Comments Add Comment

चैत ३देखि भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेला’


१९ फागुन, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ गर्ने भएको छ । आगामी चैत ३ देखि भृकुटीमण्डपमा वृहत मेला आयोजना हुने आज एक पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

नेपाल हस्तकला महासंघ, नेपाल जडीबुटी उत्पादक संघ तथा हिमाली आयोजना यो वर्षको मेलाको सह-आयोजक रहनेछन् । यो वर्ष व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुने महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

मेलाका लागि सम्पूर्ण स्टलहरु बिक्री भैसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा स्वदेशी एवं विदेशी महत्वपूर्ण कम्पनीहरुको सहभागिता रहनेछ ।

३ सय ४० स्टलमार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । यस वर्ष मेलामा मेलामा चीन, भारत लगायत वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहने छ भने जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने छन् ।

मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड २ वटा स्टलहरु बुक भैसकेको छ ।
अन्तर्राष्ट्रिय व्यापार मेला आर्थिक क्षेत्रमा नविनतम सोच, विचार, उत्पादन, सेवाहरु तथा प्रविधिको प्रवर्द्धन गर्ने सवैभन्दा सशक्त र प्रभावकारी माध्यम हुने अध्यक्ष मुरारकाले बताए ।

मेला एकै छानामुनीबाट स्वदेशी विदेशी वस्तु तथा सेवाको प्रवर्द्धन, खरिद विक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयाँ सोच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो हुने उनको विश्वास छ ।

यसका अतिरिक्त मेलामा नेपाली र सहभागी अन्तराष्ट्रिय प्रदर्शनीकर्ता बीच प्रविधि तथा सीप आदान प्रदान, एकल तथा संयुक्त लगानीको सम्भाव्यता तथा लगानीका क्षेत्रहरुको पहिचान, आपसी व्यवसायिक भेटघाट महत्वपूर्ण आकर्षणहरु रहने छन् । महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुट्ाछुट्टै स्टलहरु रहने छन् ।

त्यसैगरी तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयाँ प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहने छन् ।

यसवर्ष हर्वस तथा हर्वलका उत्पादनहरु, कृषिजन्य वस्तुहरु, जव फेयर मेलाको प्रमुख आकर्षणको रुपमा रहने अध्यक्ष मुरारकाले बताए ।

मेलामा ३५ वटा स्टल मार्फत नेपाली जडीवूटीका उत्पादनहरु प्रदर्शनी गरिने छ । साथै महासंघको कृषि उद्यम केन्द्र अन्तरगतको हिमाली आयोजनाका ७० वटा स्टलमार्फत कृषि उत्पादनहरुको प्रदर्शनी गरिने छ ।

जसमा नेपाली कृषि क्षेत्रमा पछिल्लो प्रविधिगत विकासलाई देखाइनेछ । आइएलओको सहयोगमा रोजगारी सूचना केन्द्रको स्टल मार्फत रोजगार सम्बन्धि जानकारी गराइनेछ ।

यस वर्षको मेलामा आइटी पार्टनर मर्कन्टायल,कम्युनिकेसन, अफिसियल कार्गाे गणेश, गणेश एयर कार्गो, कार्पेट स्पोन्सर हेरिटेज कार्पेट, इन्स्योरेन्स पार्टनर प्रिमियर इन्स्योरेन्स, अर्घाखांची सिमेन्ट र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) रहेका छन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको अध्यक्ष मुरारकाले बताए ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुनेछ ।

नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडि बढाउने महासंघको योजना छ । मेलालाई २ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment