Comments Add Comment

निर्वाचन आयोगले गृहलाई भन्यो-अब लाठी प्रदर्शन पनि गर्न नदिनू


१३ फागुन, काठमाडौं । निर्वाचन आयोगले लाठी, भाला जस्ता घरेलु हातहतियार बोक्न तथा प्रदर्शन गर्न रोक लगाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । साथै मदिरा उत्पादन तथा बिक्रीमा बन्देज लगाउन पनि आयोगले भनेको छ ।

आयोगले वैशाख ३१ को स्थानीय तहको चुनावमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयलाई चारबुँदे आग्रह गरेको छ । उसले विस्फोटक तथा विषालु पदार्थका साथै लाठी, भाला, खुकुरी जस्ता हात हतियार लिएर हिँड्न, प्रदर्शन गर्न नपाउने गरी नियन्त्रणको व्यवस्था गर्न भनेको छ ।

साथै अनुमति लिएका व्यक्तिहरुसँग रहेको हाततियार समेत जिल्ला प्रशासन कार्यालय मातहत राख्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीमा रोक लगाउने विशेष व्यवस्था गर्न भनेको छ । चुनाव विथोल्न सक्ने शंकास्पद व्यक्तिहरुमाथि निगरानी गर्न र आवश्यकता अनुसार नियन्त्रण गर्न पनि गृहलाई भनिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार नै चार वटै सुरक्षा निकायका प्रतिनिधिका साथै गृह र रक्षा सचिवलाई बोलाएर सुरक्षा बन्दोवस्ती मिलाउन आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक चरणमा मतदान गर्न लागिएको भन्दै भयरहित वातावरणमा चुनाव गराउन र राजनीतिक पूर्वाग्रहबाट मुक्त भई काम गर्न सुरक्षाकर्मीहरु लाग्नु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment