१७ फागुन, काठमाडौं । नयाँ बीमा कम्पनी आवश्यक परे दर्ता गर्न सकिने बीमा समितिको भनाईहरु आइरहँदा बीमा कम्पनी सञ्चालनमा वाणिज्य बैंकहरुले पनि रुची देखाउँन थालेका छन् ।
हालै मेगा बैंकको सञ्चालक समितिको बैठकले बीमा कम्पनी सञ्चालन गर्ने निर्णय गरेको छ । बैंकले आगामी चैत ३ गते हुने बार्षिक साधारण सभाको प्रस्तावमा नै कुनै सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक सेयर लिएर बीमा कम्पनी स्थापना गरेर जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने उल्लेख गरेको छ ।
‘जीवन बीमा कम्पनीको अनुमतीसम्बन्धि नीतिले नै बैंक तथा वित्तीय संस्थाको लगानी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकोले पनि लगानीकर्ताको रुपमा बैंकहरु देखिन थालेका हुन्,’ समितिका एक उच्च अधिकारीले भने । तर, २०६४ मा आएको यो नीति परिवर्तनको कुरा पनि आएकोले यसमा के हुने तत्काल भन्न सकिने अवस्था छैन् ।
मेगा बैंकले हालै यस्तो कम्पनी स्थापना गर्ने सोच बनाएको भएपनि यसअघि बीमा समितिमा बैंक तथा वित्त कम्पनी र यससँग सम्बन्धित कम्पनीहरुले ७ भन्दा बढि कम्पनी दर्ताको लागि आवेदन दिएका थिए ।
यो मेसोमा सबैभन्दा पछिल्लो पटक तत्कालिन महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी बिकास बैंक) ले ४ करोड ७० लाख सेयर रहने गरि महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गर्न आवेदन दिएको थियो ।
सो समय समितिको नियमन बिभागमा रहेका हालका उप–निर्देशक राजकुमार अर्यालका अनुसार उनी बिभागमा रहँदा रिलायबल डेभलपमेन्ट बैंकले रिलायबल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंकले रिलायन्स लाइफ इन्स्योरेनस, तत्कालिन पब्लिक डेभलपमेन्ट बैंकले सन नेपाल लाइफ इन्स्योरेन्सको अनुमतिको लागि दर्ता गराएका थिए ।
उनका अनुसार नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले स्ट्रार लाइफ इन्स्योरेन्स र नेपाल डभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि जनरल इन्स्योरेन्स स्थापनाको अनुमती मागेका थिए ।
नयाँ कम्पनी खोल्न चहानेले हालको मापदण्ड भने पुरा गर्नुपर्ने हुन्छ बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवि चापागाईले आवश्यक परे नयाँ बीमा कम्पनीको लागि स्वीकृती दिने बताएका भएपनि हालसम्म समितिले दर्ता खुला गरेको सार्वजनिक सुचना भने दिएको छैन् । नयाँ बीमा नीति पनि आवश्यक रहेको बताउदै आएका चापागाईले नीति पहिले आउने होकी दर्ता प्रक्रिया पहिले खुल्ने भने स्पष्ट पारेका छैनन् ।
दर्ता हुन आएका कम्पनीको सुची दिने कसले ?
नयाँ कम्पनीको स्थापनाको लागि समितिमा दर्ताको लागि आएकाहरुको सुची माग गर्दा पाइने अवस्था भने छैन् । कम्पनीका प्रवत्ता देखि अध्यक्षसम्मले यो सुचीको विषयमा आफुलाई जानकारी नभएको भन्दै पन्छिने गरेका छन् ।
समितिकी प्रवक्ता पुजन ढुंगल धेरैले यो सुची माग्दै आएको भएपनि आफैले समेत माग गर्दा यो सुची नपाएको बताएकी छिन् । त्यस्तै, अध्यक्ष चापागाईले अहिले कति कम्पनी दर्तामा छन् भन्नेमा आफ्नो चासो नै नभएको बताउदै आएका छन् । यता, हाल समितिमा नियमन बिभागमा रहेका उप निर्देशक तथा सहायक निर्देशक पनि यो सुचीको विषयमा आफुलाई जानकारी नै नभएको बताउँछन् । सबैबाट सुचीको लागि सिफारिश गरिएका निर्देशक श्रीमान् कार्कीले पनि तत्काल यस विषयमा कुरा नगर्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया 4