।

यो संग्रह भिमु मेमोरियल ट्र्ष्टले प्रकाशन गरेको हो । बानियाँको यसअघि ‘जागै छन् शब्दहरु’ कविताकृति प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment