९ फागुन, काठमाडौं । सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।
को-को भए राजदूत ?
सरकारको नेतृत्वकर्ता दल माओवादीको कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

चारै जना केपी ओली नेतृत्वको सरकारमा पनि राजदूत सिफारिस भएका थिए । तर, सरकार परिवर्तनसँगै राजनीतिक रुपमा नियुक्त भएकाहरुको नाम फिर्ता लिएसँगै उनीहरु राजदूत हुन रोकिएका थिए ।
माओवादी कोटामा राजदूत भएकाहरुमध्ये पदम सुन्दास दलित अधिकारकर्मी हुन् भने महेन्द्र सिंह त्रिविका पूर्वप्राध्यापक हुन् । पहिलो संविधानसभामा एमालेबाट सभासद भएकी लक्की शेर्पा दोस्रो संविधानसभा अघि एमाओवादीमा प्रवेश गरेकी थिइन् ।
यस्तै शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।
कांग्रेसबाट ६ राजदूत सिफारिस भएका छन् । अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

भीम उदास गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व उपाध्यक्ष हुन् भने विश्वम्भर प्याकुरेल अर्थशास्त्री हुन् ।
चोपलाल भुसाल कांग्रेस नेतृ पुष्पा भुसालका पति हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटीको विशेषज्ञ डाक्टरसमेत हुन् ।
राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । रायमाझी र थापा ओली सरकारका पालामा राजदूत सिफारिस भएर नाम फिर्ता लिइएकाहरुको सूचीमा पनि थिए ।
रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।
ओली सरकारका पालामा राजदूत सिफारिस भएका खगेन्द्र बस्नेत भने यो पटक परेनन् । उनको नाम काटेर राप्रपाले पूर्व सभासद प्रतिभा राणालाई राजदूत सिफारिस गरेको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4