Comments Add Comment

कर्मचारी आन्दोलनले सर्वसाधारणलाई सास्ती

५ फागुन, झापा । स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण जिल्ला तथा गाविसमा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीको आन्दोलनका कारण अहिले देशभरका नगरपालिका, जिल्ला विकास समिति र गाउँविकास समितिको काम ठप्प भइरहेको छ ।

जसका कारण सेवाग्राहीले विभिन्न प्रकारका सिफारिस र जग्गा किनबेच, घटना दर्ता जस्ता काममा अवरोध आएको गुनासो गरेका छन् ।
कर्मचारी आन्दोलनले नगरपालिकाको कामकाज ठप्प हुँदा झापा कनकाई नगरपालिकाका सेवाग्राही कैलाश लिम्बु आपतमा परेका छन् ।

कनकाई नगरपालिका-३, सुरुङ्गाका कैलाश लिम्बुले गत शुक्रबार जग्गा बेचे । र, आइतबार जग्गापास गरिदिने सर्तमा सबै पैसा पनि लिए ।
तर, अहिलेसम्म उनले जग्गा पास गर्न सकेका छैनन् । ‘शुक्रबार जग्गा बेचें । पैसा पनि लिएँ’, उनले सुनाए, ‘त्यसपछि अहिले सम्म कर्मचारी कार्यालयमा भेटेको छैन ।’ उनी जग्गा पास गर्नका लागि चार पटक कनकाई नगरपालिका धाई सके । ‘दैनिक धाई रहेको छु । मलाई कर्मचारीले दिनुसम्म दुःख दिए’, ६८ वर्षीय लिम्बुले सुनाए, ‘उतैबाट फोन गर्दा पनि कर्मचारीले फोन उठाउँदैनन् ।’

‘धन्न ! जग्गा खरिद गर्ने मान्छे बुझ्ने परेछन्’, उनले भने, ‘नत्र, समस्यामा परिने रहेछ ।’

कर्मचारी चियागफमा मस्त !

सुरुङ्गा बजारमा बजाज स्वरुम सुरु गरेका श्रदाम हुसेन विर्तामोडका व्यापारी हुन् । ‘व्यापारले जतिवेलै व्यस्त भइन्छ । वल्ल समय निकालेर दर्ताको लागि नगरपालिकामा आएको हुँ’, उनले भने, ‘यहाँ आएपछि पो थाहा भयो नगरपालिकामा सम्पूर्ण कामकाज त ठप्प रहेछ ।’

उनी बुधबार दिउँसो कनकाई नगरपालिकाको कार्यालयमा पुग्दा कर्मचारीहरु चियापसलमा गफमा मस्त थिए । केही घाम तापेर बसेका थिए ।

केही कर्मचारीहरु भने नगरपालिकाको गाडीमा चर्को गीत घन्काएर रमाइरहेका थिए । एक जना कर्मचारी भने पत्रिका पढ्दै ‘आन्दोलन त अझै लम्बिने पो रैछ क्या रे Û’ भन्दै थिए ।

कागजपत्र हराउने डर

कनकाई-३ कै बर्ख विश्वकर्मा पनि नक्सा पास गर्नलाई कनकाई नगरपालिका धाएको चार दिन नाघिसक्यो । त्यस दिन लेखनदासलाई सम्पूर्ण कागजपत्र बुझाएँ । त्यसयता कर्मचारीले कामै गरेका छैनन् ।

‘कागजपत्र पो हराउँछ कि भन्ने पिर भइसक्यो’, उनले भने, ‘कमसेकम फोन त उठाउनु पर्छ नि, फोन पनि उठाएनन् । त्यस्सै दुःख मात्र दिए ।’

सुकेडाँगीका दलबहादुर सुवेदी बुधबार मध्य दिउँसो नगरपालिकाको कार्यालयमा आए ।

शारीरिक रुपमा अपाङ्ग उनी धेरै दुःख गरेर कार्यालयसम्म आइपुगे । तर, त्यहाँ उनको काम गरिदिने कोही थिएन । न त उनलाई सान्तवना दिने नै कोही थिए ।

‘विरक्त लागेर फर्किएँ’, उनले सुनाए, ‘के काम गर्नु पर्ने मान्छेले नगरिदिएपछि ।’

नगर प्रमुखलाई पनि छाडेनन्

सेवाग्राहीको त कुरै छोडौं कनकाई नगरपालिकाकै अधिकृत खगेन्द्र गिरी पनि कर्मचारी आन्दोलनको चपेटामा परे । एक जना कर्मचारीको विवाहमा जानलाई उनले कार्यालयका सवारी चालकलाई फोन गरे । र, गाडी ल्याउन अह्राए ।

तर, उनलाई अन्य कर्मचारीले गाडी ल्याउन दिएनन् । ‘कार्यालय समयमा हामी पूर्ण रुपमा ठप्प नै पार्छौं’, आन्दोलनरत् कर्मचारीले भने, ‘सेवाग्राहीले त सेवा पाएका छैनन् भने अधिकृतको कुरा किन मान्ने ?’

चार दिन वित्यो, आन्दोलन रोकिने छाँटकाँट छैन

यी त केही प्रतिनिधि घटना मात्र हुन् । कनकाई नगरपालिकामा दैनिक सयौंको सङ्ख्यामा आउने सेवाग्राहीको समस्या उस्तै छ । कनकाईमा मात्र होइन, अहिले देशैभरका अधिकांश स्थानीय निकायको कामकाज ठप्प छ ।

विभिन्न मागहरु राखेर स्थानीय निकाय टे्रड युनियन केन्द्रीय समन्वय समितिले स्थानीय निकायको कामकाज ठप्प पारेको हो । उनीहरुको आन्दोलनका कारण बुधबार चौथो दिन पनि देशैभरका स्थानीय निकायको कामकाज ठप्प रह्यो ।

कनकाई नगर परिषरमा कार्यालयका खरिदार जिसु मुर्मु पनि भेटिए । ‘हामीले पटकपटक भद्र रुपले मागहरु राख्दा सरकारले टेरेन’, उनले भने, ‘त्यसैले यो विकल्प रोजेका हौं ।’ सेवाग्राहीलाई फर्काएर पठाउनु पर्दा आफूलाई पनि दुःख लागेको उनले सुनाए ।
‘माथिको रुलिङ अनुसार हामीले आन्दोलनका कार्यक्रमलाई अघि बढाइरहेका छौं’, उनले थपे, ‘अर्को रुलिङ नआउञ्जेल आन्दोलन जारी रहन्छ ।’

यस्तो छ आन्दोलनको कारण

सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको आन्दोलनरत् कर्मचारीको भनाइ छ ।

जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐन अनुसार भर्ना गरेका कर्मचारीले समेत अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनु पर्ने उनीहरुको माग छ ।

यस्तै, कर्मचारी समायोजनसँगै निजामती कर्मचारी सरह स्थानीय तहमा भर्ना भएका कर्मचारीलाईसेवा सुविधाको व्यवस्था, गाउँपालिका, नगरपालिकाको कार्यकारी अधिकृत हुन सक्ने प्रावधान जस्ता मागहरु उनीहरुले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment