Comments Add Comment

चिनीको मूल्यमा प्रचण्ड सरकारको रेकर्ड, काठमाडौंमै किलोको सय रूपैयाँ !

१७ फागुन, काठमाडौं ।साल्ट ट्रेडिङको चिनी गोदाम रित्तिँदा पनि सरकारले बेवास्ता गरेपछि चिनीको मूल्य रेकर्ड बिन्दमा पुगेको छ ।

काठमाडौंभित्रै ९५ रुपैयाँ प्रतिकिलो पुगेको चिनी काठमाडौं आसपासकै ग्रामीण क्षेत्रहरुमा एक सय रुपैयाँ नाघिकसेको छ । खुद्रा ब्यपार संघका अध्यक्ष पवित्र बज्राचर्यका अनुसार यसअघि चिनी अधिकतम् ९० रुपैयाँभन्दा माथि लागेको थिएन ।

नाकाबन्दीको समयमै पनि चिनी किलोको ८५ रुपैयाँ नाघेको थिएन । तर, अहिले दुईसाताभित्रै किलोको १० देखि १५ रुपैयाँसम्म महंगिएको छ ।

बजारमा अभाव भएर वा माग बढेर चिनी महंगो भएको हैन, विनाकारण नै होलसेलमा मूल्य बढेर आएको छ । यसैका कारण खुद्रा पसलमा चिनीले सय रुपैयाँ मूल्य काटेको छ ।

साल्ट ट्रेडिङले मौज्दात राखिन्जेल बजारमा चिनीको मूल्य बढाउने आँट चिनी उद्योगी गर्दैनन् । तर, अहिले साल्ट ट्रेडिङलाई कमजोर पारेर सरकारी अधिकारी, चिनी उद्योगी, ठूला ब्यापारीबीच चिनीको मूल्य बढाउन साँठगाँठ भएको आरोप उपभोक्तावादीहरु लगाउँछन् ।

आयात रोक्नेले कृत्रिम मूल्यवृद्धि नरोक्ने ?

खुद्रा ब्यपारी पनि चिनी उद्योगी र ठूला ब्यापारीले लगातार मूल्य बढाइरहँदा सरकारले नियन्त्रणमा लागि कुनै कदम नचाल्नुले भित्री रुपमा ठूलो आथिर्क चलखेल हुनसक्ने आशंका बढाएको बताउँछन् ।

नेपाली चिनीलाई प्रोत्सहन गर्ने नीतिअनुरुप विदेशबाट चिनी आयातमा सरकारले रोक लगाएको छ । मूल्य नियन्त्रण गर्ने निकाय साल्ट ट्रेडिङलाई बेलैमा चिनी ल्याउने अनुमति नदिएर प्रचण्ड सरकारले चिनीको मूल्यमा रेकर्ड राखेको छ ।

उपभोक्ता पनि सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि आयात रोक्नु जायज भएपनि कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि रोक्नेतर्फ ध्यान नदिनु अचम्मलाग्दो भएको बताउँछन् ।

‘सरकारले चाहे ७० मा र्झछ’

एक ब्यापारीले भने, ‘भारतमा महंगिँदा एक महिना पहिले चनाको मूल्य किलोको २२० रुपैयाँ पुग्यो । उतै सस्तिएपछि अहिले चना किलोको १ सय रुपैयाँ घटेर १२० रुपैयाँमा झरेको छ । यसैगरी खुला रुपमा बजारलाई छाड्ने हो भने चिनी पनि अहिले भारतबाट आउने हो भने किलोको ७० रुपैयाँ माथि जाँदै-जाँदैनथ्यो ।’

अहिले सरकारले पर्याप्त चिनी स्टकमा राख्नुपर्नेमा बेवास्ता गरिरहेको छ । साना ब्यापारीहरुले नेपाली उखु उद्योगीले बजारमा आफ्नो सिन्डिकेट राख्न उखु किसानलाई राम्रो मूल्य पनि नदिने र चिनीको मूल्य पनि सरकारलाई अप्ठेरोमा पारेर बढाउने गरेको आरोप लगाएका छन् ।

नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष ५० हजार मेटि्रक टन चिनी किन्न साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारलाई दुईमहिना अघि नै प्रस्ताव पठाएको थियो । अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने/नदिने विषयमा निर्णय लिएको छैन । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्छ ।

प्रायः सबै वर्षहरुमा साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित हुन्छ । अहिले साल्ट ट्रेडिङसँग चिनीको स्टक नभएकाले नै चिनी उद्योगी र ठूला ब्यापारीले मनपरी भाऊ बढाएका हुन् ।

खुद्रा ब्यापार संघका पदाधिकारी होलसेलमै चिनीको मूल्य लगातार बढिरहेकाले भाऊ महंगिने क्रम नरोकिएको बताउँछन् । ‘भारतबाट ल्याउनुपर्ने चिनी बेलैमा ल्याए यो समस्या नै आउँथेन । किन बजारमा अभाव गराइएको हो भन्ने बुझिएको छैन’ उपाध्यक्ष रामकृष्ण मानन्धर भने ,’यसको दोष हामीमाथि लगाइन्छ । तर, हामी होलसेल मूल्यमा ढुवानी लागत जोडेर चिनी बेचिरहेका छौं ।’

चिनी ल्याउन आनाकानी

गत वर्ष पनि आपूर्ति मन्त्रालयले ५० हजार मेटि्रक टन चिनी भारतबाट ल्याउनुपर्ने भन्दै अर्थमा प्रस्ताव पठाएको थियो । अर्थले भने ३० हजार मेट्रिक टनको मात्र स्वीकृति दिएको थियो । यो वर्षभने अर्थले कुनै स्वीकृति दिएको छैन ।

भारतबाट चिनी ल्याउने अन्तिम स्वीकृति प्राप्त नभएकाले समस्या चर्किँदै गएको साल्ट ट्रेडिङका अधिकारीहरु बताउँछन् । गत वर्ष सरकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब महंगो मूल्य तिर्नेपर्ने अवस्था आएको थियो । यो वर्ष पनि त्यस्तै अवस्था आउन सक्ने भएकाले समयमै चिनी किन्ने प्रस्ताव अर्थमा लगिएको थियो ।

साल्ट ट्रेडिङको गोदाममा चिनी सकिनासाथ बजारमा मूल्य आकाशिने समस्या नियन्त्रण गर्न भारतबाट भन्सार छुट गरेर किन्न प्रस्ताव गरिएको हो । तर, बेलैमा स्वीकृति नपाउँदा बजारमा चिनीको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment