Comments Add Comment

प्रचण्डलाई दूर्गा सुवेदीको जवाफ- मेरो उपचार गर्नुपर्दैन, छिटो चुनाव गर्नोस् !

'प्रधानमन्त्रीज्यूकै कार्यकर्ताको शरीरमा गोलीका छर्रा होलान्'

१६ फागुन, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीका पति दूर्गा सुवेदी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । उनी नेपाली कांग्रेसका त्यागी योद्धासमेत हुन् । उनलाई भेट्न आइतबार प्रधानमन्त्री प्रचण्ड शिक्षण अस्पतालमा पुगेका थिए ।

पिसाव नलीमा समस्या देखिएर पिसाब रोकिएका कारण सुवेदी ५ दिनअघि अस्पताल भर्ना भएका हुन् । उनको प्रोस्टेट सम्बन्धी ‘माइनर अप्रेसन’को तयारी डाक्टरहरुले गरिरहेका छन् । सुरुमा हल्का ज्वरो आए पनि अस्पताल भर्ना भएपछि सुवेदीको ज्वरो ओर्लिएको छ ।

तर, शरीरको ज्वरो ओर्लिए पनि प्रधानमन्त्रीले भेटिसकेपछि भने उनको मनमा ज्वरो आएजस्तै भएको छ ।

प्रधानमन्त्रीको टोलीले सुवेदीलाई भेट्ने क्रममा उनीसँगै आएको एक व्यक्तिले फोटो खिचेर लगेका थिए । त्यसको केही घण्टापछि खासै नाम नसुनिएको एउटा अनलाइनमा समाचार आयो- ‘सुशीला कार्कीका श्रीमानको उपचार खर्च राज्यले व्यहोर्ने ।’

अस्पतालमा रहेका सुवेदीले खासै अनलाइन पत्रिकाहरु पढ्दैनन् । त्यसैले आफ्नो उपचार खर्च राज्यले व्यहोर्दैछ भन्ने उनले थाहा पाएनन् । तर, उनलाई सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले त्यस्तो समाचार एउटा अनलाइनले छापेको छ है भनेर जानकारी दिए ।

सुवेदीले अहिलेसम्म त्यो समाचार त हेरेका छैनन्, तर आफ्नो उपचार खर्च सरकारले व्यहोर्ने कुरो प्रधानमन्त्रीले भनेको सुनेपछि प्रचण्डसँग आक्रोशित बनेका छन् ।

सामान्य नागरिक जसरी अस्पतालमा भर्ना भएर अप्रेसनका लागि पालो कुरिरहेका आदर्शवादी नेता सुवेदीले अनलाइनखबरसँग भने- ‘मैले अहिलेसम्म राज्यबाट केही पनि लिएको छैन र म आफ्नो व्यक्तिगत उपचारका लागि सरकारबाट खर्च माग्दिनँ । प्रधानमन्त्रीले किन त्यस्तो भन्नुभयो, मलाई अचम्म लागेको छ ।’

सुवेदीले अनलाइनखबरमार्फत् प्रधानमन्त्री प्रचण्डलाई भने- ‘तपाईले मेरो उपचार खर्च व्यहोर्नुपर्दैन, तपाईकै कयौं कार्यकर्ताहरु शरीरभित्र गोलीका छर्राहरु बोकेर हिँडिरहेका होलान्, उहाँहरुलाई ध्यान दिए हुन्छ, मलाई सरकारबाट उपचार खर्च चाहिँदैन ।’

आफूलाई भेट्न आएका प्रधानमन्त्रीलाई आफूले चुनाव चाँडो गर्नोस् भनेको तर उपचार खर्च नमागेको सुवेदीले अनलाइनखबरलाई बताए ।

उपचार लगायत आफ्नो व्यक्तिगत खर्च श्रीमतीको पारिश्रमिकबाट चलिरहेको बताउँदै सुवेदीले सरकारबाट कहिल्लै उपचार खर्च नलिने प्रतिवद्धतासमेत जनाए ।

स्रोतका अनुसार आफू अस्पताल भर्ना भएको कुरा चर्चामा नआओस् भन्ने सुवेदीको चाहना थियो । तर, प्रधानमन्त्रीको भेटपछि सस्तो प्रचार गर्ने उद्देश्यले आफ्नो फोटोसमेत सार्वजनिक गरिएको भन्दै सुवेदीले प्रधानमन्त्रीको सचिवालयसँग गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment