Comments Add Comment

५ कारण, जसले पेरिसमा बार्सिलोनालाई तहसनहस बनायो

च्याम्पियन्स लिगको पछिल्ला केहि बर्षहरुको प्रदर्शन हेर्ने हो भने स्पेनिस जायन्ट बार्सिलोनाले सबैभन्दा निराशाजनक प्रदर्शन मंगलबार राति पार्क डेस प्रिन्सेसमा रहृयो ।

पेरिस सेन्ट जर्मेनले घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई ४-० को हार चखायो । रियल मडि्रडका पूर्व स्ट्राइकर एन्जल डि मारियाको दुई, जुलियन ड्रक्सलर र एडिसन काभानीको एक एक गोलले बार्सिलोना निरिह बन्यो ।

उसले पहिलो र दोस्रो हाफमा दुई-दुई गोल गरेको थियो । यहाँ हामीले हिजोको खेलमा बार्सिलोनाले व्यहोरेको लज्जास्पद पराजयका कारणहरु खोतल्ने प्रयास गरेका छौं ।

१. आन्द्रे गोमेसमाथि इनरिकेको विश्वास प्रत्युत्पादक

धेरैले सोचेका थिए गत साता अलाभेसबिरुद्ध जित हासिल गरेको बार्सिलोनाको सुरुवाती टोलीलाई नै प्रशिक्षक लुईस इनरिकेले पिएसजी बिरुद्ध उतार्नेछन् । तर, उनले इभान राकिटिकको स्थानमा यसै सिजन भ्यालेन्सियाबाट अनुबन्धित पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेसलाई विश्वास गरे ।

मेस्सी, नेइमार र स्वारेजको पछाडि मिडफिल्डमा आन्द्रे गोमेसको प्रदर्शन साँच्चै निराशाजनक थियो । यसै पनि उनले यो सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

बार्सिलोनाको मिडफिल्डको तुलनामा पीएसजीका एडि्रयन राविओट, ब्लाइस माटुइडी र मार्को भाराट्टीको संयोजन निक्कै राम्रो थियो । उनीहरुकै कारण ड्रक्सलर र डी मारियाले दुई छेउबाट खुलेर खेल्न पाइरहेका थिए ।

२. पिएसजीको सेन्टर ब्याकमा प्रेसनल किम्पेम्बेको उदय

म्याच सुरु हुनुअघि नियमित खेलाडी थियागो सिल्भा घाइते भएपछि पीएसजीका प्रशिक्षक उनाइ एम्रेले युवा खेलाडी प्रेसनललाई सेन्टर ब्याकको जिम्मेबारीमा विश्वास गरेका थिए ।

२१ बर्षीय प्रेसनलले यो सिजन पिएसजीका लागि मात्र १५ खेल खेलेका छन् भने च्याम्पियन्स लिगमा उनको यो पहिलो सहभागिता थियो । उनले च्याम्पियन्स लिगको पहिलो खेलमा मेस्सी, स्वारेज र नेइमारजस्ता उत्कृष्ट फरवार्डहरुको सामना गर्नुपरेको थियो ।

तर, उनले आफ्नो जिम्मेबारीलाई कुशलतापूर्वक निर्वाह गरे । बार्साको अग्रपंक्तिलाई उनले आफूभन्दा धेरै अनुभवी मार्क्वीन्होससँग मिलेर तहसनहस पारिदिए । हिजोको खेलमा मेस्सीलाई खुलेर खेल्न नदिनमा उनको ठूलो भूमिका रहृयो ।

३. बार्सिलोनाको राइट ब्याकमा समस्या

यो अवश्य हो कि पीएसजीले बार्सिलोनाबिरुद्धको आक्रमण दायाँ क्षेत्रबाट धेरै गरेको थियो । जुलियन ड्रक्लरले सर्जी रोवर्टोलाई यस क्षेत्रमा नियन्त्रणमा राख्न सफल भएका थिए र त्यसैले उनले धेरै मौका सृजना गर्न भ्याएका थिए ।

ड्यानी आल्भेस, जसलाई विश्वकै उत्कृष्ट राइक ब्याकको रुपमा लिइन्छ, उनको बहिर्गमनपछि बार्सिलोनाको दायाँ क्षेत्रमा छिद्र परेजस्तै भएको छ ।

४. ड्रक्सलरको अनुबन्ध पिएसजीका लागि बरदान सावित

सेर्गी रोवर्टोले जुलियन ड्रक्सलरलाई कुनै चुनौति नै दिन सकेनन् । मंगलबार रातिको खेलमा शानदार गोलसँगै उनको प्रदर्शन निक्कै उच्चस्तरको थियो ।

बुण्डेसलिगाबाट पिएसजी गएका २३ बर्षीय विंगर ड्रक्सलरले आफूलाई प्रमाणितमात्र गरेका छैनन्, यस सिजन पिएसजीको गुमेको लय फर्काउन प्रयासरत पनि छन् । ३४ मिलियन पाउण्डमा पीएसजी आएका उनले क्लवका लागि सुरुवाती ९ खेलमा ५ गोल गरेका थिए ।

५. सेन्टर मिडफिल्डमा एड्रियन रावियोटको शानदार प्रदर्शन

केहि उपयुक्त फाउलहरु र बललाई सेन्टर एरियामै घुमाइरहने र विपक्षीलाई द्धिविधामा पार्ने रणनीति सर्जियो बुस्केटले प्रायः प्रयोग गर्छन् । तर, बुधबारको खेलमा पीएसजीका मिडफिल्डर एड्रियनले उनलाई माथ दिए ।

पीएसजीका २१ बर्षीय स्टारले बार्सिलोनाबिरुद्ध आफ्नो अग्रपंक्तिलाई बिशेष सहयोग गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment