
१२ फागुन, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजना डुवान क्षेत्रको मुआब्जा रकम वितरण सुरु भएको छ । बिहीवारबाट आयोजना प्रभावितहरुलाई रकम वितरण शुरु गरिएको हो ।
‘आज मात्रै ३२ जनाको खातामा रकम पठायौ’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने ‘अब अरु प्रभावितको खातामा पनि क्रमश रकम पठाउने छौ ।’
घ्याल्चोकको १२ र दर्वुङको २० जना प्रभावितले मुआब्जा रकम पाएका छन् । घ्याल्चोकको १२ हजार ५ सय २४ र दुर्वङको १८ हजार ७ सय ५१ वर्ग मिटर जग्गाको लागि चार करोड ७२ लाख ७८ हजार पाँच सय २१ रकम वितरण भएको सहायक प्रजिअ शर्माले जानकारी दिए । प्रभावितहरुले एक लाख देखि ८० लाख सम्म मुआब्जा रकम पाएका छन् ।
मुआब्जा पाउँ भनी निवेदन दिएका प्रभावितहरुको बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयले जग्गाको अन्तिम रुजु गरेकाहरुलाई रकम वितरण गरिएको हो ।
उनीहरुको शून्य मौज्दात र शून्य व्याजदरमा राष्ट्रिय बाणिज्य बैकमा खाता खोली रकम निकासा गरिएको शर्माले बताए ।
पहिलो चरणमा घ्याल्चोक, दर्वुङ र भूम्लिचोकका प्रभावितहरुलाइ मुआब्जा रकम वितरण गरिनेछ । मुआब्जा रकमको माग गर्दै तिन गाविसका ७०० जनाले निवेदन दिएका छन् । जस मध्य रुजु भएर आएका ९६ जनाको बैकमा खाता खोलिएको शर्माको भनाइ छ । ‘रकम अभाव छैन, जग्गाको रुजु भएर आयोजनाले पठाउने बित्तिकै प्रभावितले पैसा पाउछन्,’ शर्माले भने ।
मुआव्जा वितरणका लागि गोरखामा पहिलो चरण दुइ अर्व ५० करोड रुपैया आएको छ । तीन वटा गाविसमा रकम वितरण भएसँगै क्रमश अन्य प्रभावित गाविसमा रकम वितरण हुँदै जाने बताइएको छ ।
गोरखा र धादिङको सिमानामा बन्न लागेको १२०० सय मेगावाट क्षमताको उक्त आयोजनाबाट गोरखाका १४ गाविस प्रभावित हुनेछन् ।
प्रतिक्रिया 4