+
+
Shares

पुस्तकमा जीवन जिउने काइदा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ६ गते २०:१४

काठमाडौं । योग, ध्यान र आहार-विहारबारे विभिन्न माध्यमबाट जागरुक पार्दै आएका डा. राजु अधिकारीले ‘यस्तो होस् जीवनशैली’ नामक पुस्तक ल्याएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी पुस्तक मेलामा शुक्रबार भिन्न तरिकाले पुस्तक लोकार्पण गरियो । हास्यकलाकार मनोज गजुरेलले डा. अधिकारीलाई अन्तर्क्रियामा प्रस्तुत गर्दै खानपान, दिनचर्या र स्वास्थ्यको रहस्य सोधिरहँदा उपस्थित दर्शकले रोचक मानेका थिए ।

अन्तर्क्रियामा कलाकार गजुरेलले पुस्तकबारे राखेको जिज्ञासाको जवाफ दिँदै अधिकारीले अहिलेका मानिस बाहिरी विधि र व्यवस्थाबारे जानकार भए पनि आफ्नै शरीरको भित्री कुरा बिर्सिएकोले आफ्नो पुस्तक त्यसबारे केन्द्रित रहेको बताए ।

बुढेसकालमा बिरामी परिन्छ भनेर पैसा साँच्ने आम प्रवृत्ति औंल्याउँदै उनले भने, ‘हामी भोलि त बिरामी भइहाल्छौं भनेर आजैदेखि रोगलाई बोलाउँछौं । अहिलेदेखि नै जीवनशैली फेर्‍यौं भने भोलिको डरले बाँच्नु पर्दैन ।’ उनले जीवनशैली ठीक भएन भने रोगको शिकार भइने निश्चित भएकोले औषधिले नभई जीवनशैलीले स्वास्थ्य ठीक गर्नुपर्ने बताए ।

खाने र पिउने कसरी भन्ने विषयमा १० वर्ष अध्ययन गरेर आफूले पुस्तक लेखेको डा. अधिकारीले उल्लेख गरे । सुखमय जीवनशैलीको रहस्य योग, ध्यान र आहारविहार भएको भन्दै खानपान स्वच्छ र सन्तुलित हुनुपर्नेमा उनले जोड दिए, ‘योग र व्यायाम जति गरे पनि खानपान विकृत भयो भने स्वस्थ हुन सकिँदैन ।’ उनले शक्तिशाली प्राणी भनेर चिनिने घोडा घाँसपात खाएर बाँच्ने दृष्टान्त प्रस्तुत गर्दै साकाहारी खानपानमा जाेड दिए ।

उनले जीवन सुखमय पार्न दिनचर्यासँगै रात्रिचर्चा अर्थात् सम्भोगकलाबारे पनि ध्यान दिनुपर्ने बताए । जीवनमा सबै कला खुलेर सिकाइए पनि  सम्भोगकलालाई लाजको विषय मानेर पन्छाउने गरिएको सन्दर्भ गाँस्दै उनले भने, ‘सम्भोग क्रिया पनि जीवनको अनिवार्य हिस्सा हो, यसलाई प्रसन्नताको माध्यम बनाउनुपर्छ भन्ने कामनासहित पुस्तकमा पर्याप्त चर्चा गरेको छु ।’

अन्तर्क्रिया सकिएपछि अन्त्यमा पुस्तक लोकार्पण गर्ने फरक शैली अपनाइएको थियो । पुस्तक डा. गोविन्द केसी, डा. भगवान कोइराला, कृष्ण पहाडी, डा. सुन्दरमणि दीक्षित, दिनेश थपलिया, शिव श्रेष्ठ लगायतले लोकार्पण गरेका थिए । मानव उत्कर्ष नेपालले प्रकाशन गरेको यो पुस्तक अधिकारीको चौथो कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?